काठमाडौं- केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधा सम्पन्न बनाइने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधासम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परीक्षण सरल र सहजरूपमा हुने व्यवस्था मिलाइने बताइन्।
साथै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने र विशिष्टीकृत स्वास्थ्य प्रयोगशाला स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहित र आकर्षित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। अबदेखि देशभित्रका प्रयोगशालाहरूमा परीक्षण हुन नसक्ने अवस्थामा मात्र विदेशमा परीक्षण गर्न पठाइनेछ।
नीति तथा कार्यक्रममा नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख छ। शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति एवं क्यान्सर लगायतका दीर्घरोगीका लागि प्रत्येक प्रदेशमा पुनःस्थापना तथा परामर्श केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।