बाजुरा- बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ।
स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ सोमबार औपचारिक रुपमा जिल्लाका १६ महिनादेखि २३ महिनाका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडा र पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। जिल्लाका सबै स्थानीय तहहरुमा ती उमेर समूहका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्ण खोप घोषणा गरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त जनस्वास्थ्य अधिकृत महेश चन्दले जानकारी दिए।
जिल्लामा जन्मेदेखि १५ महिनाका तीन हजार पाँच सय ६६ बालबालिका रहेको तथ्याङ्क छ भने खोप कार्ड भएका तीन हजा पाँच सय २२ बालबालिका छन्। सर्वेक्षणमा छुटेका बालबालिकालाई अगामी वैशाख महिनामा खोप लगाउने योजना रहेको उनले बताए। बाजुरालाई सुदूरपश्चिम प्रदेश ९औँ र देशभरका जिल्लामा २२औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको अधिकृत चन्दको भनाइ छ।
खोप पाउनबाट छुटेका बालबालिकाको सर्वेक्षण गर्दा कुनै पनि प्रकारका खोप नपाएका जिल्लामा चार बालिबालिका छन्। खोप घोषणा कार्यक्रममा कुनै न कुनै खोप नपाएका ११ बाबालिका रहेका छन्। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणामा १६ देखि २३ महिनाका दुई हजार दुई सय ४१ बालबालिका छन्। तीमध्ये दुई हजार एक सय ६८ बालबिािलकाले खोप पाएका छन् भने ७३ बालबालिकाले खोप पाएका छैनन्।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवं खोप समन्वय समितिका संयोजक तुलसीराम रोकायाले खोपलाई प्रभावकारी बनाउन र बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन सबैले हातेमालोे गर्नुपर्ने बताए। रासस