काठमाडौं- म्याग्दीको बेनी नगरपालिका प्रमुख सुरत केसीले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्दै मेयर केसीले स्वास्थ्य सम्बन्धी तीनवटा निर्णय गरेका छन्।
नागरिकहरुको स्वास्थ्यमा समान र सहज पहुँच सुनिश्चित हुन नसकेको अवस्थालाई मध्यनजर गरी नगरपालिकाले स्वास्थय सम्बन्धी तीन वटा निर्णय गरेको उनले बताए।
केसीका अनुसार नगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई मासिक रुपमा महिनाको १ दिन घरघरमा स्वास्थ्यकर्मी पठाई नियमित चेकजाँच गर्ने छ।
त्यसैगरी हरेक महिनाको १५ गते नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूबाट ४५ वर्ष माथिका नागरिकहरुको नसर्ने रोगको स्क्रिनिङ क्याम्प सचालन गर्ने र बेनी नगरपालिकाभित्रका आर्थिक हिसाबले विपन्न घरधुरी पहिचान भएका २०० घरधुरीको निशुल्क स्वास्थ्य बिमा गराउने निर्णय नगरपालिकाले गरेको छ।