काठमाडौं–नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशमा थप गरिएको प्रावधानले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथि हुने अस्वाभाविक र गैरमानवीय कार्यलाई पूर्ण रुपमा निषेध गर्ने विश्वास व्यक्त गरेको छ।
संघले आइतबार विज्ञप्ति जारी गरी अध्यादेशका बारेमा सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीलाई यथेष्ट जानकारी राख्न तथा अध्यादेशका सम्बन्धका सबैलाई जानकारी गराउनका लागि संघका सम्पूर्ण शाखा कार्यालय तथा देशभर स्वास्थ्य संस्था तथा अस्पतालहरुले आ–आफ्नो स्वास्थ्य संस्था तथा अस्पतालमा फ्लेक्स बनाइ सबैलाई सूचित गर्न आग्रह गरेको छ।
संघको पटक–पटकको पहलपछि ‘नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९’ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी हुन्।
अध्यादेशमा ‘स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानीनोक्सानी पुर्याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याउने’ मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नेछ भन्ने प्रावधान थप गरिएको छ।