नब्बेको दशककी चर्चित बलिउड नायिका रविना टण्डनलाई कुनै परिचयको आवश्यकता छैन। उमेरले ४७ वर्षकी टण्डन निकै फिट र आकर्षक देखिन्छिन्। तपाईँले कहिल्यै उनी फिट रहन के खान्छिन् भन्ने सोच्नुभएको छ?
यो उमेरमा पनि सुन्दर र आकर्षक देखिन उनले खाने खानेकुराको चर्चा यहाँ गर्ने छौँ।
उनले एक अन्तर्वार्तामा बताए अनुसार उनी आफ्ना बच्चाहरूसँग घरमै वर्कआउट र कसरत गर्छिन्। साथै उनी धेरै फलफूल र प्रोबायोटिक्स भएका दहीजस्ता खानेकुराहरू खाने गर्छिन्। दही र फलफूल दुवैले रोग प्रतिरोधात्मक क्षमता र मेटाबोलिज्म (खानेकुरालाई शक्ति एवं उर्जामा रुपान्तरण) बढाउन मद्दत गर्दछ। साथै दहीमा हुने एन्टिअक्सिडेन्ट, ल्याक्टिक एसिड, ओमेगा ३ फ्याटी एसिडले छालालाई स्वस्थ बनाउँछ।
सबै खाने कुरा मिसाएर खाने बानी भएकी टण्डन सकेसम्म कुनै पनि खाने कुरालाई बेवास्ता गर्दिनन्। तर, उनी दैनिक रूपमा दाल,साग, रोटी र दही खाने गर्छिन्। उनी पेट चिसो भयो भने राम्रो पाचनमा मद्दत गर्छ भनेर दही खान्छिन्।
टण्डनले कोरोनाको महामारी चलिरहँदा घरेलु काडाको रेसिपी सार्वजनिक गरेकी थिइन्। जुन ताजा अर्ग्यानिक बेसार, ल्वाङ, अदुवा, कालो मरीच, जिरा र घिउ मिसाएर तयार गरिन्छ। यसले उनलाई सक्रिय र फुर्तिलो मात्र राख्दैन, उनको तौल व्यवस्थापनमा पनि मद्दत गर्दछ।
उनले आफ्नो एक अन्तर्वार्तामा आफूलाई बटर र चिज एकदमै मन पर्ने बताएकी छिन्। यद्यपि, उनी यस्ता चिजमा खानबाट आफूलाई नियन्त्रणमा राख्छिन्।
उनी घरमै पौडी खेल्न, योग र कसरत गर्न मन पराउँछिन्। उनी प्रायः आफ्नो इन्स्टाग्राममा योग र कसरतको फोटोहरू पनि शेयर गरिरहेकी हुन्छिन्।
उनले एउटा डिजिटल मनोरञ्जन प्लेटफर्मसँगको अन्तर्वार्तामा आफ्नो आमाले बनाएको दूधको बर्फी एकदमै मनपर्ने समेत बताएकी थिइन्।