काठमाडौं– कोरोना महामारीका विभिन्न खालका समस्या विश्वभर देखा परिरहेका छन्। सामाजिक तथा आर्थिक असर परिरहेको छ भने स्वास्थ्यको असर त झन् प्रमुख भइहाल्यो। यसमध्ये अहिले देखा परिरहेको समस्या हो–मानसिक समस्या।
बेलायतमा अहिले मानिसहरुमा भूतको डर बढ्न थालेको बताइएको छ, जसले गर्दा अनौठो खालका गतिविधि बढिरहेका छन्। भूतको डर बढ्दै जाँदा बेलायतीहरुले ‘घोस्ट हन्टर्स’ देखि लिएर चिकित्सकको समेत सहयोग लिन थालेका छन्। निद्रामै उठेर बस्ने, कुनै गर्हुंगो चिज खसेको आवाज आउनेजस्ता आवाज सुन्ने गरेको मानिसहरुले बताउने गरेका छन्। यहीकारण आजकाल घरमा साउण्ड डिटेक्ट उपकरण र सिसिटीभी जडान गर्ने क्रम बढेको छ।
बेलायतमा कोभिड महामारीपछि वैज्ञानिक रुपमै भूत पहिचान गर्ने ‘घोस्ट हन्टर्स’ हरुको डिमान्ड अचानक बढ्न थालेको छ। लण्डनको गोल्डस्मिथ युनिभर्सिटीका प्राध्यापक क्रिस्टोफर फ्रेन्चले कोभिडका बेलाको फुर्सदको समयमा मानिसहरुले सस्पेन्स थ्रिलर तथा भूतका कार्यक्रम बढी हेर्ने गरेका कारण यस्तो भएको बतााए।
उनका अनुसार यस्ता कार्यक्रम हेरेपछि मानिसहरुको मनमा त्रासले डेरा जमाउन थालेको हो। एक वर्षयता १ हजारभन्दा बढी मानिसले अचानक बिजुली जाने, रातको समयमा अनौठो आवाज आउने घटनाको भिडियो रेकर्ड गरिसकेको बताइएको छ।
यो एक खालको मानसिक समस्या हो, जसमा एन्जाइटी, इन्सोम्निया, डिप्रेसन र अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसीडी) र पोस्ट ट्रमाटिक डिस्अर्डर (पीटीएसडी) जस्ता समस्याहरु पर्छन्।
कोरोनाकालपछि सबैभन्दा बढी देखिएको समस्या हो–निद्रा नलाग्नु। कुनै गहिरो सोचमा पर्नु र हरबखत बेचैनीको अनुभव गर्नेजस्ता समस्या देखा परिरहेका छन्।
अमेरिकामा सेन्टलुइस हेल्थकेयर सिस्टमले गरेको एक अध्ययनले पनि कोभिडका १८ प्रतिशत बिरामीमा मानसिक समस्या सिर्जना भएको देखाएको थियो। उक्त संस्थाले कोभिड पोजिटिभ देखिएका १ लाख ५३ हजार मानिसमा अध्ययन गरेको थियो। कोभिडका बिरामीमा निद्रा नलाग्ने, डिप्रेसन, तनाव, एन्जाइटीजस्ता समस्या देखा परेको अध्ययनमा देखिएको थियो।