विराटनगर- प्रदेश १ को स्वास्थ्य मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)की निर्मला लिम्बु नियुक्त भएकी छिन्। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीहरुको जिम्मेवारी तोक्नेक्रममा लिम्बुलाई स्वास्थ्यको जिम्मेवारी दिएका हुन्।
शुक्रबार मन्त्रिपरिषद्को बैठकले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गरेको थियो। त्यसलगत्तै कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन्। तिलकुमार मेन्याङ्बो लिम्बुले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय र बुद्धीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालय पाएका छन्। दुर्गाप्रसाद चापागाईँले सडक पूर्वाधार तथा शहरी विकास र जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन्।
राप्रपाका भक्ति सिटौलाले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्कीले आफैंसँग राखेका छन्।