अछाम- बयालपाटा अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको छ। सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरीबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो।
बिहिबार राजधानी काठमाण्डौँमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको हो। द एचआएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स – स्वास्थ्य नाम दिएको उक्त अवार्ड उपरास्ट्रपति नन्द बहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गरे।
अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै न्याय हेल्थ नेपालका महासचिव एसपी कलौनीले नेपालमा निःशुल्क र गुणस्तरिय स्वास्थ्य सेवा दिने संस्थाको अभियानलाई थप होसल्ला मिलेको बताए।
हरेक नेपाली नागरिकले गुणस्तरिय तथा नि:शुल्क सेवा पाउनु पर्ने र त्यसका लागि आफ्नो अभियान जारी रहेको भन्दै महासचिव कलौनीले अवार्ड प्रदान गर्ने कर्पोरेट क्लब, नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सबै साझेदार संघसंस्था र सेवाग्राहीहरु धन्यवाद समेत दिएका छन्।
यस्तै अवार्ड प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै अस्पतालका मेडिकल निर्देशक डा मन्दिप पाठकले यो उपलब्धी अस्पतालमा काम गर्ने सबै टिमको मेहनत र परिश्रमको उपलब्धी भएको बताएका छन्। उक्त अवार्ड उनले संस्था र अस्पतालमा आबद्ध कर्मचारीहरुमा सर्मपित गरेका छन्।
अवार्ड वितरण कार्यक्रममा न्याय हेल्थ नेपालका महासचिव एसपी कलौनी, कोषाध्यक्ष डाक्टर भास पन्त, बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा मन्दिप पाठक र बित्त बिभाग प्रमुख रामराज खकुरेलको सहभागीता रहेको थियो।
कर्पोरेट क्लब नेपालले गत वर्षदेखि देशभरका विभिन्न सामाजिक बिधा तथा क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्थाहरुलाई अवार्ड प्रदान गर्दै आईरहेको छ। स्वास्थ्य बिधा तर्फको अवार्ड छनोटका लागि सम्बन्धीत क्षेत्रबाट विज्ञहरुको मुल्यांकन समिति गठन गरिएको थियो।
स्वास्थ्य बिधातर्फ बयालपाटा अस्पतालसगै धुलिखेल अस्पताल र अन्नपूर्ण न्युरो एण्ड इलाइट अस्पताल मनोनयनमा परेका थिए। मनोनयनमा परेका अस्पतालको बारेमा थप जानकारी लिन र बुझ्न क्लबले एक छुट्टै विज्ञहरु सम्मिलित अनुसन्धान टिम समेत खटाएको थियो।