काठमाडौं- उमेरले सात दशक पुग्न लागिसक्दा पनि जोश–जाँगर अझै उस्तै छ। कपाल फुलेर सेताम्मे भइसक्यो तर काम गर्ने अठोटमा कुनै कमी छैन। प्राडा चोपलाल भुसालले ३५ वर्षे जागिरे जीवनबाट पूर्ण रुपमा अवकाश प्राप्त गरेको तीन वर्ष भयो। तर उनलाई अझै पनि सक्रिय हुन मन छ। तर यो पटकको चाहना भने शैक्षिक र स्वास्थ्य क्षेत्रमा होइन। सामाजिक कार्यमा हो।
उनी भन्छन्, ‘अब बाँकी रहेको समय सामाजिक कार्यमै खर्चिने योजना बनाएको छु। मैले समाजलाई गर्न सक्ने योगदान म गर्छु।’
ह्याम्स अस्पतालमा पनि उनी कन्सल्टेण्टको रुपमा कार्यरत छन्।
०००
पढाइमा अब्बल थिए भुसाल। विद्यार्थी जीवनमा उनी कहिल्यै दोस्रो भएनन्। कक्षा ५ देखि १० कक्षासम्म सधैं प्रथम नै हुन्थे। सामुदायिक विद्यालयमा पढ्थे। घन्टौंको पैदल यात्रा गरेर विद्यालय जानु पर्थ्यो।
खेल्ने, कुद्नेसँगै उनलाई किताबसँग एकदमै लगाव थियो। पढ्न भनेपछि हुरुक्क हुन्थे।
विद्यार्थी जीवनलाई सम्झँदै उनले भने, मलाई पढ्न भनेपछि निकै रमाइलो लाग्थ्यो। कक्षा पाँचदेखि १० सम्म म सधैं प्रथम हुन्थे। दोस्रो पो हुने हो कि भन्ने डर हुन्थ्यो।
कक्षामा दोस्रो हुने हो कि भन्ने डरको कारण थियो, विद्यालयले दिने पुरस्कार। पहिलो हुने विद्यार्थीलाई विद्यालयले गाता हालेको पुस्तक, कापी, कलम पुरस्कार स्वरुप दिने गथ्र्यो। त्यही पुरस्कार पाउनका लागि सधैं पहिलो हुने गरेको डा भुसाल सम्झन्छन्।
‘कक्षामा पहिलो भएपछि पुरस्कार पाइन्छ भन्ने एक प्रकारको लोभ हुन्थ्यो। त्यो पुरस्कार पाएपछि घरमा लगेर बुबा–आमालाई देखाउन एकदमै मजा लाग्थ्यो,’ उनले भने।
सानैदेखि डाक्टर बन्ने चाहना
घर नजिकै हेल्थ सेन्टर थियो उनको। गाउँघरको आशाको टेको थियो, त्यो हेल्थ सेन्टर। कोही बिरामी हुने बित्तिकै अर्घाखाँचकीका धेरै त्यही हेल्थ सेन्टरमै जान्थे। त्यहाँ एक हेल्थ असिस्टेन्ट थिए, जो सबैका प्यारा थिए।
मिजासिलो व्यवहार, राम्रो बोलीचाली। उनको राम्रो व्यवहारकै कारण गाउँघरमा उनलाई सबैले सम्मान गर्थे। बिरामीप्रतिको लगाव र सद्भावप्रति उनी निकै प्रभावित भए। र, उनले ठाने, ‘म पनि ठूलो भएपछि उहाँ जस्तै डाक्टर बन्छु।’
हुन त भविष्यबारे योजना बनाउने उमेर थिएन उनको। मात्र सात वर्षका थिए। ‘उहाँ हेल्थ असिस्टेन्ट हुनुहुन्थ्यो। तर हामी सबैले डाक्टर भन्थ्यौँ। बिरामीलाई राम्रोसँग उपचार गर्ने। राम्रो व्यवहार गर्नुहुन्थ्यो। त्यो देख्दा मलाई म पनि यस्तै डाक्टर बन्छु भन्ने सोचाइ आएको थियो,’ उनले भने।
डाक्टर बन्ने सपना उनको आफ्नै थियो। परिवारबाट उनलाई कुनै दबाब थिएन। मात्र छोराले राम्रोसँग पढेर राम्रो काम गरे हुन्थ्यो भन्ने मात्र उनको परिवारको सोचाइ थियो। उनको परिवारमा कसैले पनि चिकित्सा क्षेत्र रोजेका थिएनन्। उनको परिवारमा चिकित्सा क्षेत्रमा काम गरेको उनी पहिलो व्यक्ति हुन्।
‘त्यति धेरै शिक्षित परिवार पनि होइन मेरो। त्यसैले छोरा डाक्टर, इन्जिनियर बनोस् भन्दा पनि राम्रोसँग पढोस् भन्ने नै परिवारको चाहना हुन्थ्यो। डाक्टर बन्ने मेरो आफ्नो निर्णय थियो,’ उनले भने।
आइएससीको अध्ययनपछि डा भुसालले एचए र इन्जिनियरिङ अध्ययनका लागि प्रयास गरेका थिए। दुवैमा उनको उत्कृष्ट नतिजा आएको थियो। तर दुईमध्ये चिकित्सा क्षेत्र रोजेको उनी बताउँछन्।
शिक्षकदेखि दूतावाससम्मको यात्रा
उनको बाल्यकाल अर्घाखाँचीमै बित्यो। एसएलसी परीक्षा अर्घाखाँचीबाटै दिए। अहिले जस्तो हरेक विद्यालयमा एसएलसीको सेन्टर त्यो बेला हुँदैनथ्यो। एसएलसीको परीक्षा दिन अर्घाखाँचीको छिमेकी जिल्ला प्युठान, गुल्मी वा कपिलवस्तु पुग्नु पथ्र्यो। उनले प्युठानबाट एसएसलसी दिए।
न अहिले जस्तो चोक–चोकमा पुस्तकालयको सुविधा थियो। कापी–किताब किन्न पनि पाल्पाको तानसेन पुग्नु पर्थ्यो। गाउँघरमा मोटर पुगेको थिएन।
एसएलसीसम्मको अध्ययन अर्घाखाँचीमा पूरा गरेका डा भुसाल उच्च शिक्षाका लागि काठमाडौं आए। त्रिचन्द्र कलेजबाट उनले आइएससी अध्ययन गरे। आइएससीपछि उनले २०३२ सालमा चिकित्साशास्त्र अध्ययन संस्था (आइओएम) बाट हेल्थ असिस्टेन्टको अध्ययन पनि पूरा गरे। हेल्थ असिस्टेन्टको अध्ययनपछि उनले डेढ वर्ष अर्घाखाँचीमै सेवा गरे।
२०४० सालमा सोभियत युनियन (रसिया) बाट एमबिबिएस अध्ययन पूरा गरेपछि उनले वीर अस्पतालमा काम गर्न थाले। त्यही बेला नै उनले नाक, कान, घाँटीमा पोस्ट ग्र्याजुएट (पिजी) डिप्लोमा पनि सकाए।
वीर अस्पतालमा पाँच वर्ष काम गरेपछि उनी एसिस्टेन्ट लेक्चररको रुपमा २०४६ सालमा आइओएमसँग जोडिए। पोस्ट ग्र्याजुएट मास्टरको अध्ययन पनि पूरा गरे। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा अध्यापन थालेको २७ वर्षपछि २०७४ सालमा उनले अवकाश प्राप्त गरे। आइओएमबाट अवकाश प्राप्त गरे पनि उनले एक वर्ष नेपाल आर्मी अस्पतालमा अध्यापन गरे। त्यसपछि उनी बंगलादेशको राजदूतमा मनोनयन भए। सन् २०१७ देखि २०१९ सम्म उनले बंगलादेशका लागि नेपालको राजदूतको भूमिकामा रहेर काम समेत गरेका थिए।
उनले शैक्षिक र चिकित्सा शिक्षाको क्षेत्रमा मात्र होइन, विभिन्न परिषद् र संघमा आवद्ध भएर पनि काम गरेका छन्। युएनडिपीको लागुऔषध माग घटाउ आयोजना २०५१–५६ मा नेसनल प्रोजेक्ट डायरेक्टर, २०६३ देखि ६५ सालसम्म नेपाल चिकित्सक संघको अध्यक्ष र २०६५ सालदेखि चार वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षको रुपमा पनि उनले काम गरे। आफ्नो ३५ वर्षे जागिरे जीवनको यात्रा फर्केर हेर्दा खुसीसँगै आफूले गरेको दुःखहरु आँखा अगाडि झल्किन्छ। ‘हामी गाउँबाट आएको मान्छे। संघर्ष गाउँबाटै सुरु भयो। सहरमा गरिने संघर्ष फेरि छुट्टै छ। त्यो यात्रा हेर्दा खुसी पनि लाग्छ। र, संघर्षका दिन सम्झिँदा गर्व पनि लाग्छ,’ डा भुसालले भने।
डाक्टरलाई कुट्ने होइन, भगवान जसरी पुज्थे
करिब ४५ वर्षअघिको कुरा हो। जब उनी अर्घाखाँचीमा थिए। एउटा बालक हात भाँचेर उपचारका लागि ल्याइयो। उनको एक्सरे गर्नुपर्ने भयो। अर्घाखाँचीमा त्यो सुविधा थिएन। त्यसैले उनले बुटवल लैजान सुझाए। तर उनको अभिभावकले ‘तपार्इं नै देउता हो, यही उपचार गरिदिनूस्’ भन्दै हात जोडे।
त्यो बेला अहिले जस्तो रेडिमेट प्लास्टरको सुविधा पनि थिएन। पाउडरलाई भिजाएर रोल बनाएर हातको प्लास्टर लगाई दिनुपथ्र्योे।
अहिले जस्तो चिकित्सक माथि आक्रमण गर्ने, कुटपिट गर्ने घटना निकै कम हुन्थ्यो। बिरामीहरुले चिकित्सकलाई देउताको स्थानमा राखेर पुज्ने गरेको बताउँदै उनले भने, ‘डाक्टर सापले राम्रो गर्नु भएको हो। तर मेरो मान्छे बाँच्ने भाग्यमा रहेनछ भनेर बिरामीले भन्ने गर्थे। त्यो किसिमको बुझाई बिरामीहरुमा थियो।’
समाजमा नकारात्मक कुराहरु हावी हुँदै गएकाले चिकित्सकमाथि आक्रमण तथा कुटपिटका घटना अहिले हुने गरेको उनी बताउँछन्।
मेडिकल क्षेत्रमा भएको वृद्धि र विकासलाई नजिकबाट नियाल्ने अवसर पाएकामध्ये उनी पनि एक हुन्। अहिले प्रविधिदेखि अस्पतालको भौतिक पूर्वाधारहरुमा धेरै विकास भएको उनी बताउँछन्। एचएको रुपमा अर्घाखाँचीमा सेवा दिँदा एक्सरे, ल्याब केही कुराको पनि सुविधा थिएन।
अहिले गाउँमा कति समस्या छ। त्यो बेला झन् अवस्था कस्तो थियो होला। उनी भन्छन्, ‘कति मान्छे भीरबाट कति रुखबाट लडेर आउँथे। तर निदान गर्ने कुनै टुल नहुँदा पनि हामीले सैद्धान्तिक रुपमा प्राप्त गरेको ज्ञानको आधारमा उपचार गर्थ्यौं।’