मुख लगायत मुखभित्रका सबै अङ्गहरूमा र घाँटीमा विभिन्न प्रकारका क्यान्सरहरु हुन सक्छन्। मुखको क्यान्सर र घाँटीको क्यान्सर जोडेर हामी त्यसलाई हेडनेक क्यान्सर भन्छौं। नेपालका मानिसहरूमा धेरै जसो हेडनेकको क्यान्सर हुने गरेको पाइन्छ।
मुख र घाँटीको क्यान्सर दक्षिण एसियाली देशहरूको निकै ठूलो समस्या हो। पुरुषहरूमा सबै क्यान्सरहरूको लगभग १०-२० प्रतिशत यी क्यान्सर हुन्छन्। भारत, पाकिस्तान र श्रीलंका जस्ता देशहरूमा पुरुषहरूमा हुने सबै क्यान्सरमध्ये ओठ र मुखको क्यान्सर मात्र नम्बर एक कारण (लगभग १५ प्रतिशत) हो। थाइराइडमा हुने क्यान्सर पनि नेपालमा पनि धेरै जनामा देखिन्छ। थाइराइडको क्यान्सर प्राय जसो महिलाहरुमा बढी देखिन्छ। र्याल ग्रन्थीको क्यान्सर र लिम्फोमा हरुपनि हेड र नेकमा देखिने फरक प्रकारका क्यान्सरहरू हुन्।
यि क्यान्सर विशेष गरी ४० वर्षपछि को उमेरका मानिसहरूमा देखिन्छ। केहि किसिमका क्यान्सर जस्तै लिम्फिमा र सार्कोमा कम ऊमेरका व्यक्तिहरूमा पनि देखिन्छ।
चुरोट खैनी लगायत कुनै पनि सुर्तीजन्य पदार्थ यस्तो क्यान्सरका प्रमुख कारकहरू हुन्। धुम्रपान र मदिरासगैं प्रयोग गर्नेमा यो क्यान्सरको अझ बढि जोखिम हुन्छ। सुपारी, पराग, गुटखा, सुर्ती चपाउने बानीको कारणले ओठ र मुखको क्यान्सर भारतीय उपमहाद्वीपमा धेरै सामान्य छ।
इबिभि र एचपिभि जस्ता भाइरसहरू क्रमशः नेजोफ्यारिंक्स र ओरोफ्यारिंक्स क्यान्सरका स्थापित कारणहरू हुन्।
सामान्यतया क्यान्सर सानो घाउबाट सुरु हुन्छ र बिस्तारै आकारमा बढ्छ अनी पछि पछि द्रुत रूपमा बढ्छ। यो रोग सुरुमा घाँटीका ग्रन्थीहरुमा फैलिन्छ र पछि फोक्सो लगायत शरीरका अन्य अंगमा फैलिन सक्छ।
सुरुवाती चरणमा क्यान्सरमा दुखाइ हुदैन। घाँटीका ग्रन्थीहरुमा फैलिएपछि उक्त ग्रन्थीहरू आकारमा ठुलो हुने अनी छाम्दा भेटिने हुन्छ। चालिस वर्ष नाघेका व्यक्तिहरुमा घाँटीमा त्यसरी छाम्दा भेटिने ग्रन्थीहरू यडी दुई हप्ता भन्दा लामो समय रहन्छन् भने क्यान्सर हुने सम्भावना एकदमै धेरै हुन्छ।
कस्ता-कस्ता लक्षण देखिएमा क्यान्सर भनेर शंका गर्ने?
- मुखमा वा ओठमा २ हप्तामा निको नहुने अल्सर, सेतो वा रातो दागहरू वा गाण देखा परेमा
- लगातार घाँटी दुखाइ वा खानमा असहजता
- घाँटी खसखस गर्ने,केही अड्केको जस्तो हुने जस्ता समस्या दिनानुदिन बढ्दै जाने
- कानमा कुनै घाउ नदेखिए पनि दुख्ने
- नाक बन्द हुन् थालेको अनुभव हुने
- दुई हप्ता भन्दा बढी समय सम्म आवाज बदलि राख्ने
- नाकबाट सिंगान संगै मिसिएर रगत बग्ने।
क्यान्सरको शंका लागेका बिरामीको विस्तृत परीक्षण गर्नुपर्छ। रोगको फैलावटका हेर्नको लागि आवश्यकता अनुसार सिटिस्क्यान, एमआरआई र एक्सरेको सहायता लिइन्छ।
प्राय: देखिएको शंकास्पद घाउबाट बायोस्पी अथवा घाँटीमा देखिएका ग्रन्थीहरुको एफएनएस (FNAC) बाट मासु परीक्षण गरी क्यान्सर रोगको पुष्टि गरिन्छ।
रोग प्रमाणित भएपछि यसको फैलावट हेरि स्स्टेजिङ गरिन्। सामान्यतया भर्खरै सुरु भएको क्यान्सरलाई पहिलो स्टेज र निकै फैलिएको क्यान्सरलाई चौथो स्टेज भनिन्छ।
रोगको अवस्था, बिरामीको स्थित र स्टेजको आधारमा उपचारका विभिन्न विधिहरू प्रयोग गरिन्छ। प्रारम्भिक चरणको क्यान्सरको निदान हुने सम्भवना धेरै हुन्छ। जसको उपचार शल्यक्रिया वा रेडियोथेरापीबाट गरिन्छ।
धेरै फैलिएको क्यान्सरको लागि बिभिन्न पद्दतिलाई मिलाएर उपचार गरिन्छ। प्राय: जस्तो क्यान्सरको शल्यक्रिया पछि रेडियोथेरापी वा केमोथेरापी छनौट गरिन्छ। प्लास्टिक सर्जनहरूको सहायताले मुख र घाँटीको शल्यक्रिया पछि पुनर्निर्माणको काम गरिन्छ।
यसबाट जटिल किसिमको अप्रेसनपछि पनि बिरामीलाई पुनर्स्थापना र जीवनको गुणस्तर कायम राख्न मद्दत गर्दछ। उपचार पूरा भएपछि पनि नियमित फलोअप अत्यन्त महत्त्वपूर्ण हुन्छ। पहिले-पहिले विरामीहरु उपचारको लागि विदेश जानुपर्ने बाध्यता भएपनि हाल मुख र घाँटी सम्बन्धी क्यान्सरको सम्पूर्ण उपचार नेपालमा उपलब्ध छ।
विश्व मुख र घाँटी क्यान्सर दिवस हरेक वर्ष जुलाई २७ मा मनाइन्छ। यो मुख र घाँटीको क्यान्सरको बारेमा आम जनतामा चेतना जगाउने र यसले हाम्रो समुदायमा प्रभावित मानिसहरूमा परेको प्रभावलाई समीक्षा गर्ने अवसर हो।
-(डा यादव हेड एन्ड नेक ओन्कोसर्जन हुन्)