दाङ– लमही अस्पतालबाट जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ। एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको लमही अस्पतालका एमडिजिपी डाक्टर महेश सिलवालले जानकारी दिए।
'एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। ढाडमा सुई लगाएर गर्न मिल्ने शल्यक्रिया गर्न सक्छौं, उनले भने, ‘एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया गर्न सकिन्छ।'
एमडिजिपी डा महेश सिलवाल, एनेस्थेसिया सञ्जय शर्मा, सजिना श्रेष्ठ लगायतको टिमले पहिलोपटक एपेन्डिसाइटिसको शल्यक्रिया गरेको हो। यसअघि घोराही, बुटवल, नेपालगन्जसम्म पुग्नुपर्ने बाध्यता थियो।
लमही नगरपालिका वडा नम्बर ६ की पिमा सुनारको पेट दुख्ने समस्या देखिएपछि लमही अस्पताल ल्याइएको थियो। नजिकै सेवा पाएपछि टाढा जानुपर्ने बाध्यता टरेको पिमाकी छोरी रिनाले बताइन्। लमही अस्पतालमा ७ हजार रुपैयाँमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो।
यही सेवाका लागि निजी अस्पतालले ४० हजार रुपैयाँसम्म लिने गरेका छन्।