काठमाडौं- नेपाल औषधि उत्पादक संघले न्युट्रास्युटिकल्स औषधिहरु स्वदेशी उद्योगले उत्पादन गर्ने व्यवस्था गर्न माग गरेको छ। संघले न्युट्रास्युटिकल र फुड सप्लिमेन्टका उत्पादनहरु स्वदेशी उद्योगले उत्पादन गर्ने व्यवस्था नहुँदा अवैधरुपमा बिक्रि वितरण, प्याकिङ, लेबलिङका साथै अधिकतम बिक्रिमुल्य प्रिन्ट गरी बजारमा पठाईएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
संघका महासचिव विप्लब अधिकारीद्धारा मंगलबार जारी विज्ञप्तिमा रुपन्देही जिल्लामा अवैध बिक्रिवितरण गरिएका औषधि नेपाली औषधि उद्योगले उत्पादन गरेका औषधिहरु नभएर न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टहरु रहेको जनाएका छन्।
उनले न्युट्रास्युटिकल्स औषधिहरु स्वदेशी उद्योगले उत्पादन गर्ने व्यवस्था नगर्दा यस्तो समस्या आएको बताए।
नेपालमा उत्पादन तथा बिक्रिवितरण हुने औषधिहरु औषधि व्यवस्था विभागबाट गुणस्तरको सुनिश्चितता गरी दर्ता भएर बजारमा जाने गरेकोमा केही वर्षयता बजारमा न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टको नाममा औषधिकै बनावट र प्याकिङमा बिक्रिवितरण भइरहेको भन्दै संघले औषधि भन्दा कैयौं गुणा बढी मुल्य लिई यस्ता उत्पादन बिक्रिवितरण भैरहेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले २०७४ सालमा नै प्रविधिजन्य स्वास्थ्य सम्बन्धी निर्देशिका जारी गरिसकेको भएतापनि यस्ता उत्पादन नेपाली औषधि उद्योगले बनाउन हालसम्म पनि अनुमति नपाएको संघको भनाई छ।
औषधिजन्य पदार्थ मात्र बिक्रि गर्ने अनुमति पाएका औषधि पसलबाट निर्वाध रुपमा यस्ता बस्तुहरु बिक्रि हुँदा समेत सम्बन्धित निकाय मौन रहको भन्दै संघले जनमानसलाई भ्रममा पार्दै औषधिकै रुपमा अत्यधिक मुल्यमा बिक्रि भैरहेका यस्ता बस्तुहरुको बारेमा सरोकारवाला निकाय गम्भीर हुनुपर्ने जनाएको छ।
खाद्यपुरकको रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिई आयात गर्ने तर खाद्य पसलबाट बिक्रि वितरण नभई औषधि पसलबाट बिक्रि गरिने हुँदा सर्वसाधारण भ्रममा परेको संघको भनाई छ।
कानुन बिपरित न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टका उत्पादनहरुमा आफैं लेवलिङग, प्याकिङ तथा मुल्य प्रिन्ट गर्ने जस्ता गैरकानुनी कार्य गर्ने सबैलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न संघले माग गरेको छ।
साथै यो समस्या समाधान गर्न सजिलै उत्पादन गर्न सक्ने यस्ता बस्तुहरु उत्पादन गर्न तत्काल स्वदेशी औषधि उद्योगहरुलाई अनुमति दिनसमेत संघले माग गरेको छ।