काठमाडौं- नेपालमा प्रमाणमा आधारित स्वास्थ्य उपचार (इभिडेन्स बेस्ड मेडिसिन)लाई प्राथमिकताका साथ लागू गर्नका लागि चिकित्सकहरुका लागि अन्तर्राष्ट्रिय कार्याशाला आयोजना हुने भएको छ। असोज ८ र ९ गते गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने दुई दिने यस कार्यशालमा विदेशी विज्ञका साथै नेपाली विहाहरूले पनि आफ्ना अनुभवरू साटासाट गर्ने छन्।
कार्यशालाको लक्ष्य नेपालमा रहेका चिकित्सकहरूलाई अन्तर्राष्ट्रियस्तरका अनुसन्धनात्मक लेखहरुलाई विश्लेषण गरेर कसरी बिरामीको स्वास्थ्योपचार गर्ने भन्ने बारेमा जानकारी गराइने छ।
यस कार्यशालाले बिरामीको उपचार प्रमाणमा आधारित रहेर गर्नुपर्छ भन्ने मान्यतालाई मात्रै नभएर चिकित्सकहरुको अनुसन्धान्तमक लेखका बारेमा रहेको द्विविधालाई सम्बोधन गर्न पनि उपयोगी हुने इभिडेन्स बेस्ड मेडिसिन बारे अन्तराष्ट्रिय रुपमा नै प्रवर्द्धन गरिरहेका क्यानडास्थित क्विन्स अस्पतालका क्यान्सररोग विशेषज्ञ डा विशाल ज्ञवालीले बताए। डा ज्ञवालीका साथै नेपालका रगतरोग विशेषज्ञ डा विशेष पौड्यालको नेतृत्वमा यो कार्यशाला आयोजना हुन लागेको हो।
बेलायतको प्रतिष्ठित गैरनाफामुलक संस्था ई-क्यान्सरले नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा निजामती कर्मचारी अस्पतालको सहकार्यमा यस अन्तर्राष्ट्रिय कार्यशाला हुन लागेको हो।
यस कार्यशालामा अमेरिकाको न्यासनल क्यान्सर इन्स्टिच्युटका वरिष्ठ वैज्ञानिक डा ओफिरा गिन्बर्ग, बेलायतको किंग्स कलेजका इन्स्टिच्युट अफ क्यान्सर पोलिसीका निर्देशक प्रा रिचर्ड सुलिभन, क्यानडाको क्विन्स युनिभर्सिटीका क्रिस बुथ तथा स्कट बेरीका साथै प्रिन्सेस मार्गेट क्यान्सर सेन्टरका प्रा इएन ट्यानक, भारतको कोलकतास्थित टाटा मेडिकल सेन्टरकी वरिष्ठ साइक्याट्रिस्ट सौमित्रा दत्ता, चेन्नईस्थित अपोलो प्रोटोन क्यान्सर सेन्टरका मेडिकल अंकोलोजिस्ट भवना सिरोही सहभागी हुने छन्।
कार्यशालामा विदेशी र नेपाली गरी करिब २ सय जना सहभागी हुनेछन्।