– सन् २००७ मा चीनको सिचुवान युनिभर्सिटीबाट एमबिबिएस उत्तीर्ण गरेका सरोज यादव १३ पटकसम्म मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा फेल भए। आफैँले परीक्षा दिएर पार लगाउने हिम्मत हारेपछि १४ औँ पटकको परीक्षा दिन ‘खेताला’ लगाए। पैसा लिएर यादवको परीक्षा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्ज क्याम्पसमा एमबिबिएस अध्ययनरत इन्टर्न विद्यार्थी नीरज शर्माले दिए। तर, लाइसेन्स पास गर्न अपनाएको यो तरिका पनि सफल भएन। स्वयम्भूस्थित नेपाली सेनाले सञ्चालन गरेको मेडिकल कलेजको आर्मी प्रतिष्ठानबाट यादवका नाममा नक्कली परीक्षार्थी बनेर गएका शर्र्मा पक्राउ परे। भारतबाट सन् २००० मा प्लस टू सिध्याएका यादवले चीनबाट एमबिबिएस डिग्री लिएका थिए। एसएलसीमा ५० प्रतिशत कटाउन नसकेका यादवले एमबिबिएस पनि मुस्किलले पास गरेका थिए।
– चीनको चोङकिङ मेडिकल युनिभर्सिटीबाट सन् २०१२ मा एमबिबिएस सकेका नवीनकुमार यादव पनि मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा सातपटकसम्म फेल भए। लाइसेन्सिङ परीक्षा पास गर्न सक्ने आशा मरेपछि उनले पनि यादवकै शैली पछ्याए। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. सुशील मण्डललाई आफ्नो सट्टामा परीक्षा दिन पठाए। डा. मण्डललाई पनि प्रहरीले परीक्षा हलबाट पक्राउ गर्यो। एसएलसीमा ४८ प्रतिशत मात्रै ल्याएका यादवले पनि मुस्किलले एमबिबिएस गरेका हुन्।
चीनमा एमबिबिएस पढेर काउन्सिलको परीक्षा पास गर्न नसक्ने यी दुई ताजा उदाहरण मात्र हुन्। चीनका गुणस्तरहीन कलेजमा डाक्टर बन्न पुग्ने अधिकांश विद्यार्थीको हालत यस्तै छ। काउन्सिलसँग लाइसेन्स परीक्षा १२ वर्षसम्म पार लगाउन नसकेका विद्यार्थीको रेकर्ड छ। काउन्सिलको रेकर्डअनुसार लाइसेन्सिङ परीक्षा पास गर्न नसक्ने अधिकांश विद्यार्थीले न्यूनतम योग्यता समेत नपुगी एमबिबिएस पढ्ने गरेको देखिएको छ।
भारतबाट आइएस्सी गरेका (नक्कली सर्टिफिकेट लिएका हुन सक्ने), एसएलसी र प्लस टूमा न्यून अंक ल्याएका, नेपालको एमबिबिएस प्रवेश परीक्षामा फेल भएर चीन गएका, परिवारको बाध्यतामा पढ्न गएका र गुणस्तरहीन कलेजमा पास हुने ग्यारेन्टीसहित पढ्न गएका विद्यार्थी लाइसेन्सिङ परीक्षामा फेल हुने गरेको काउन्सिलको रेकर्डमा देखिएको छ।
चीनका मेडिकल कलेजमा अध्ययन गरेर फर्केका चिकित्सा शिक्षाका विद्यार्थीको योग्यता र क्षमतामा प्रश्न उठ्न थालेपछि स्वास्थ्य खबरपत्रिकाको टोलीले नेपालका धेरै विद्यार्थी पढ्ने चीनका विभिन्न मेडिकल कलेज र युनिभर्सिटीको स्थलगत अध्ययन गरेको छ। अध्ययनका क्रममा नेपालका कन्सल्टेन्सीले विद्यार्थीलाई कलेजका बारेमा झुक्याउने गरेको, नेपालमा नाम निकाल्न नसकेपछि आएकोे, खर्च कम लाग्ने लोभमा पढेको, पास हुने ‘ग्यारेन्टी’ पाएको, नेपाली शिक्षकले पढाउने भएकाले चीन आएकोलगायत कारण विद्यार्थीहरुले दिएका छन्।
स्थलगत अध्ययनका क्रममा अंग्रेजी माध्यममा पढाइ हुने कलेजका विद्यार्थीहरुले सैद्धान्तिक पढाइ भए पनि व्यावहारिक कक्षा लिन नपाएको गुनासो गरेका छन्। ‘उपचार गर्नु त परको कुरा, यहाँ बिरामी छुन समेत पाइँदैन,’ थ्री गर्जेज मेडिकल केलजेमा इन्टर्न गरिरहेका विनोद ढकालले भने, ‘अंग्रेजी भाषामा पढ्नेले राम्रोसँग चिनियाँ भाषा बोल्न र बुझ्न नसक्ने भएकाले विभागीय प्रमुखहरु बिरामी जाँच्न दिएपछि विद्यार्थीले गर्ने गल्तीको जोखिम लिन चाहँदैनन्। यहाँका बिरामीले पनि विदेशीले उपचार गरेको रुचाउँदैनन्। अनि हामीले कसरी सिक्नु ?’
कन्सलटेन्सीको झुटको कारण हुवे युनिभर्सिटीमा पढ्न पुगेका एक विद्यार्थीले नाम गोप्य राख्ने शर्तमा भने, ‘यहाँ त एक जना नेपाली शिक्षकले एक महिनाको अवधिमा सबै कोर्स खरर पढाउने रहेछन्। नराम्रोसँग फँसियो। एक वर्षको सबै कोर्स एक महिना पढाएर के बुझ्नु ?’ उनले नेपालमा भन्दा सस्तो शुल्कमा गुणस्तरीय पढाइ हुने र छात्रवृत्ति समेत पाइने भनेर बागबजारमा रहेको ज्योतिदीप कन्सलटेन्सीले फसाएको बताए।
चीनको गोन्जाउस्थित सनयातसेन युनिभर्सिटीमा एमबिबिएसदेखि पिएचडीसम्म छात्रवृत्तिमा अध्ययन गरेका डा. सागर न्यौपाने नराम्रा कलेजमा पढेका विद्यार्थीका कारण चीनमा डाक्टरी पढेका सबै बदनाम हुनुपरेका बताउँछन्। उनी भन्छन्, ‘चीनमा सञ्चालित केही कलेजको पढाइको गुणस्तर निकै कमजोर छ। राम्रा र विश्वविख्यात मेडिकल विश्वविद्यालय पनि चीनमै छन्।’
गोन्जाउमा भेटिएका न्युटन साइन्स काउन्सिलिङ इन्टिच्युटका सञ्चालक एचबि क्षेत्री (जसले लामो समयदेखि चीनमा विद्यार्थी पठाउँदै आएका छन्) ले चीन सरकारले सूचिकृत नगरेका कलेजको शैक्षिक गुणस्तर निकै कमजोर रहेको बताए।
थ्रि गर्जेज कलेजमा भेटिएका मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण अधिकारी चीनका कतिपय कलेजले जस्ता विद्यार्थी पनि भर्ना गर्ने, गुणस्तर र पूर्वाधारमा ध्यान नदिने, सबैलाई पास गरिदिने परिपाटीले समस्या बढ्दै गएको बताए। ‘चीन सरकारले डिग्री दिन्छ तर आफ्नो काउन्सिलमा दर्ता हुन दिँदैन,’ उनले भने, ‘पढाउने देशले दर्ता गर्न नमानेका विद्यार्थीलाई नेपाल मेडिकल काउन्सिलले किन दर्ता गर्ने ?’ डा. अधिकारी विद्यार्थीलाई सबैभन्दा समस्या भाषाले पार्ने गरेको बताउँछन्।
सनयात्सेन विश्वविद्यालयबाट रेडियसन अंकोलोजीमा पोष्टग्य्राजुएट गरेका डा. शिवजी पौडेल नेपालकबाट एमबिबिएस प्रवेश परीक्षा पास गरेका विद्यार्थीलाई राम्रा कलेजमा पढ्न पठाए गुणस्तरीय डाक्टर नेपाल आउने बताउँछन्। ‘गतिलो विद्यार्थी पनि नराम्रो कलेजमा पुग्यो भने राम्रो डाक्टर बन्न सक्दैन।’ उनले भने, ‘डाक्टर बन्न नसक्ने विद्यार्थी पनि चीनमा गएर सर्टिफिकेट ल्याउने परिपाटीले त्यहाँ पढेका राम्राको पनि बदनाम भइरहेको छ।’ उनका अनुसार चीनको शिक्षा मन्त्रालयलमा सूचिकृत नभएका कलेजमा पढेका ४० प्रतिशत भन्दा बढी काउन्सिलको नाम दर्ता परीक्षामा असmल हुने गरेका छन्।’
काम चलाउ कलेज, झुक्याउने विज्ञापन
चीनमा १ सय ७० वटा मेडिकल कलेज र विश्वविद्यालय छन्। तीमध्ये झन्डै ७० वटामा नेपाली विद्यार्थीले एमबिबिएस र पोस्ट ग्य्राजुएट अध्ययन गरिरहेका छन्। चीनको शिक्षा मन्त्रालयले गुणस्तरका आधारमा सन् २०१५ मा अंगे्रजी माध्यमबाट पढाउने ४५ वटा कलेजलाई मात्र मान्यता दिएको छ। तिनको नाम आधिकारिक वेबसाइटमा राखेको छ। यस्ता कलेज व्यावसायिक रुपमा सञ्चालित छन्।
चीनमा गतवर्ष ४८ कलेज तथा विश्वविद्यालयले मान्यता पाएका थिए। मापदण्ड पुरा नगरेकाले ३ वटा कलेजलाई चीन सरकारले मान्यता नदिएको हो। चीनमा मान्यता नपाएका धेरै कलेज सञ्चालनमा छन्। मान्यता नपाएका धेरै कलेजमा नेपाली विद्यार्थी अध्ययनरत छन्। त्यस्ता कलेजले चिनियाँ भाषामा पढाउने भनेर विद्यार्थी भर्ना गरी अंग्रेजी भाषामा पढाउँदै आएका छन्। व्यापारिक रुपमा सञ्चालन भएका नेपाली विद्यार्थी पढ्ने अधिकांश कलेजले सामान्य मापदण्ड पनि पूरा गर्न सकेका छैनन्। नेपालका कन्सल्टेन्सीले ती कलेजमा पास हुने ग्यारेन्टीसहित विद्यार्थी भर्ना गर्ने गरेको भेटिएको छ। कन्सल्टेन्सीले विश्व स्वास्थ्य संगठनले सूचिकृत गरेको, मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयले स्वीकृति दिएको जस्ता भ्रमपूर्ण विज्ञापन गरी विद्यार्थीलार्य भ्रममा पार्दै आएका छन्।
नेपाली शिक्षक, नेपालकै पाठ्यक्रम
अंग्रेजी भाषामा पढाइ हुने अधिकांश कलेज नेपाली विद्यार्थीलाई लक्ष्य गरी खोलिएका छन्। नेपाली विद्यार्थी नगए केही कलेज त बन्दै गर्नुपर्ने अवस्था आउन सक्छ। विद्यार्थीका अनुसार हुबे युनिभर्सिटी अफ माइनरोटिज, याङ्ची युनिभर्सिटी, डाली युनिभर्सिटी, सिचुवान युनिभर्सिटी, सिस्याङ युनिभर्सिटी, विइफाङ युनिभर्सिटी, थ्री गर्जेज युनिभर्सिटी, हुवे युनाइटेड युनिभर्सिटी, ताइसाङ युनिभर्सिटी, विलिङ युनिभर्सिटी लगायतले नेपालबाट शिक्षक लगेर नेपालकै पाठ्यक्रममा पढाउँदै आएका छन्।
सन् २००१ मा सिस्याङ युनिभर्सिटीले पहिलोपटक नेपालबाट शिक्षक लगेर चीनमा अंग्रेजी भाषामा एमबिबिएस पढाउन थालेको हो। त्यसपछिका दिनमा चीनमा व्यापारिकरुपमा एमबिबिएस पढाउन सुरु भयो। व्यापारिक प्रतिस्पर्धाले अयोग्य शिक्षक र कमजोर विद्यार्थीले पनि अवसर पाए। अधिकांश कलेजले नेपालमा एमबिबिएस मात्र गरेका डाक्टरलाई शिक्षक बनाएर लैजाने गरेका छन् भने पढ्न जाने विद्यार्थीको शैक्षिक योग्यता पनि कमजोर पृष्ठभूमीको छ।
एमबिबिएस पास गर्न नसक्ने कतिपय विद्यार्थी त पास हुने ग्यारेन्टी भएपछि मात्रै पढ्न जाने गरेका हुन्। त्यहाँ अध्ययनरत एक विद्यार्थीले यसमा आफू मात्र नभई परिवारसमेत दोषी भएको बताए। उनले भने, ‘पढाइमा म त्यति राम्रो छैन। तर, परिवारको प्रतिष्ठा र ‘दहेज’का लागि डाक्टर बन्नैपर्ने बनायो।’ नेपालको एमबिबिएस प्रवेश परीक्षामा फेल भएका, नेपालमा पढ्न योग्यता नपुगेका विद्यार्थी समेत आफूसँग पढिरहेको उनले दाबी गरे।
अंग्रेजी माध्यममा पढाइ हुने कमसल कलेजमा पढ्न गएका बिद्यार्थी एमबिबिएस कोर्समा सबैजसो पास हुने गरेका छन्। कलेज सञ्चालकहरु पनि विद्यार्थी फेल गरेर बदनाम हुन चाहँदैनन्। चीनमा २५ प्रतिशतभन्दा बढी विद्यार्थी फेल भए शिक्षक दोषी मानिन्छ। त्यसैले विद्यार्थी पास गर्न शिक्षकले पनि अनेक तिकडम अपनाउने गर्छन्। ‘धेरै विद्यार्थी फेल हुन थाले भने शिक्षकले खतरा महसुस गर्छन् अनि कमजोरलाई पनि पास गराइदिन्छन्,’ एक विद्यार्थीले भने, ‘नेपाल फर्केर लाइसेन्स परीक्षा पास गर्न गाह्रो हुनुको कारण यही हो।’
नेपाल मेडिकल काउन्सिलको रेकर्डअनुसार लाइसेन्सिङ परीक्षामा धेरै विद्यार्थी फेल हुने युनिभर्सिटीमा ग्वान्जी मेडिकल युनिभर्सिटी, त्यान्जिङ मेडिकल युनिभर्सिटी, जेन्जहाउ युनिभर्सिटी, उहाङ युनिभर्सिटी, जियान जातोङ युनिभर्सिटी, डाली मेडिकल युनिभर्सिटी, विफाङ मेडिकल युनिभर्सिटी, थ्री गर्जेज युनिभर्सिटी, क्युलिन युनिभर्सिटी, ताइसान युनिभर्सिटी, सिङसाङ युनिभर्सिटी, हुवे युनिभर्सिटीे लगायत छन्।
पढ्ने चीन सिक्ने नेपालमा
चीनमा चिनियाँ र अंग्रेजीमा गरी दुई भाषामा पढाइ हुन्छ। अंगे्रजी भाषामा व्यापारिक रुपमा सञ्चालन भएका छन्। एमबिबिएस र पिजी दुवै तहमा यस्तो दुई खाले शिक्षा छ। अंग्रेजी माध्यमबाट एमबिबिएस गर्नेले पाँच वर्ष पढेपछि इन्ट्रन गर्नुअघि अनिवार्य रुपमा चिनिया भाषा परीक्षा पास गर्नुपर्छ।
भाषाको व्यवहारिक समस्या र चिनियाँ स्वास्थ्य प्रणालीका कारण विद्यार्थीले एकवर्षको इन्टर्न अवधी बिरामी छुन नपाएर बिताउँछन् र प्रमाणपत्र लिएर नेपाल फर्किन्छन्। यस्ता विद्यार्थी काउन्सिलको परिक्षामा फेल हुने प्रवृत्ति निकै उच्च छ। जसोतसो पास भएमा उनीहरुले नेपालकै अस्पतालमा अभ्यास गरेर मेडिकल शिक्षाको प्रारम्भिक प्रयोगात्मक ज्ञान र अनुभव लिन्छन्। नेपालका अस्पतालमा गुणस्तरहिन सेवा प्रवाह भइरहेको गुनासो बढ्नु र चिकित्सकको कार्यशैलीको कडा आलोचना हुनुको प्रमुख कारण नै सीप बिनाका चिकित्सक हुन्।
चिकित्सकहरुका अनुसार चिनियाँ भाषामा पढ्नेले एकवर्ष भाषा सहित सात वर्ष अध्ययन गर्नुपर्छ। नेपालको मेडिकल काउन्सिलले अध्ययन गरेको संस्थामा नै इन्टर्न गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि चीनमा सन् २००९ देखि यस्तो व्यवस्था लागू भएको हो। त्यसैले उनीहरुले नेपाल फर्केर इन्टर्न गर्न पाउनुपर्ने माग गरिरहेका हुन्।
मेडिकल काउन्सिलले कलेजको गुणस्तर निर्धारण, ग्रेडिङ लगायतका काम गर्न नसक्दा मनोमानी भर्नाको समस्या बढेको हो। चीन सरकारको मातहतका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा सैद्धान्तिक पढाइ राम्रो भए पनि विद्यार्थीले बिरामी छुने अवसर कमै पाउँछन्। बिरामीको प्रेस्किप्सन, बिरामीको हिस्ट्री, औषधि सबै चिनियाँ भाषामै लेखिन्छ। अंगे्रजी माध्यममा पढ्नेलाई यो सम्भव हुँदैन।
चीनमा अंग्रेजी माध्यममा अध्ययन गरेर फर्केका विद्यार्थी किन धेरै फेल हुन्छन् त ? यसको प्रमुख कारण अंग्रेजी भाषामा पढाउन भन्दै खुलेका चीनका कमसल कलेज र कमजोर विद्यार्थी नै जिम्मेवार रहेको विज्ञहरु बताउँछन्। यसका अलावा विद्यार्थीले प्रयोगात्मक एक्सपोजर कमी हुनु पनि अर्को प्रमुख कारण हो। ‘विदेशी विद्यार्थी हो। आफ्नो देशमा दर्ता गर्नुपर्दैन। उसको देशमा गएर जेसुकै गरोस्’ भन्ने विश्वविद्यालयको सोचाइका कारण पढाइ पनि निकै कमजोर हुने गरेको छ। पैसा तिरेर पढेको छ, यहाँ किन अड्काउने भन्ने चिनियाँ विश्वविद्यालयको सोचका कारण पनि कमजोर विद्यार्थीले समेतथ एमबिबिएस पास गरिरहेका छन्।
कन्सलटेन्सीको झुटको धन्दा
नेपालका कन्सलटेन्सीहरुले नेपाली विद्यार्थीलाई चीनका अग्ला र मनै लोभ्याउने खालको भव्य आलिसान अस्पताल भवन, विश्वविख्यात प्रोफेसरको फोटो, अत्याधुनिक उपकरण देखाएर उच्चस्तरको पढाइ हुन्छ भन्ने भ्रम छरेका छन्। चीन सरकारले नै कमजोर र मापदण्ड पूरा नगरेको भन्दै लिस्टबाट हटाएका कलेजमा समेत कन्सलटेन्सीले उच्चस्तरको र राम्रा कलेज भन्दै विद्यार्थीलाई पठाउने गरेको भेटिएको छ। कमजोर पूर्वाधार र मापदण्डका कारण गुणस्तरीय पढाइ हुन नसकेपछि सन् २०१६ मा लिस्टबाटै हटाएको डाली युनिभर्सिटीमा समेत यहाँका कन्सलटेन्सीले विद्यार्थीलाई झुक्याएर पठाएको स्थलगत अध्ययनका क्रममा भेटिएको छ।
बागबजारको जिपिसी नेपाल, पुतलीसडकको स्पिड इन्टरनेसनल प्रालि र मिसन डाक्टर नामक कन्सलटेन्सीले विद्यार्थीमा झुटको खेती गरिरहेको फेला परेको छ। यी कन्सलटेन्सीले कमजोर गुणस्तरका कारण लिस्टबाटै हटाइएका कलेजमा ‘नेपाली शिक्षक रहेको, प्रयोगात्मक पढाइमा जोड दिने’ भन्ने गरेको भेटिएको छ। कतिसम्म भने नेपालबाट चाइनिज भाषामा पढाइ हुने भनेर जाने तर उता गएपछि अंग्रेजीमा नै पढाउने गरेको समेत भेटियो। कलेजले सबै विद्यार्थीलाई कम्तीमा २५ हजारदेखि एक लाख रुपियाँ छात्रवृत्तिसमेत दिने भन्दै प्रलोभन समेत दिइरहेका छन्।
ज्योतिदीप कन्सलटेन्सीले सिङसाङ, हुवे र क्युलिन युनिभर्सिटीमा नेपाली विद्यार्थी पठाउने गरेको छ। यी तिनै कलेजलाई चीनको शिक्षा मन्त्रालयले गुणस्तर नपुगेकाका कारण सूचिबाट हटाएको छ। चीन सरकारले सूचिबाट हटाएपछि उनीहरुले नेपाल मेडिकल काउन्सिल र चीन सरकारलाई झुक्याउँदै पढाई सुचारु गरेका छन्। सिङसिङ कलेजमा त फार्मेसी पढेका पाकिस्तानी शिक्षकले एमबिबिएसका विद्यार्थीलाई पढाइरहेको समेत अध्ययनका क्रममा भेटियो। नेपालका कन्सलटेन्सीले लिस्टमै नभएका त्यस्ता कलेजमा पनि विद्यार्थी पठाउने धन्दा गरेका छन्। ती कलेजले चिनियाँ भाषामा पढाउने भन्दै नेपाल मेडिकल काउन्सिलबाट अनुमति लिने तर त्यहाँ अंग्रेजी भाषामा पढाउने गरेका छन्।
डिसेम्बरको अन्तिममा काठमाडौंका कन्सलटेन्सीले विद्यार्थीलाई सूचीकृत कलेज हो भन्दै भ्रम छरिरहेको भेटियो। गत अक्टोबरबाटै एमबिबिएसको पढाइ सुरु भएको उक्त कलेजमा जिपिसीका प्रतिनिधी सागर भट्टराई जनवरीको दोस्रो सातासम्म जाँदा पनि फरक नपर्ने भन्दै विद्यार्थीलाई फकाइरहेका थिए। ‘नेपालका कलेजमा एमबिबिएस पढ्न ४० लाखभन्दा बढी तिर्नुपर्छ। तर, चीनको उक्त कलेजमा खान, बस्न सबै गरी बढीमा २० लाख चाहिन्छ,’ एमबिबिएस अध्ययन गर्न जाने विद्यार्थीलाई भट्टराईले फकाउँदै थिए, ‘अंग्रेजी भाषामै पढाइ हुने उक्त कलेजमा नेपाली शिक्षकहरुले पनि पढाउँछन्। कोटा सकिन लागिसक्यो। छिटो प्रक्रिया सुरु गरिहाल्नुहोस्।’
उनले ती विद्यार्थीलाई कलेजले ६ महिनापछि २५ हजार र एमिबिबिएसमा राम्रो गरे पिजीमा छात्रवृत्ति समेत दिने प्रलोभन देखाइरहेका थिए। जिपिसीले चीनको सूचीमा नपरेको अर्को कलेज ह्याप्पी नर्थन कलेजमा पनि निकै राम्रो पढाइ हुने भन्दै विद्यार्थीलाई आकर्षित गरिरहेको भेटिएको छ।
पुतलीसडकमै रहेको ‘मिसन डाक्टर’ नामक कन्सलटेन्सीले नेपाली विद्यार्थीलाई झनै प्रलोभन देखाएर झुक्याइरहेको छ। कन्सलटेन्सीका पुष्पराज भट्टराई ‘छात्रवृत्तिसहित डाक्टर बन्ने अवसर नछाड्नुहोस्’ भन्दै विद्यार्थीलाई कन्भिन्स गरिरहेका भेटिए। उनका अनुसार हुवे र ग्युलिन मेडिकल युनिभर्सिटीमा पढ्न जाने विद्यार्थीलाई पहिलो वर्षमै एक लाख रुपियाँसम्म छात्रवृत्ति पाउने छन्।
‘२० लाख रुपियाँमा डाक्टर बन्न सकिन्छ,’ उनी विद्यार्थीलाई भन्दै थिए, ‘अझ एक वर्षभित्र एक लाख रुपियाँ छात्रवृत्तिसमेत पाउने भएपछि त खर्च अझै कम हुने भो नि।’ उनले विद्यार्थीलाई आगामी वर्षदेखि प्रवेश परीक्षा पास भएकाले मात्र चीनका कलेजमा पढ्न जाने व्यवस्था हुन लागेको भन्दै प्रक्रिया चाँडो अगाडि बढाउन र आगामी दिनको कठिन झमेलामा नपर्न दबाब समेत दिइरहेका थिए। डाली युनिभर्सिटीमा अध्ययनरत एक विद्यार्थी भन्छन्, ‘यहाँ त योग्यता नै नपुगेका शिक्षकले पढाउँछन्। एमबिबिएस सकिन लाग्दासम्म पनि बिरामी छुन पाइँदैन। यस्तो कलेजमा पढेर हामी कसरी डाक्टर बन्ने ?’
अब्बल पनि चीनमा
चीनमा विश्वकै उत्कृष्ट कलेजहरु छन्। त्यस्ता कलेजमा नेपालबाट छात्रवृत्तिमा अध्यनन गर्न जाने विद्यार्थी छन्। छात्रवृत्तिमा पढ्न जाने र चीनका उत्कृष्ट कलेजमा पढ्ने विद्यार्थी अध्ययनपश्चात् निकै राम्रा चिकित्सकका रुपमा निस्कन्छन्। त्यस्ता कलेजमा अध्ययन गरेर आएका नेपाली डाक्टर अब्बल र लोकप्रिय पनि छन्। चीनको नान्जिङस्थित साउथइस्ट युनिभर्सिटीमा छात्रवृत्तिमा अध्ययनरत सरल शर्मा चीनमा उत्कृष्ट कलेजमा पढ्ने राम्रा विद्यार्थी र कमजोर विद्यार्थीलाई एउटै डालोमा हाल्न नहुने बताउँछन्। शहिद गंगालाल अस्पतालमा कार्यरत नाम चलेका आधा भन्दा बढी डाक्टर चीनमै अध्ययन गरेका हुन्। भरतपुर क्यान्सर अस्पतालका बिभिन्न बिभागमा चीनमा पढेका अब्बल डाक्टरहरु कार्यरत छन्। उनीहरुले चीन सरकारले आफ्ना देशका लागि डाक्टर उत्पादन गर्न खोलेका विश्व प्रख्यात विश्वविद्यालयमा छात्रववृत्तिमा पढेका हुन्।
काउन्सिल सदस्य नै धन्दामा
मेडिकल काउन्सिलका सदस्य एवम् प्रवक्ता डा. कृष्ण अधिकारी नै विद्यार्थी चीन पठाउने धन्दामा छन्। स्रोतका अनुसार उनले सन् २००१ देखि नै चीनमा एमबिबिएसका लागि विद्यार्थी पठाउँदै आएका छन्। उनले बागबजारस्थित आफनै संस्था काठमाडौं स्कुल अफ मेडिकल टेक्नोलोजी मार्फत् विद्यार्थी पठाउने गरेका छन्।
आफ्नो संस्था खोल्नुअघि उनले बिभिन्न कन्सल्टेन्सीसँग मिलेर विद्यार्थी पठाउने काम सुरु गरेका थिए। उनले चीनको हुबे प्रान्तस्थित थ्रि गर्जेज मेडिकल युनिभर्सिटीमा विद्यार्थी पठाउँछन्। उनले सो कलेजमा नेपाली विद्यार्थी र उनीहरुलाई पढाउनका लागि शिक्षक पनि नेपालबाट पठाउने गर्छन्। उनी आफू पनि वर्षमा दुई पटक त्यहाँ पुगी एक महिना पढाउने काम गर्छन्। स्वास्थ्य खबरपत्रिकाको टिम थ्रिगर्जेज पुग्दा उनी त्यहाँ पढाउँदै थिए।
नियमकारी निकायकै पदाधिकारीले विद्यार्थी लैजाने र पढाउने गर्नु आचार संहिता विपरित पनि हो। उनले आफू काउन्सिल सदस्यमा नियुक्त भएपछि विद्यार्थी पठाउन छाडेको दाबी गरेका छन्। तर, मेडिकल काउन्सिलको तथ्याङ्क अनुसार सन् २०१५ को शैक्षिक सत्रका लागि दुईजना विद्यार्थीले थ्रि गर्जेजमा एमबिबिएस अध्ययनका लागि योग्यताको प्रमाण लिएका छन्। थ्रि गर्जेजमा हाल अधिकारीका ५८ जना विद्यार्थीले इन्टर्न गरिरहेका छन्। सो कलेजमा करिब २ सय जना विद्यार्थीले एमबिबिएस अध्ययन गरिएको कलेजमा अध्ययनरत एक विद्यार्थीले जानकारी दिए। सो कलेजमा अध्ययनरत विद्यार्थीले डा. अधिकारीले फसाएको गुनासो पोखे। ती विद्यार्थीका अनुसार सैद्धान्तिक विषयमा आफैँले पढेर पनि ज्ञान हासिल गर्न सकिने भएकाले त्यसमा समस्या नभएपनि बिरामी छुन नपाउने गरेको गुनासो गरे। उनले भने, ‘बिरामी टाढाबाट हेर्ने हो, सीप बिनै कसरी नेपाल फर्कनु ?’ उनले चीनमा पढेका विद्यार्थीका लागि नेपाल सरकारले इन्टर्नको व्यवस्था गरिदिनु पर्ने माग पनि गरेका छन्।
अधिकारीको भूमिका कतिसम्म विवादास्पद र दोहोरो देखिन्छ भने उनी आफै विद्यार्थी चीन पठाउन सक्रिय छन्। उनले पठाएका र पढाएका विद्यार्थीले उनी सदस्य रहेको काउन्सिलबाटै जाँच पास गरेर चिकित्सक बन्छन्। यसमा सिधै संलग्नता देखिने भएकाले पनि नैतिकताका आधारमा एउटा भूमिका छाड्नुपर्ने वरिष्ठ चिकित्सकहरु बताउँछन्। चीनमा अध्ययनरत विद्यार्थीले नेपालमा इन्टर्न गर्न पाउनुपर्ने दबाव पर्दै आएको छ। चीनका कमसल कलेजमा कमजोर विद्यार्थी पठाउने धन्दामा समेत संलग्न काउन्सिलका पदाधिकारीले समेत दबाब दिन थालेपछि तत्कालिन अध्यक्ष दामोदर गजुरेल राजिनामै दिनु परेको थियो।
कति जान्छन् चीन ?
चीनमा एमबिबिएस अध्ययनका लागि सन् २०१० देखि २०१५ सम्ममा मेडिकल काउन्लिबाट योग्यता प्रमाण पत्र लिनेको संख्या १५ सय ८२ रहेको छ। चीनमा काउन्सिल र कन्सल्टेन्सीको मिलेमतोमा योग्यता प्रमाणपत्र नलिएर पढ्न जाने विद्यार्थीको स्ंख्या पनि त्यतिकै हाराहारी हुनसक्ने अनुमान गरिएको छ। योग्यता प्रमाणपत्र नलिने विद्यार्थीहरु भारतबाट प्लस टु गरेका, नेपालमा पढ्न योग्य नभएकाहरु हुने गरेको पाइएको छ। सन् २०१५ मा पोष्टग्राजुयट अध्ययनका लागि १ सय ९५ जना डाक्टरले काउन्सिलबाट योग्यता प्रमाणपत्र लिएका छन्। सन् २०१४ मा २ सय ८५ जना डाक्टरले पोष्टग्राजुयट अध्ययनका लागि योग्यता प्रमाणपत्र लिएका थिए। चीनमा पोष्टग्राजुयट अध्ययनरत विद्यार्थीका अनुसार नेपाल मेडिकल काउन्सिलको दर्ता परीक्षामा फेल भएका अधिकांश विद्यार्थी चीनमा पोष्टग्राजुयटका लागि आउने गर्दछन्। ‘दर्ता परीक्षा फेल भए नेपालमा काम गर्न पाइदैन अनि थप अध्ययन पनि हुने र लाज पनि जोगिने भएकाले पोष्टग्राजुयट गर्न आउँछन्’ उनले थपे।
सबै खराब छैनन्
चिकित्सा शिक्षा अध्ययनका लागि चीनमा सरकारी र निजी विश्वविद्यालयहरु छन्। चीनमा चिनियाँ भाषा र अँग्रेजी भाषामा गरी दुई किसिमको पढाइ हुने गर्छ। चिनियाँ भाषामै पढ्ने विद्यार्थीमा भाषाको समस्या हुँदैन। तर, अंग्रेजी भाषामा पढ्नेमा भने चिनियाँ भाषाको समस्या देखिन्छ।
हुन त अंग्रेजीमा पढ्नेले चिनियाँ भाषा पढेका पनि हुन्छन्। तर, त्यहाँका बिरामीले भाषामा पोख्त नभएका बिदेशी चिकित्सकसँग उपचार गर्न मान्दैनन्। भाषामा पोख्त नहुँदा बिरामीले समेत नरुचाउने हुँदा त्यहाँ अध्ययनरत विद्यार्थीले राम्रोसँग बिरामी हेर्न पाउँदैनन्। बिरामीको रोगको हिस्ट्री लिन, सम्झाउन तथा काउन्सिलिङ गर्न पनि भाषामा दक्ष हुनु आवश्यक छ। त्यसकारण भाषामा पोख्त नभएका विद्यार्थीले चिकित्सा पढाइमा दक्षता समेत हासिल गर्न सक्दैन।
चीनमा जुन विद्यार्थीले राम्रोसँग बोल्न सक्दैन, बिरामीसँग घुलमिल हुँदैन, हिस्ट्री लिँदैन, त्यस्ता विद्यार्थीलाई बिरामी समेत छुन दिइँदैन। त्यस कारण उनीहरु प्राक्टिकलमा निकै कमजोर हुन पुग्छन्। तर, चिनियाँ भाषामा नै पढ्ने विद्यार्थी छ भने उसको अस्पतालमा धेरै एक्सपोजर हुन्छ। बिरामीसँग सहजै कुरा गर्न सक्छ। प्राध्यापकले समेत बुझाएर पढाउन सक्छ। चीनकै प्राध्यापकले अंग्रेजीमा पढाउँछ भने उनीहरुले विद्यार्थीहरुलाई बुझाउनै सक्दैनन्। किनकी चिनिया प्राध्यापकको अंग्रेजीसमेत निकै कमजोर हुन्छ।
चीनमा अध्ययन गर्ने सबैले डिग्री मात्र ल्याउँछन् भन्ने कुरामा भने म विश्वास गर्दिनँ। चीनमा राम्रा, नराम्रा दुवै खालका कलेज र विद्यार्थी छन्। राम्रै कलेजमा पढ्ने विद्यार्थी पनि कमजोर हुन सक्छ। तर, उसलाई हेरेर कलेज नै खतम अनि त्यहाँ पढ्ने सबै खत्तम भन्न चाहिँ मिल्दैन। चीनमा नेपालबाट पढ्न जाने धेरै विद्यार्थीहरु यता नाम ननिस्केका तथा कमजोर खालका नै हुन्छन्। यसलाई नियन्त्रण गर्न अब मेडिकल इन्ट्रान्स परिक्षामा पास नभई जान नपाउने व्यवस्था गरिँदै छ। यो नियमले पनि धेरै नियन्त्रण गर्छ। साथै चीनका उत्कृष्ट कलेजहरुको छनोट गरेर अध्ययन गर्न जाने र भाषामा बढी दख्खल राख्ने हो भने उत्कृष्ट डाक्टरहरु आउने छन्। (कुराकानीमा आधारित)
कहिलेदेखि जान सुरु ?
सन् १९७० तिर नेपालबाट छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी चीनका विभिन्न विश्वविद्यालय तथा मेडिकल कलेजमा जान थालेका हुन्। त्यसपछिका वर्षमा नेपाली विद्यार्थी चिनियाँ भाषामै चीनका कलेजमा छात्रवृत्तिमा पढ्ने गर्थे। सन् १९९९ तिर जियान मेडिकल कलेजले पहिलोपटक अंग्रेजी भाषामा एमबिबिएस पढाइको सुरुवात गर्यो। चीनमा पढिरहेका नेपाली विद्यार्थीले नै नेम इन्स्टिच्युटसँग मिलेर नेपाली विद्यार्थीलाई उक्त कलेजमा अंग्रेजी भाषामा एमबिबिएस अध्ययनका लागि लैजान थाले। त्यसपछि सोही वर्ष सियान मेडिकल युनिभर्सिटीले पनि अंग्रेजी भाषामा पढाइ सुरु गर्यो।
१९९९ मा ग्वाङ्छी मेडिकल युनिभर्सिटीले १९ जना नेपाली लगेर अंग्रेजी भाषामा एमबिएिस पढाइ सुरु गर्यो। नेपालमा चीनको उक्त कलेजको पहिलोपटक विज्ञापन नै गरेर विद्यार्थी लगिएको थियो। त्यसको एक वर्षपछि सन् २००० मा तेन्जिङ मेडिकल युनिभर्सिटीले अंग्रेजी भाषाको पढाइ सुरु गर्यो। नेपालबाट अल्फाबिटाले अनौपचारिक रुपमा विद्यार्थी पठाउन थाल्यो। २००१ मा सिचुवान युनिभर्सिटीले पनि नेपाली विद्यार्थीलाई लक्षित गरी पढाइ थाल्यो। त्यस वर्ष उसले सुरुमा १७ जना र पछि पाँच जना थपेर २२ जना नेपाली पठाएको थियो।
२००१ मै सिङस्याङले पनि नेपाली विद्यार्थी तान्न अंग्रेजीमा पढाउन थाल्यो। उक्त कलेजले त नेपालबाट नै शिक्षक लगेर पहिलोपटक पढाउन सुरु गरेको हो। मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण अधिकारीले त्यस समय नेमसँग मिलेर विद्यार्थी लैजान थाले। कारोवार झागिदै गएपछि अरुसगको सहकार्य तोडेर उनी आफै विद्यार्थी पठाउने एकल व्यवसायमा लागे। त्यसपछिका दिनमा नेपाली शिक्षकले नै चीनमा सस्तोमै एमबिबिएस पढाउन थालेपछि विकृति पनि झागिदै गएको मानिन्छ। यसैगरी सन् २००३ मा डा. कृष्ण अधिकारीले थ्री गर्जेज विश्वविद्यालयमा विद्यार्थी पठाउन सुरु गरे। उनी अहिले पनि नेपाली विद्यार्थी त्यहाँ लैजान्छन्।
सन् २००१ मै चन्चाउ युनिभर्सिटीमा पनि अंग्रेजीमा एमबिबिएस पढ्न नेपाली विद्यार्थी गएका थिए। चन्चाउमा अल्फाबिटाले विद्यार्थी पठाउन सुरु गरेको हो। चन्चाउ युनिभर्सिटीको नाम पहिले हेनान थियो। नेपालबाट शिक्षक लैजाने गरी सन् २००२ तिर वेफाइन युनिभर्सिटीले पनि अंग्रेजी भाषामा पढाइ सुरु गर्यो। २००४ मा लुजाउ मेडिकल कलेजले पनि नेपालबाट भिजिटिङ प्रोफेसर लान थाल्यो। त्यसमा स्पिड कन्सलटेन्सीले पठाउँथ्यो। पछि सो कलेज चिनियाँको शिक्षा मन्त्रालयले गुणस्तरहीन कलेज भएकाले आफ्नो लिस्टबाट हट्यो। स्पिडले सन् २००८ देखी अर्को डाली विश्वविद्यालयमा विद्यार्थी लैजान थाल्यो।
नेपाली र भारतीय विद्यार्थीलाई लक्षित गरी अंग्रेजी पढाउन सुरु गरेका कलेजले चीनको एमबिबिएसको पाठ्यक्रम भन्दा भिन्दै पाठ्यक्रम डिजाइन गरी पढाउन सुरु गरे। कतिपय कलेजले नेपालको हुबहु पाठ्यक्रम सञ्चालन गरे। चीनका यस्ता कलेज नेपाली विद्यार्थीले मात्र धानेका छन्।
नेपाली विद्यार्थी बढेपछि कन्सलटेन्सीहरुले नेपाली पाठ्यक्रम र फ्याकल्टी अनुसारको पढाइ भन्दै नयाँ शैलीको विज्ञापन गर्न थाले। अंग्रेजी भाषामा पढाउने कलेजमा विकृति बढ्दै गएपछि चीन सरकारले कार्यदल नै बनाएर त्यस्ता कलेजहरुको गुणस्तर र मापदण्ड जाँच्न थाल्यो। चीनले कलेजहरुको सूचिकरण गर्न सुरु गर्यो।
सन् २००९ देखि अध्ययन प्रणाली परिवर्तन गर्दै चीनले ६ वर्षको कोर्स बनायो। सन् २००८ सम्म पाँच वर्षको कोर्स थियो। तर, २००९ मा आएर पाँच वर्ष एमबिबिएस र एक वर्ष चिनियाँ भाषाको पढाइ गर्ने गरी कोर्स बनाइयो। विद्यार्थीले चीनको भाषा परीक्षा एचएसके पास गर्नुपर्ने व्यवस्था सुरु भयो। यो परीक्षा पास गरेपछि मात्र विद्यार्थीले त्यहाँका अस्पतालमा इन्टर्न गर्न पाउँछन्।