काठमाडौं- नेकपा एकीकृत समाजवादीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
सोमबार सार्वजनिक घोषणापत्रमा 'निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार' भन्ने नारालाई कार्यान्वयन गर्न आम जनतालाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य सेवालाई राखिने उल्लेख छ। यस्तै स्वास्थ्य उपचारसम्बन्धी स्थानीय ज्ञान सिपको संरक्षण गर्नुका साथै स्थानीय स्तरमा आधुनिक स्वास्थ्य सेवा पुऱ्याउने उल्लेख छ।
आयुर्वेदिक, एलोपैथिक, होमियोपैथिक, युनानी, अकुपन्चर, आम्ची, प्राकृतिक र परम्परागतस्वास्थ्य सेवालगायत वैकल्पिक उपचार पद्धतिलाई एकीकृत र समन्वयात्मक रूपमा सेवामा ल्याउने र नेपालमा पाइने जीवनबुटी लगायतका जडीबुटी तथा औषधीजन्य पदार्थको संवर्द्धन गरी औषधि उत्पादन गर्न जोड दिइने समाजवादीले घोषणा गरेकव छ।