काठमाडौं– सरकारी जग्गामा संरचना बनाएको विषयमा नर्भिक अस्पताललाई जग्गा खाली गर्न पत्र काटेको काठमाडौं महानगरपालिकाले तत्काल त्यहाँबाट संरचना नहटाउने भएको छ। अस्पतालले सरकारी जग्गामा संरचना बनाएको विषयमा अध्ययन गर्न महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएपछि नर्भिकले बनाएका संरचना तत्काल हटाउनु नपर्ने भएको हो।
महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिएको थियो। संरचना हटाउन महानगरपालिकाको टोली मंगलबार अस्पतालमै पुगेको थियो। तर, अस्पताल पक्षले सरकारसँग सम्झौता नै गरेर जग्गा भाडामा लिएर संरचना बनाएको दाबी गर्दै हटाउन मानेको थिएन।
पछि महानगरपालिकाका मेयर बालेन्द्र साह आफैं अस्पताल पुगेका थिए। अस्पताल पुगेर मेयर साहले महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्णयानुसार अगाडि बढ्ने सहमति गरेका हुन्। प्राविधिकहरुले दिएको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने मेयर शाहको भनाइ छ।
सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानुन बराबर लाग्ने मेयर शाहको भनाइ छ। आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको उनको भनाइ छ।
अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले भने सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रुपमा पालना गरेको बताए। सम्झौताअनुसार जग्गा भोगका लागि अस्पतालसँग अझै ८ वर्ष बाँकी रहेको अध्यक्ष सिंहको भनाइ छ। अध्यक्ष सिंहले महानगर र अस्पतालका प्राविधिकहरुको समितिले दिएको सुझावअनुसार अगाडि बढ्ने सहमति भएको जानकारी दिए।
नर्भिक अस्पतालले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ।
नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको दाबी छ।