काठमाडौं- बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले व्यापारीसँगको मिलेमतोमा कमिसनका लागि नवजात शिशुको सघन उपचार कक्ष (एनआइसीयू)का लागि आवश्यक पर्ने उपकरण तथा सामग्री खरिद प्रक्रिया अगाडि बढाएको तथ्य फेला परेको छ।
केन्द्रका निर्देशक डा अर्जुन सापकोटा र बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीले व्यापारीसँगको मिलेमतोमा एनआइसीयूका लागि आवश्यक पर्ने विभिन्न २० प्रकारका उपकरण र सामग्री खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको हो।
निर्देशक सापकोटा र इन्जिनियर कमलीले आफू निकटका व्यापारीसँगको मिलेमतोमा उनीहरुसँग मिल्ने गरी स्पेसिफिकेसन बनाएको पाइएको छ। उनीहरुले पाँच करोड ८६ लाख लागत मुल्यमा पाँच वटा एनआइसीयूका लागि आवश्यक पर्ने उपकरण र सामग्री खरिद प्रक्रियामा सेटिङ गरेको विवरण स्वास्थ्यखबरले प्राप्त गरेको छ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र स्रोतले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार उनीहरुले स्पेसिफिकेसनमा एनआइसीयूका लागि आवश्यक पर्ने भेन्टिलेटर भायर मेडिकलको बेलाभिस्टासँग मिल्ने गरी सर्तहरु राखेका छन्। स्पेसिफिकेसनमा ब्याकअप भेन्टिलेसन मोड भनेर ब्रस्ट ब्याकअप भनिएको छ। ब्रस्ट ब्याकअप बेलाभिस्टासँग मिल्ने सर्त हो।
यसैगरी, स्पेसिफिकेसनमा भेन्टिलेसन मोड भनेर एडप्टिभ भेन्टिलेसन मोड (एभिएम) भनेर राखिएको छ। यो पनि बेलाभिस्टासँग मात्र मिल्ने सर्त हो। यस्तै हाइफ्लो अक्सिजन थेरापीदेखि लिकेज कम्पेनसेसनसम्मका कुरामा बेलाभिस्टासँग मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाइएको छ।
'भेन्टिलेसन मोडमा एउटा कम्पनीको मात्र मिल्ने गरी लक स्पेसिफिकेसन नै बनाइयो', स्रोतले स्वास्थ्यखबरसँग भन्यो, 'यसमा निर्देशक र बायोमेडिकल इन्जिनियरको सेटिङ छ।'
यस्तै डिफिब्रिलेटर मेसिनमा पनि यूएस डिफिब भन्ने कम्पनीले उत्पादन गर्दै आएको 'कार्डियोस्टार्ट' भन्ने मोडलसँग मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएका छन्।
केन्द्रले पछिल्लो समयमा खरिद गर्न लागिएका सबै उपकरण तथा सामग्रीमा व्यापारीसँगको मिलेमतो देखिएको छ। कमिसनका लागि केन्द्रले सिटी स्क्यान, अल्ट्रासाउन्ड, एमआरआइ लगायतका उपकरण खरिद गर्न लागेको तथ्य स्वास्थ्यखरले फेला पारेको छ।
स्वास्थ्यखबरले यसअघि सिटी स्क्यान खरिद प्रक्रियाको खेलका विषयमा समाचार प्रकाशित गरेको थियो। वैशाख ११ गते 'कमिसनका लागि एउटा मात्र कम्पनीसँग मिल्ने गरी ३२ करोडको पाँच वटा सिटी स्क्यान किन्दै बागमती प्रदेश' शिर्षकमा समाचार प्रकाशित भएपछि प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यसका विषयमा छानबिन गर्न समिति नै गठन गरेको छ।
कानुनका सहसचिवको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन भएको हो। समितिमा प्रदेश लेखा नियन्त्रक र एक जना विज्ञ (बायोमेडिकल इन्जिनियर) सदस्य छन्।
यो पनि:
स्वास्थ्यमा अनियमितता-१: 'सेटिङ'मा ४३ करोडभन्दा बढी रकमको अल्ट्रासाउन्ड र एक्सरे खरिद गरिँदै
स्वास्थ्यमा अनियमितता-२: कमिसनका लागि एउटा मात्र कम्पनीसँग मिल्ने गरी ३२ करोडको पाँच वटा सिटी स्क्यान किन्दै बागमती प्रदेश
३२ करोडको पाँच वटा सिटी स्क्यान खरिद प्रक्रियामा 'सेटिङ': तीन सदस्यीय छानबिन समिति गठन