ढाडको दुखाई अर्थात् ब्याक पेन हुँदा गराइने जाँच एचएलए-बि२७ (HLA-B27) यो एउटा स्फेसिफिक प्रोटिन हो, जुन हाम्रो ल्युकोसाइट्स वा सेतो रक्त कोशिकाहरूको सतहमा पाइन्छ।
यो एउटा जेनेटिक टेस्ट हो। एचएलए-बि २७ पहिचान भएमा मुख्यतः चार वटा रोगहरू; यान्काइलोजिङ स्पोन्डाइलाइटिस, रियाक्टिभ आर्थराइटिस, जुभिनाइल र्यु-माटोइड आर्थराइटिस र एन्टिरियर युभिआइटिस हुने सम्भावना हुन्छ।
यान्काइलोजिङ स्पोन्डाइलाइटिस भएका ८० देखी ९० प्रतिशत मानिसहरूको एचएलए-बि २७ पोजिटिभ हुन्छ।
यो रोगमा मेरुदण्ड, स्पाइन् र कम्मरका ठुला जोर्नीहरूमा समस्या देखिन्छ। यसको कारण भने अहिलेसम्म पत्ता लागेको छैन।
२० देखी ३० वर्ष उमेर कटेकाहरूमा यो रोगको जोखिम उच्च छ। महिलामा भन्दा पुरुषहरूमा यो रोग धेरै पहिचान हुने गरेको पाइन्छ।
लक्षणहरू
- राती या बिहान आराम गरिरहेको समयमा ब्याक पेन हुने, हलचल गर्न थालेपछि कम हुने
- स्पाइन बिस्तारै बाङ्गो हुँदै जाने, कसै कसैमा स्पाइन हलचल हुन पनि गार्हो हुने गरी दर्हो हुने समस्या पनि हुन्छ।
- बिहान उठ्ने बेलामा कक्रक्क परेको जस्तो हुने र हलचल हुदैं जाँदा सहज हुने पनि हुनसक्छ
- लामो सास फेर्न गारो हुन सक्छ।
साथै, खान मन नलाग्ने, तौल घट्ने, छिटो थकाई लाग्ने, ज्वरो आउने, हेमोग्लोबिनको मात्रा कम हुने जस्ता लक्षणहरू पनि देखिन सक्छन्। आँखा सुनिने, पेट सम्बन्धी समस्या देखा पर्ने या त छालामा दागहरू पनि देखिन सक्छ।
सबै खाले ढाड दुखाईलाई यो जाँच जरुरी हुँदैन। यस्ता लक्षणहरू देखिएको खण्डमा फिजिसियन, हाडजोर्नीको डाक्टर, आँखाको डाक्टर या त आफूलाई जे समस्या देखा पर्छ त्यसैको आधारमा सम्बन्धित डाक्टरहरूलाई भेटेर मात्रै यो जाँच आवश्यक हो या होइन भनेर सल्लाह गरेर मात्रै गर्नुपर्छ।
यदि कसैलाई यान्काइलोजिङ स्पोन्डाइलाइटिस हो भनेर आशङ्का गरियो र जाँचहरू गर्नुपर्योस भने स्पाइनको एक्स-रे गर्नुपर्ने हुन्छ। साथै सिआरपि या इएसआर र एचएलए-बि २७ टेस्ट गराउनु पर्छ।
यो टेस्ट गराउन खाली पेट बस्नु पर्दैन आफूलाई सहज हुने समयमा गएर रगत दिन मिल्छ। यसको रिपोर्ट आजको भोलि या दुई दिनसम्म लाग्न सक्छ। पहिले पहिले भने यो जाँच नेपालमा नहुने हुनाले एक या दुई हप्तासम्म लाग्ने गरेको थियो।
ब्याक पेनको एउटा कारण यान्काइलोजिङ स्पोन्डाइलाइटिसको पहिचान गर्न एचएलए-बि २७ को जाँच गराइन्छ। यो जाँच गर्न भन्दा अगाडि डाक्टरको सल्लाह गर्नुहोला। तपाईं सिधै ल्याबमा गएर जाँच गराउनु हुन्छ भने पनि एक पटक सल्लाह गर्नुहोला किनकि यो अलिक महँगो जाँच हो।
(डा गौतम सम्यक डाइग्नोष्टिकका अध्यक्ष हुन्।)