विराटनगर- कोशी अस्पताल विकास समितिको सदस्यबाट राजीनामा दिएर विराटनगर महानगरको उपमेयरमा उम्मेदवारी दिएकी शिल्पा कार्की विजयी भएकी छन्।
एमालेको तर्फबाट विजयी उनले २५ हजार ६ सय ८० मत ल्याएकी छन्। कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत पाएका छन्। यादव पूर्व स्वास्थ्यमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।
विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर महानगरको दोस्रो मेयर घोषित भएका हुन्।
कोइरालाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० उम्मेदवार सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेका हुन्। थापाले २१ हजार ४ सय ५५ मत पाएका छन्। २०७४ को स्थानीय निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी हुँदा एमालेका विनोद ढकालले १७ हजार ३ सय २४ मत ल्याएका थिए।