काठमाडौं- काठमाडौंसहित देशभर चिसो बढ्दै छ। चिसो छल्न ठाउँ ठाउँमा आगो समेत ताप्ने गरिन्छ। आगो ताप्ने क्रममा सानो लापरबाहीले पनि अप्रिय घटना हुन सक्छ। जसमध्ये आगोले छाला पोल्नु पनि एक हो।
आगोले छाला पोल्ने बित्तिकै समयमै उपचार गरे ठिक हुन्छ। तर उपचारमा ढिलाई गरे छालामा दाग बस्ने, संक्रमण हुने र बिरामीको मृत्युसमेत हुन सक्छ।
छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराईसँग हामीले यीनै विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
आगोले छाला पोल्ने बित्तिकै सबैभन्दा पहिले के गर्ने?
– सबैभन्दा पहिले पोलेको भाग चिसो बनाउनुपर्छ।
– तापक्रमले झन् खराब गर्ने भएकाले आइस लगाएर वा पानीले भिजाएर भएपनि चिसो बनाउनुपर्छ।
– पोलेको भाग चिसो बनाउँदा थप क्षति हुन पाउँदैन।
– गाउँघरमा पाइने घ्यूकुमारी लगाउँदा पनि पोलेको भागमा सितल प्रदान गर्छ।
– पोलाइ गहिराई छ भने घरेलु उपचारमा अल्झिनु हुँदैन। अस्पताल नै जानुपर्छ।
आगोले छाला पोलेमा प्राथमिक उपचार के हुन्छ?
– सबैभन्दा पहिले आगोले छाला कत्तिको गहिराई र भाग पोलेको छ भनेर बिचार गर्नुपर्छ।
– छालाको धेरै भाग पालेको छैन भने चिसो लगाउने या पानीले सफा गरेर एन्टीबायोटिक क्रिम लगाउन सकिन्छ।
– तर धेरै गहिरो र धेरै भाग आगोले पोलेको छ भने घरमा उपचार गर्नुभन्दा सकेसम्म छिटो स्वास्थ्य संस्था जानुपर्छ।
– आगोले धेरै नै पोलेको छ भने शरीरमा पानीको मात्रा कम हुने, सोडियम, पोटासियम कम हुने र संक्रमण हुने संभावना बढ्छ।
– पोलाई गहिरो छ तर समयमै उपचार भएन भने छालामा दाग बस्ने, छाला कस्सिने समस्या हुन्छ।
जाडोमा धेरै आगो ताप्दा पनि छालामा समस्या देखिन सक्छ?
– हट वाटर व्याग र लामो समयसम्म दैनिक आगो ताप्दा खुट्टाको नशाहरु बाहिर देखिने भएर आउँछ।
– छालाहरु धेरै कालो हुने, डढ्ने, कक्रक्क हुने समस्या हुन्छ।
– यी समस्या आगो ताप्न छोडेको केही समयपछि आफैँ ठिक भएर पनि जान्छ।
– आगोले पोल्दा फोका उठेको छ, घाउँ नै भएको छ भने अस्पताल नै जानुपर्छ।
पोलेको घाउको समयमै उपचार नगर्दा यसले निम्त्याउने जटिलताहरु के–के छन्?
– सतहमा रातो मात्र भएको छ की पानीको फोका नै आएको छ भनेर हेर्नुपर्छ।
– पोलाइको गहिराई जति बढी छ त्यसले असर त्यति नै बढी हुन्छ।
– पानीको फोका आएर छालाको एक तह गयो भने संक्रमण हुने संभावना हुन्छ।
– पोलेको गहिराई र दुखाई बढी छ र समयमै उपचार पाएन भने बिरामीको मृत्यु समेत हुन सक्छ।
भिडियोः मनिष अर्याल