काठमाडौं - निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नयाँ मन्त्रीलाई आफूलाई जस्तो स्वास्थ्य मन्त्रालय हात्ती छामेजस्तो नहुने बताएका छन्।
नवनियुक्त स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङलाई स्वागत गर्दै खतिवडाले दृष्टिबिहिनहरुले हात्ती छामेर व्याख्या गरेको कथाको उदाहरण दिँदै आफूलाई जस्तो स्वास्थ्य मन्त्रालय उनलाई नयाँ नहुने बताएका हुन्। खापुङले स्वास्थ्य राज्यमन्त्रीको रुपमा आठ महिना काम गरिसकेकाले उनलाई काम गर्न सहज हुने खतिवडाल जानकारी दिए।
उनले भने, ‘हामीले सँगै काम गरिसक्यौँ। आठ महिना उहाँले स्वास्थ्य राज्य मन्त्रीको रुपमा काम गर्नुभइसकेको छ। त्यसैले उहाँलाई स्वास्थ्य मन्त्रालय मलाई जस्तै हात्ती छामेजस्तो हुँदैन। म कानुनको विद्यार्थीलाई सुरुमा बुझ्न केही समय लागेको थियो।’
उनले आफूले गरेको काम समाज र जनताले मूल्यांकन गर्ने बताए। आफ्नो क्षमता र जनशक्तिको आधारमा कोभिड महामारी र खोपको व्यवस्थापन गरेको उनको भनाई छ। कोभिडमा कामहरु तिव्र गतिमा भएको बताउँदै उनले हाल कोभिड १९ विरुद्धको खोप, आइसीयू, भेन्टिलेटर, अक्सिजन, आइसोलेसन लगायतको कुरा अभाव नरहेको उनको दाबी छ।