जाडो मौसममा न्यानो भएर बस्ने चाहना सबैको हुन्छ। आफूलाई न्यानो बनाउन, बाक्लो कपडा लगाउने, एसीमा बस्ने र हिटर वा आगो ताप्ने गरिन्छ। तर आफूलाई न्यानो बनाउने सही तरिका जानिएन भने हाम्रो कपाल, अनुहार तथा शरीरको छाला लगायत शरीरको सौन्दर्यतामा पनि असर पर्न सक्छ। कतिपय व्यक्तिहरुमा जाडोको समयमा अनुहारमा चायापोतो बढ्ने, कपालमा चाया पर्ने, कपाल झर्ने समस्या बढ्छ भने शरीरका बाहिरी छाला सुख्खा भएर फुस्रो देखिन्छ। कतिपयलाई हात तथा खुट्टाका औंला सुन्निने समस्या समेत देखिन्छ। जाडोको समयमा देखिने यी समस्याबाट कसरी छुटकारा पाउने? शरीरलाई न्यानो बनाइराख्न र सुख्खापनबाट कसरी जोगिने? लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले छालारोग विशेषज्ञ डा धर्मेन्द्र कर्णसँग कुराकानी गरेका छौं। प्रस्तुत छ डा कर्णसँग गरिएको कुराकानीको सम्पादीत अंश
मौसम परिवर्तनसँगै छालामा कस्तो परिवर्तन आउँछ?
मौसमा परिवर्तनसँगै हाम्रो शरीरको टाउकोदेखि खुट्टासम्मको बाहिरी छालामा पनि परिवर्तन हुन्छ। जाडो मौसम सुरु भएसँगै टाउकोको कपाल सुख्खा हुन्छ। जसले गर्दा कपालमा चायापर्छ, कपाल टुक्रिन सक्छ।अनुहारको छाला सुख्खा हुन्छ, चाया बढ्दै जान्छ। ओठ सुख्खा हुन्छ। हातको कुइना भन्दा तल र खुट्टाको घुँडा भन्दा तलको भाग बढी सुख्खा हुन्छ। यी समस्या प्रत्येक वर्ष हुनसक्छ। तर आफ्नो केयर समयमै गरेका यी समस्याहरुको रोकथाम सम्भव छ।
जाडोको समयमा छालामा कस्ता–कस्ता समस्या देखिन्छन्? यी समस्या देखिनुको कारण के हो?
छ वटा ऋतु छ। वातावरणको तापक्रम अनुसार हाम्रो छालामा परिवर्तन हुन्छ। बाहिरको तापक्रम र शरीर भित्रको तापक्रम एड्जस्ट हुन्छ। दशैं तिहार पछि नेपालमा चिसो सुरु हुन्छ। बाहिरको तापक्रम घटेर चिसो हुँदै गएपछि हाम्रो शरीरले पनि शरीरको तापक्रम बाहिर निकाल्छ। जसले गर्दा हाम्रो शरीरमा भएको पानीको मात्रा पनि छिन्न हुन्छ। जसले गर्दा हाम्रो छाला सुख्खा हुन्छ। जसरी जमिन सुख्खा हुँदा चिरा पर्छ, त्यसैगरी हाम्रो शरीरको छाला सुख्खा हुँदा पनि चिरा पर्छ। छाला चिरा पर्नु भनेको प्वाल पर्नु जस्तै हो, जहाँ विभिन्न किसिमका केमिकलहरु, किरा तथा ब्याक्टेरियाहरु छालामा प्रवेश गर्न र छालामा विभिन्न किसिमको समस्याहरु देखिन्छ। छाला चिरा पर्यो भने त्यहाँबाट शरीरमा भएको पानीको मात्रा पनि बाहिर आउँछ। जसले गर्दा छाला झन् झन् सुख्खा हुँदै जान्छ। यदी हामीले त्यो चिरा परेको भागलाई समयमा पुर्न सकिएन भने हामीले लगाउने क्रिम, साबुन, स्याम्फुहरु पनि छालाभित्र पस्छ र छालामा समस्या देखिन्छ। यस्तै बाहिरी वातावरणमा घुमफिर गर्दा विभिन्न किसिमको प्रदुषणले गर्दा त्यसको तत्वहरु छालामा प्रवेश गर्छ र एलर्जी हुन्छ। घामको बढी असर पर्छ र विभिन्न समस्याहरु देखिन्छ।
जाडोको समयमा सुख्खापनाको कारण पुरै शरीर चिलाउने, हातखुट्टाको औला सुन्निने, अनुहारमा चायापोतो बढ्छ, हातको पैतालाको पत्र– पत्र निस्किने, एक्जिमा देखिने, छालाको बाथ, ओठ पाक्ने समस्या बढ्नसक्छ। घाममा बस्दा अनुहारमा चाया बढ्छ।
जाडोमा आगो वा हिटर ताप्नाले छालालाई के–कस्तो असर पर्छ?
एकदमै नराम्रो असर गर्छ। बाहिरको तापक्रम चिसो छ भने शरीरले आफूमा भएको तापक्रम बाहिर फाल्छ। जसले गर्दा शरीर सुख्खा हुन्छ। जाडोको समयमा हिटर, एसी र आगो नजिकै बस्ने बानी धेरैको हुन्छ। यस्तो गर्दा हामीलाई एकछिन तातो त हुन्छ तर हाम्रो छाला झन् सुख्खा हुन्छ।
यदी जाडोबाट जोगिनु छ भने आगो ताप्नुभन्दा पनि शरीरलाई न्यानो बनाउने, आफू बस्ने कोठालाई न्यानो बनाउने हो। शरीरलाई न्यानो बनाउनु अघि शरीरलाई सुख्खा राख्नु भएन। प्रत्येक दिन शरीरमा तेल वा मोस्चराइजर वा जेल लगाउनुपर्छ। पुरा शरीर ढाकिने कपाडा लगाउने र पानी प्रशस्त पिउनुपर्छ। कपडा लगाउदा न्यानोका लागि विभिन्न तह–तह भएको कपडा लगाउनुपर्छ। एउटै बाक्लो कपडाले भन्दा पातलो कपडा तह– तह भएको लगाउनुपर्छ। जसले गर्दा हावाको लेयर बस्छ र त्यसले न्यानो दिन्छ।यसलाई ओनियन स्टाइल भनिन्छ। यस्तै हिटर वा आगो बाल्दा नजिकै बस्न हुँदैन। हिटर वा आगोको २ मिटर परै बस्नुपर्छ। आगोले हाम्रो छालालाई झन् सुख्खा बनाउछ, वातावरणमा भएको आद्रतालाई पनि नष्ट गर्छ। आगो वा ग्यास हिटर बाल्दा झ्याल ढोका बन्द गर्नु हुँदैन। किनकि हिटर वा आगो बाल्दा गुम्सिएर धेरैको मृत्यु नै भएका घटनाहरु पनि छन्।
त्यसैले कोठा भित्र आगो वा हिटर बाल्दा भेन्टिलेसन खुला गर्नुपर्छ। कोठाको आद्रता मेन्टेन गर्न कोठामा पानीको भाँडा राखिएको छ वा छैन हेर्नुपर्छ र शरीर कम्तिमा एक देखि २ मिटरको दुरीमा रहनुपर्छ। जसले प्रत्यक्ष हिटले हाम्रो शरीरको छालालाई असर गर्न सक्दैन। हिटर वा तातो एसी बाल्दा ओठ सुकिरहेको हुन्छ। ओठ सुकेको छ वा फुटेको छ भने शरीरमा पानीको मात्रा कम हुँदै छ तापक्रम बढी भयो भन्ने बुझ्नुपर्छ पानी प्रशस्त पिउनुपर्छ।
जाडोमा तातोपानीले मुखधुने, नुहाउने गरिन्छ। छालाको सौन्दर्य र स्वास्थ्यका लागि तातोपानीको प्रयोग ठीक हो कि होइन? कस्तो पानी प्रयोग गर्नु उपयुक्त हुन्छ?
म छालारोग विशेषज्ञ हुँ। म मुख धुन वा नुहाउन तातोपानी प्रयोग गर्न सुझाव दिन्न। धेरै तातोपानी प्रयोग गर्नु छालाको लागि राम्रो होइन। तातोपानीमा नुहाँउदा एकछिन त आनन्द आउँछ। तर पछि छाला झन् सुख्खा हुन्छ। यसलाई पराडक्सिकल इफेक्ट भन्छ। त्यसैले सकेसम्म कोठाको तापक्रम अनुसार वा मनतातो पानीले नुहाउन मुख धुन सकिन्छ।
मनतातो पानी भनेको हातले छुँदा नपोल्ने हुनुपर्छ। जाडो महिनामा चिसो छ भनेर उम्लिएको छालामा पोल्ने खालको तातोपानीले नुहाउने बाँनी हुन्छ। यसले गर्दा छालामा रहेको आद्रतालाई नष्ट गर्छ र नुहाइसकेपछि छाला झन् सुख्खा हुन्छ। जाडोको समयमा नुहाउँदा सकेसम्म बाल्टीमा पानी हालेर मनतातो बनाएर नुन हालेर नुहाउन सकिन्छ। सिधै सावरबाट नुहाउँदा पानीको तापक्रम बढी हुनसक्छ र समस्या निम्तिन सक्छ। नुहाइसकेपछि रुमालले शरीर पुच्छ्नुअघि शरीरमा मोस्चराइजर वा तेल प्रयोग गर्नुपर्छ वा भ्यास्लिनको प्रयोग गर्नुपर्छ। यसले सुख्खापनाको कारण शरीरमा परेको चिरा पुरिन्छ।जाडोको समयमा धेरै कडा खालको साबुनको प्रयोग गर्नु हुँदैन। नरम सावरजेल वा साबुन प्रयोग गर्नुपर्छ।
जाडोको समयमा अनुहारमा चाया पोतोको समस्या बढी देखिन्छ नि! यस्तो किन हुन्छ?
जाडोको समयमा अनुहारमा सुख्खापना बढ्छ। जाडोको समयमा घाममा धेरै बस्ने, कोठामा पनि झ्यलाढोका थुनेर बस्ने, मोवाइल तथा ल्यापटप नजिक राखेर हेर्ने गर्दा सूर्य, मोबाइल, ल्यापटपको प्रकाशले अनुहारको छालालाई क्षति गरिरहेको हुन्छ। त्यही क्षति रोक्न शरीरले आफ्नै छाता निकाल्छ। त्यही छाता हो चाया पोतो। चाया पोतो रोग होइन। हामीले शरीरको केयर गर्न नजानेर शरीरले आफैंले गरेको केयर हो।
जाडोको समयमा हुने छालासम्बन्धी समस्यामा कस्तो समस्या गम्भीर वा उपचार नै गनुपर्ने अवस्था हुन्छ? कस्तो अवस्थामा सामान्य हेरचाहले पनि ठीक हुनसक्छ?
यदी छाला साधारण सुख्खापना छ भने केही समस्या हुँदैन। चिलाउने, पोल्ने, दुख्ने केही हुँदैन तर छाला सुख्खा भएको थाहा हुन्छ। छाला सुख्खा हुन थालेको थाहा पाउने वित्तिकै छालाको केयर गरियो भने थप समस्या देखिदैन। तर शरीर चिलाउने, सकसक हुने समस्या देखिन थालेपछि नङले कन्याउने, कोट्याउने गर्न थालियो भने चिरा परेको छालामा झन् चिरा पर्छ। जसले गर्दा ब्याक्टेरिया बढ्न थाल्छ र घाउ हुनथाल्छ। लुतोको किटाणुहरु पस्ने, पिलो हुने समस्या देखिन्छ। यस्तो समस्या भएमा चिकित्सकसँग परामर्श र उपचार गराउनुपर्छ।
जाडो महिनामा धेरै जस्तो युवती तथा महिलाहरुमा हातखुट्टाको औला सुन्निने समस्या धेरै देखिन्छ। यस्तो अवस्थामा हिटर ताप्दा झनै समस्या बढ्छ। यसलाई पर्नियोसिस, चिलब्लेन भनिन्छ। जाडो बढ्दै जाँदा हातखुट्टामा चिसोका कारण रक्तनलिहरु साँगुरिदै जान्छ। तर सामान्य अवस्थामा आउँदैन। विशेषगरी पानी कम खाने, डाइटिङमा बस्नेहरुमा यस्तो समस्या बढी हुन्छ। जाडोमा चूरोट रक्सी सेवन गर्ने, हर्मोनल पिल्सहरु खाने, गर्भवती, उच्च रक्तचाप, मधुमेह, थाइराइडको समस्या हुने मानिसहरुमा यस्तो समस्या बढी हुन्छ। यसैले जाडोको समयमा प्रशस्त पानी पिउनुपर्छ। डाइटिङ गर्न हुँदैन। सन्तुलन आहार खानुपर्छ र न्यानो लुगा लगाउनुपर्छ।
यदी पहिला– पहिलाको जाडोमा औला सुन्निने समस्या देखिएको थियो भने अब जाडो सुरु भएसँगै आफ्नो स्वास्थ्यको विशेष ख्याल गरेर शरीरलाई न्यानो बनाउनुपर्छ। आफूलाई न्यानो बनाउन न्यानो कपडा लगाउने र कोठा तातो बनाउनेगरी हिटर वा एसीको प्रयोग गर्न सकिन्छ।
अन्य समयमा भन्दा जाडोको समयमा कपालमा चाया पर्ने समस्या किन बढी हुन्छ?
हाम्रो शरीरको छाला जसरी पत्रपत्रले बनेको हुन्छ। कपाल पनि त्यही पत्रपत्रले कभर भएको हुन्छ। छालाजस्तै कपालको रौंको बाहिरी आवरण भनेको क्युटीकल हो। जुन पत्रपत्र अनुसार बनेको हुन्छ। जसरी जाडोमा छालाको बाहिरी आवरण सुख्खा हुन्छ। त्यसैगरी कपालको पनि सुख्खा हुन्छ र छुट्टिन्छ र पत्रहरु झर्छ। जसले गर्दा पाप्राहरु झर्छ। कपाल पनि क्युटिकल ओपन भएपछि कपाल सुख्खा भएर कपाल टुक्रिन सक्छ। जाडो महिनामा कपालको पनि विशेष स्याहार गर्नुपर्छ। शरीरमा तेल वा मोस्चराइजर लगाए जस्तै कपालमा पनि तेलको आवश्यकता पर्छ।
जाडोको समयमा क्युटीकल लेयर सुख्खा भएर कपालमा चाया पर्नसक्छ। कपाल नुहाउनुअघि तेल लगायौं भने कपाल ड्यामेज हुन पाउँदैन। कपालमा तेल लगाएर केही समयपछि मात्र नुहाउने र कन्डिस्नरको प्रयोग गरेर कपाल पखाल्ने गर्नुपर्छ। यती गर्दा कपालको बाहिरी आवरण सुरक्षित हुन्छ र कपाल सुख्खा हुन पाउँदैन र कपालमा चायाँ आउनबाट रोक्न सकिन्छ।
कपाल तातोपानीले नुहाउन हुन्छ कि हुँदैन?
कपाल पनि शरीरको तापक्रम अनुसार मनतातो पानीले नुहाउन सकिन्छ। धेरै तातोपानीले नुहाउँदा पनि कपाललाई सुख्खा बनाउछ। धेरै चिसो पानीले नुहाउँदा पनि कपाल सुख्खा हुन्छ।
जाडोको समयमा अनुहार, कपाल र छालामा कुनै समस्या हुन नदिन र सौन्दर्यका लागि यहाँको सुझाव के छ?
जाडो महिनामा सबैभन्दा पहिला घाँटीेदेखि खुट्टासम्म फुल कपडा लगाउनुपर्छ। हातलाई पनि केयर गर्नुपर्छ। जुन अंगमा कपडाले ढाकिएको हुँदैन त्यो अंगमा धेरै सुख्खा हुने भएकाले कपडाले नढाकिने अनुहार तथा हातमा मोस्चराइजर लगाइराख्नुपर्छ। पानी प्रशस्त पिउनुपर्छ। नुहाउनुभन्दा अघि र नुहाएपछि शरीरमा मोस्चराजर वा लोसन लगाउनुपर्छ। कपालमा पनि तेल लगाउनुपर्छ। तर शरीर वा कपालमा मसाज धेरै गर्नु हुँदैन। कपालमा नुहाउनुअघि र शरीरमा नुहाउनेवित्तिकै तेल लागाउनुपर्छ। सनब्लक बिहान ८ देखि बेलुका ४ बजेभित्र तीन घण्टाको फरकमा लगाउनुपर्छ। आफूलाई मनपर्ने एन्टिएजेन्ट स्कीनकेयर गर्ने क्रिम सोसन मिडियामा देखेको आधारमा होइन, विशेषज्ञ चिकित्सकले सिफारिस गरेको अवस्थामा मात्र प्रयोग गर्नुपर्छ।