काठमाडौं- कन्नड टिभी अभिनेत्री चेतना राजको निधन भएको छ। २१ वर्षकी चेतनाले बेंगलुरुको एक नीजि अस्पतालमा अन्तिम सास फेरिन्।
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केही दिन अघि उनले तौल कम गराउने प्लास्टिक सर्जरी गराएकी थिइन्। शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भयो।
रिपोर्टलाई विश्वास गर्ने हो भने उनले आफ्नो शल्यक्रियाबारे आमा–बुवालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन्।
शल्यक्रियापश्चात् नायिकाको शरीरमा केही समस्या हुन थाल्यो र उनको फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्यो । यसैका कारण उनको निधन भयो। नायिकाका आमाबुवाले डाक्टरले लापरवाही गरेको आरोप लगाए र अस्पतालको प्रशासनविरुद्ध उजुरी पनि दर्ता गरे।
चेतनाको मृत्युबारे उनका ठूलोबुवाले जानकारी दिएका छन्। नायिकाका ठूलोबुवा राजप्पाले भने, ‘उनी मेरा भाइकी छोरी थिइन्। उनी कन्नड टेलिसिरियलमा काम गर्थिन्। कसैले उनलाई उनी मोटी देखिएको र तौल कम गर्नुपर्ने भनिदिएछ त्यसैले उनी आफ्नो बढेको बोसो कम गर्नका लागि शेट्टी अस्पताल पुगिन्।’
उनी थप्छिन्, ‘अस्पतालमा आइसीयू थिएन र शल्यक्रिया भइसकेको थियो। शल्यक्रियापछि उनको फोक्सोमा पानी जम्मा हुन थाल्यो। त्यसपछि उनले चेतनालाई नजिकैको अर्को अस्पतालमा सारे। तर अस्पताल पुग्ने बित्तिकै डाक्टरले चेतनालाई मृत घोषणा गरिदिए।’ चेतनाको कुरा गर्ने हो भने कन्नड टिभी इन्डष्ट्रिका एक चर्चित नायिका थिइन्। एजेन्सी