काठमाडौं– काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका टहरा (औषधि पसल) हटाउने भएको छ। बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो।
त्यही निर्देशन अनुसार उक्त स्थान खाली गर्न लागेको महानगरपपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाल लाइभलाई बताए।
नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो।
बुधबार महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त टहरा हटाउन भनेको थियो। स्वतःस्फुर्त रुपमा टहरा नहटाए डोजर लगाएर हटाउने चेतावनी महानगरले दिएको थियो।
‘नक्सामा हेर्दा औषधि पसलहरु राखिएका टहरामा गार्डेन (बगैँचा) उल्लेख भएको देखिएको थियो। त्यसैले त्यसलाई खाली गरेर गार्डेनकै रुपमा प्रयोग गर्नुपर्ने हुन्छ’, पाण्डेले भने।
महानगरले एउटा नाममा नक्सा पास गरेर अर्कै प्रयोजनमा ल्याएका संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको र औषधि पसल जस्तो संवेदनशील सेवा सञ्चालन भएकाले माङकिङ गरेर समय दिइएको उनको भनाइ छ।