स्वास्थ्य खबरपत्रिकाले १२ वर्ष पूरा गरेको छ। यो १२ वर्षमा हामी नेपाली पत्रकारितामा यात्री मात्रै भएनौं, स्वास्थ्य पत्रकारितामा बाटो निर्माणको काम पनि गर्यौं। हामीले हालसम्म आमजनको निरोगी हुन पाउने हक, स्वास्थ्यमा सुलभ पहुँच तथा गुणस्तरीय उपचारको हक दिलाउने कर्ममा सहयात्री बन्ने कोशिस गर्यौं।
फर्केर हेर्दा हामीले दुई वटा काम गर्यौं। पहिलो, स्वास्थ्य पत्रकारिताको जग बसायौं। दोस्रो, वर्तमान स्वास्थ्य प्रणालीमा रहेका कमजोरी औंल्यायौं र सबल पक्षको प्रवद्र्धनका लागि हौस्यायौं। सुक्ष्म रुपमा स्वास्थ्य क्षेत्रको नाडी छाम्ने, विकृति, विसंगति र बेथितिको ‘डायग्नोसिस’ गर्ने र त्यसलाई उदांगो मात्रै नपारी आवश्यक उपचारका लागि पहल गर्ने र रेफर गर्ने दशकका रुपमा हामीले यसलाई लिएका छौं।
यस क्रममा आरोह–अवरोह, घाम–छाया र दिन–रात सबै महसुस गरिएको छ। ‘निडर’ भए मात्रै स्वास्थ्य सञ्चार क्षेत्रको ‘लिडर’ बन्न सकिन्छ भनेर हामी कहिल्यै डगमगाएनौं। नराम्रोलाई ‘नराम्रो’भन्दा नै ‘राम्रो’ हुन्छ भन्ने पत्रकारिताको सिद्धान्तलाई आत्मचिन्तन गर्दै अघि बढ्यौं। अदालतको कठघरामा उभिन तयार भयौं तर हामीले सम्झौता गरेनौं। तपाईंहरुको साथ, सहयोग बिना भने यो सम्भव थिएन। हाम्रो निरन्तरताको मात्रै होइन, आत्मविश्वासको आधार पनि तपाईंहरु नै हो। यो यात्रामा सहयात्री भएर साथ दिनु हुने सबैलाई आभार प्रकट गर्न चाहन्छौं।
बितेको १२ वर्षमा नेपाली समाज, राजनीति, अर्थतन्त्र र स्वास्थ्य सबैतिर बदलाव भयो। नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्यलाई मौलिक हकका रुपमा स्वीकारेको छ। संघीय संरचनामा आधारित शासकीय प्रणालीमा स्वास्थ्य सेवा सहज र सुलभ हुनुपर्छ। २०७६ सालमा आएको कोभिड–१९ को महामारीले हाम्रो स्वास्थ्य अवस्थाको ‘भिडियो एक्स–रे’ गरिदिएको छ। त्यसपछि हामीलाई महसुस भएको छ– अब यही प्रणालीको कमजोरी औंल्याउने र यसैलाई सबल बनाउने हाम्रो बाटो बदल्नुपर्छ। हामीले अब स्वास्थ्य प्रणालीमै परिवर्तनका पक्षमा उभिनुपर्छ।
यही बिन्दुबाट हामी स्वास्थ्य पत्रकारिता यात्राको दिशा बदल्ने तयारी गर्दैछौं। आगामी दशकलाई स्वास्थ्य बहसको दशक, स्वास्थ्य चिन्तनको दशक र नेपालका लागि सुहाउँदो स्वास्थ्य प्रणाली बसाल्ने दशकका रुपमा लिन गइरहेका छौँ। यसका लागि राजनीति, नीति र रणनीति सबै तहको चेतना र चाहनाको ऊर्जा भर्नेदेखि जनस्तर र सेवा प्रदायक तप्कामा ‘क्याटालिस्ट’ को काममा हामी खट्ने छौं।
स्वास्थ्य क्षेत्रमा अनुसन्धान प्रदत्त ज्ञान र विज्ञानलाई सञ्चो र सन्तुष्टिमा बदल्नु त जरुरी छ नै, त्योभन्दा बढी यी सबै पक्षहरूलाई प्याकेजिङ गरेर ‘राष्ट्रिय स्वास्थ्य प्रणाली’ को स्पष्ट व्याख्या हुनु र सोही मुताविक स्ट्रक्चरिङ र रिस्ट्रक्चरिङको आर्किटेक्चर तयार गरेर नेपाली माटो सुहाउँदो स्वास्थ्य प्रणाली तयार गरिनु जरूरी छ।
जसरी ओटो भोन विस्मार्कले पहिलो एजेण्डाका रुपमा स्वास्थ्य प्रणालीको कुरा गरेर जर्मनीमा ‘विस्मार्क मोडललाई स्वास्थ्य सेवा र प्रणाली सिक्ने एक खुला विश्वविद्यालय बनाइदिए। त्यसपछि धेरै देशहरूले त्यसको रेफरेन्स लिंदै ‘नेसनल हेल्थ सिस्टम’, ‘बेभरिड्ज मोडल’ लगायत आ–आफ्ना स्वास्थ्य प्रणाली बसाल्न लागिपरे। अमेरिका जस्तो हर क्षेत्रमा अब्बल उभ्याउने देशले समेत आफ्नो उच्च गुणस्तरीय स्वास्थ्य सेवाका बाबजुद स्वास्थ्य प्रणाली प्रस्ट्याउने मामलामा चुक्दा उसैका नागरिकको टिप्पणी हुन्छ, ‘कन्फ्युज्ड सिस्टम’।
नेपाल अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ, स्वास्थ्य प्रणाली स्थापित गर्ने चरणमा। राजनीतिक दल र कर्मचारीतन्त्रलाई घच्घच्याउन, जनता जगाउन वा विशेषज्ञलाई बोल्न लगाउन स्वास्थ्यखबरले नेतृत्व गर्नेछ र सबै वैचारिक लडाईंको मोर्चा सम्हाल्नेछ। स्वास्थ्य प्रणाली परिवर्तनका लागि आ–आफ्नो क्षेत्रबाट आवाज बुलन्द गर्न आग्रह गर्दछौं।
अन्त्यमा, तपाईं सम्पूर्ण पाठक, लेखक, पेसाकर्मी, विज्ञापनदाता, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी र शुभेच्छुकको साथ र सहयोग हाम्रा सबै प्रकाशन–प्रसारणप्रति रहनेछ भन्ने विश्वासका साथ धन्यवाद ज्ञापन गर्छौं।