काठमाडौं- स्वास्थ्य उपचार सेवा दिए वापत दाबी गरे अनुसारको रकम उपलब्ध नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार २० गतेबाट बीमा कार्यक्रम स्थगित गर्ने भएको छ।
प्रतिष्ठानले २०७४ श्रावणदेखि बीमा कार्यक्रम लागू गरेको थियो। प्रतिष्ठानले दाबी गरेको शोधभर्नालाई सहजीकरण नगरि एकतर्फी रुपमा विविध शर्त बन्देजहरु लगाई दावीहरुलाई कम मुल्यांकन गरि स्वास्थ्य बीमा बोर्डले रद्द गरेको प्रतिष्ठानको आरोप छ।
प्रतिष्ठानले दावी गरे अनुसार सम्पूर्ण रकम शोधभर्ना उपलब्ध गराउन र बीमाको कार्यक्रम सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याको सहजीकरण गर्न विभिन्न समयमा बोर्ड लगायत अन्य सरोकारवालालाई पटक-पटक लिखित एवं बोर्डमा गई अनुरोध गर्दा समस्याको समाधान नभएको प्रतिष्ठानको भनाइ छ।
दैनिक प्रशासनिक सञ्चालनका लागि आवश्यक पारिश्रमिक, तलव, भत्ता लगायत अस्पतालको खर्च व्यय भार आफैले व्यवस्थापन गर्नपर्ने प्रतिष्ठानको ७० प्रतिशत हिस्सा रकम बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा पुर्याए बाप्त लिनपर्ने बाँकी रहेको प्रतिष्ठानले विज्ञप्ति निकालेर भनेको छ।
बोर्डले प्रतिष्ठानलाई प्रदान गर्नुपर्ने सम्पूर्ण दावी रकमको भुक्तानी अविलम्ब नगरे असार २० गतेबाट बीमा मार्फत बिरामीको उपचार नगर्ने जानकारी दिएको छ।