डा ओममूर्ति अनिल मुटुरोग विशेषज्ञ हुन्। उनी नेसनल कार्डियाक सेन्टर, बसुन्धरामा कार्यरत छन्। डा अनिलसँग स्वास्थ्यखबरकी अन्शु खनाल गरेको पुस्तक वार्ता:
तपाईँलाई किताब पढ्न कत्तिको मन पर्छ?
मलाई फुर्सद भएसम्म किताब पढ्न मन पर्छ। तर किताब पढ्नैका लागि भनेर चाहिँ समय छुट्याउन पाएको छैन।
कस्तो किताब बढी पढ्नुहुन्छ?
म मनोविज्ञान र सोचाइसँग सम्बन्धित किताबहरू बढी पढ्छु। मेडिकल क्षेत्रभन्दा पनि सामाजिक विषयवस्तुको बारेमा लेखिएका किताबहरू मेरो रुचिका क्षेत्र हुन्। तर मलाई राजनीति र इतिहाससँग सम्बन्धित किताबप्रति भने चासो छैन।
अहिले कुन किताब पढ्दै हुनुहुन्छ?
मैले अहिले ठ्याक्कै किताब पढ्ने समय पाइरहेको छैन। मैले पछिल्लो दसैँ-तिहारको बिदामा लुइस बी स्मेड्सको 'फरगिभ एन्ड फर्गेट' पढेको थिएँ।
तपाईँको 'म पनि डाक्टर' भन्ने किताब केही वर्षअघि प्रकाशित भएको थियो। अब नयाँ किताबको तयारीमा हुनुहुन्छ कि?
मैले सोचसँग सम्बन्धित किताब लेख्नको लागि केही ड्राफ्ट तयार पारेको छु। लगभग चार/पाँच खण्ड जति लेखी पनि सकेको थिएँ। केही समयअघि मेरो बुबाको निधन भएपछि अहिले त्यो काम रोकिएको छ। अब त्यसलाई निरन्तरता दिने सोचेको छु। त्यससँगै मैले 'मेरो सङ्घर्षहरू' नामको मैले पढ्दै गर्दादेखि डाक्टर हुँदै गर्दा र भइसकेपछिसम्मका सङ्घर्षहरू लेख्ने सोचिरहेको थिएँ।
कुन समयमा लेख्नु हुन्छ नि?
पढ्न जस्तै लेख्न पनि फुर्सद र बिदाकै समयमा।
तपाईँलाई मन पर्ने लेखक को हो?
म खलिल जिब्रानको कविता र कथाहरूको प्रशंसक हुँ।
सबैभन्दा बढी प्रभाव पारेको किताब कुन हो?
मलाई जीवनमा सबैभन्दा प्रभाव पारेको किताब भागवत गीता हो। म गीताका प्रत्येक कुराहरू जीवनमा लागू गर्ने कोसिस गर्छु। गीतामा लेखिएका विषयहरू म आफू पनि सिक्छु र अरूलाई पनि सिकाउँछु।
व्यस्त समयका बाबजुद किताब पढ्ने समय कसरी छुट्याउनुहुन्छ?
मैले पढ्नकै लागि भनेर समय छुट्याउन पाएको छैन। तर छुट्टीको समयमा चाहिँ किताब पढ्छु। जस्तै दसैँ-तिहारको बिदा या बिरामी हेर्नु नपरेको दिनमा किताब पढ्छु। नियमित रूपमा चाहिँ मेडिकलसँग सम्बन्धित किताब पढ्छु। कुनै सम्बन्धित विषयमा बोल्नु या लेख्नु पर्यो भने त्यससम्बन्धी लेख, रिसर्चहरू पढिरहेको हुन्छु।
कुन भाषाका किताब बढी पढ्नुहुन्छ?
मलाई अङ्ग्रेजी भाषाका किताबहरूले आकर्षित गर्छन्। नेपाली किताब पनि राम्रा छन् भनेर सुनेको छु तर पढ्ने समय मिलेको छैन।
तपाईँको विचारमा किताब किन पढ्ने?
किताब पढ्नाले मान्छेले नयाँ ज्ञान प्राप्त गर्न सक्छ। कुनै लेखकले लामो समय लगाएर, खोजेर, भोगेर लेखेको किताब हामी ५/७ दिनमै पढ्न सक्छौँ। ज्ञान लिने यो सजिलो माध्यम हो। किताब पढ्नाले मानिसको जीवनमा धेरै परिवर्तन ल्याउन सक्छ। कसैको हजार दिनको अनुभव, ज्ञान किताब पढेर एक दिनमा सिक्न सकिन्छ।