सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतस्थित प्रदेश अस्पताललाई प्रदेश सरकारले ‘प्रदेश गौरव’ का रुपमा विकास गर्न लागेको बताएका छन्।
अस्पतालभित्र स्थापना गरिएको रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै उनले आगामी आवमा ५०० शय्याका लागि आवश्यक बजेटको सुनिश्चितता गर्ने बताए। मुख्यमन्त्री शाहीले सेवा प्रवाहमा मुलुककै उत्कृष्ट बनेर अस्पतालले प्रदेश सरकारको इज्जत राखेकामा अस्पताल व्यवस्थापनको प्रसंशा गरे।
'प्रदेश अस्पताल नमूना बनाउने हाम्रो संकल्प छ, पूर्वाधार विकास, उपकरण र जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट उपलब्ध गराइएको छ',उनले भने, 'आगामी वर्ष पनि प्राथमिकताका साथ बजेट विनियोजन गर्छौं, प्रदेश गौरवका आयोजनाका रुपमा यसलाई अघि बढाइने।' रक्तसञ्चार केन्द्र सञ्चालनले सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने उनले विश्वास व्यक्त गरे।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ र प्रदेश अस्पतालको संयुक्त लगानीमा रक्तसञ्चार केन्द्र स्थापना भएको हो। यसअघि अस्पतालको आफ्नै रक्तसञ्चार केन्द्र थिएन। अस्पतालको प्रयोगशाला एकाइमा केन्द्र स्थापना गरिएको छ।