स्वास्थ्यखबर आजदेखि १२औँ वर्षमा प्रवेश गरेको छ। यतिञ्जेल हामीलाई हौसला दिने सम्पूर्ण पाठक, लेखक, पेसाकर्मी, विज्ञापनदाता, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी र शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं। आगामी दिनमा पनि त्यस खालको हौसला कायमै रहोस् भन्ने चाहन्छौं।
विगत डेढ वर्षदेखि हामी विश्व स्वास्थ्य संकटको रुपमा देखापरेको कोभिड महामारीको भुमरीमा छौं। विश्वका सबैजसो क्षेत्रका जनता प्रभावित भएको यो महामारीले नेपालीको जीवनशैलीमाथि नै प्रभावित गरिरहेको छ। देशको राजनीतिक-प्रशासनिक अवस्था, अर्थव्यवस्था र सामाजिक जीवनको लय विथोलिदिएको छ। तर, यस्तो अवस्थामा पनि हेल्प पब्लिकेशनले आफ्नो व्यावसायिक धर्म र दायित्वलाई सबैभन्दा माथि राखेको छ भन्ने सुनाउन पाउँदा हामीलाई गर्व छ।
जस्तोसुकै संकट र अप्ठ्यारोका पनि हामीले आफ्नो पेशागत दायित्व भुलेका छैनौं। हाम्रा सहकर्मीहरु आफ्नो दायित्व निभाउन सधैं अग्रसर छन्। त्यसैले पनि कोरोना महामारीबाट सिर्जित भयका बीचमा पनि हाम्रो गतिमा कमी आएन। हामीले कोभिड महामारीसँग सम्बन्धित राज्यका गलत र कमजोर नीतिहरुमा प्रश्न उठाएका छौं। सही र जनपक्षीय नीतिहरुको वकालतमा शब्दहरु खर्चियौं। हाम्रै कारणले स्वास्थ्य क्षेत्रका कैयौं विसंगतिमाथि आम बहस सिर्जना भएको र कतिपय अवस्थामा नीतिगत सुधार भएको पाठकहरुलाई अवगत नै छ।
त्यति मात्रै होइन, कोरोना महामारीका बेलामा भ्रमपूर्ण समाचार र जानकारीहरुको पनि महामारी फैलिएका थिए। यस बीचमा हामीले पाठकहरुलाई तथ्यपूर्ण समाचार प्रवाह गर्ने प्रयास गर्यौं। विश्व स्वास्थ्य संगठन र अन्य आधिकारिक निकाय तथा विज्ञहरुको धारणालाई सधैं प्राथमिकतामा राख्यौं। पाठकहरुले हामीलाई विश्वास गरेर दिएका प्रतिक्रियाले हाम्रा त्यस खालका प्रयास र दायित्वबोधले लक्ष्य प्राप्त गरेको महसुस भएको छ।
यी सबै कुरा आम पाठक र सरोकारवालाहरुले हाम्रीप्रति गरेको विश्वासका कारण मात्रै सम्भव भएको हो। तर हामीबाट कमजोरी भएकै छैन भनेर दाबा गर्दैनौं। तर हाम्रा अपूर्णतालाई पूर्ण बनाउन सधैं प्रयासरत रह्यौं। हाम्रा मानवीय कमजोरी औंल्याइदिने र सुझाव दिने पाठक तथा सुभेच्छुकहरुलाई धन्यवाद दिन चाहन्छौं। आगामी दिनमा पनि यसको अपेक्षा गर्छौं।
परिमाणात्मक र गुणात्मक सामग्रीको प्रकाशनसँगै हाम्रो संविधानले दिएका नागरिकका सबै अधिकारहरुको पक्षमा हामी छौं। विशेषगरी स्वास्थ्य क्षेत्र जनमुखी हुनुपर्छ, अझै स्पष्ट भन्दा यो देशका सबैभन्दा पिँधमा रहेका जनताको हितमा हुनुपर्छ र उनीहरुको सहज पहुँचमा हुनुपर्छ भन्ने हाम्रो सुरुवातदेखि कै मन्त्र हुन्। त्यसैले पनि हामीले जनताको स्वास्थ्य सरोकारका विषयमा उठ्ने माग तथा पहलहरुको पक्षमा आफूलाई उभ्याएका छौं। आगामी दिनमा पनि त्यसलाई केन्द्रमा राखेर हाम्रा सामग्रीहरु प्रकाशन हुनेछन्।
मासिक पत्रिकासँगै ८ वर्षदेखि हामी अनलाइन संस्करण www.swasthyakhabar.com मार्फत निरन्तर समाचार प्रवाहमा सक्रिय छौं। यसले हाम्रो उपस्थितिलाई अझ द्रुत र फराकिलो बनाइदिएको छ। पलपलका स्वास्थ्य समाचार प्राप्त गर्ने पाठकको तिर्खा मेटिइरहेको छ भन्ने हाम्रो अपेक्षा छ।
अन्त्यमा, स्वास्थ्य क्षेत्रका खराब व्यक्ति र प्रवृत्तिलाई निरुत्साहित गर्ने हाम्रो प्रमुख उद्देश्य थियो। साथै यो क्षेत्रमा अमूल्य योगदान पुर्याउनेहरुलाई हौस्याउने दायित्व पनि हाम्रै हो। यही दायित्वबोधका कारण हामीले पहिलो वार्षिकोत्सवबाटै ‘हेल्थ अवार्ड’को थालनी गरेका थियौं। आमजनताको स्वास्थ्य हितमा कर्तव्यनिष्ठ भएर लागिपरेकाहरुलाई हामीले ‘स्वास्थ्य खबरपत्रिका हेल्थ अवार्ड’ मार्फत सम्मान गर्दै आइहेका छौं। तर पछिल्लो दुई वर्ष कार्यक्रम नै आयोजना गरेर ‘हेल्थ अवार्ड’लाई निरन्तरता दिन सक्ने परिस्थिति नभएको पाठकहरुलाई जानकारी नै छ। त्यसैले अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कोभिड-१९ को लडाइँमा अग्रपंक्तिमा खटिनुभएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई हाम्रो तर्फबाट सम्मान व्यक्त गर्न चाहन्छौं।