काठमाडौं- कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीयले तिर्नुपर्ने स्वास्थ्य बीमाको आधा रकम आफैँ तिर्ने निर्णय गरेको छ।
स्वास्थ्य सेवामा पहुँच बढाउनका लागि भन्दै गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले स्वास्थ्य बीमाको आधा रकम तिर्ने निर्णय गरेका हुन्। हालै भएको स्थानीय तहको निर्वाचनमा विष्णुबहादुर केसी अध्यक्ष र चन्द्रकला अधिकारी उपाध्यक्षमा निर्वाचित भएका छन्।
उक्त निर्णय आगामी आर्थिक वर्षदेखि लागू हुने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिए। उनका अनुसार यहाँ ६४ सय ६ घर परिवार छन्।
‘स्वास्थ्य बीमाका लागि प्रति परिवार ३५ सय रुपैयाँ तिर्नुपर्छ। उक्त रकममध्ये ५० प्रतिशत गाउँपालिकाले तिर्ने निर्णय गरेको हो। र, यो आगामी आर्थिक वर्षबाट लागू हुन्छ।’ उनले भने।
यो सँगै अपाङ्गता भएका व्यक्तिले परिचय पत्र लिन कार्यालयमै आउनु नपर्ने उनले बताए। अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण र स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउने पनि गाउँपालिकाले निर्णय गरेको छ।
उनले भने, ‘अपाङ्गता भएका व्यक्तिको सहजताका लागि हामीले परिचय पत्र र स्वास्थ्य सेवा उहाँहरुको घरदैलोमै पुर्याउने पनि निर्णय गरेका छौँ।’
यस गाउँपालिकामा नागडाँडा, ढिकुरपोखरी, पाउँदुर, सल्यान, झोवाङ, लुम्ले, माझगाउँ, दाङसिङ, तिखेढुंगा, घान्दु्रक र छोम्रोक गरी ११ वटा वडाहरु छन्। ती सबै वडामा गरी २३ हजार ५६५ जनसंख्या रहेको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष २०७८/७९ का लागि यस गाउँपालिकाले ७५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको थियो।