काठमाडौं- काठमाडौं उपत्यकामा थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ। यससँगै उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ। १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन्।
हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ। हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिएको उनले जानकारी दिइन्।
उनका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जिवाणु भेटिएको छ। हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ।