काठमाडौं- जेठको दोस्रो साता श्रीमतीको प्रसुतिका लागि परोपकार प्रसूति गृह थापाथली आएका रामेछापका रामचन्द्र कार्की ‘कहिले बिरामीलाई निको होला र घर फर्कन पाउला’ को मनस्थितिमा छन्। कुरुवाका रुपमा उनको रात सिमेन्टको चिसो भूईं, लामखुट्टेको टोकाई र बागमतीको सहनै नसक्ने गन्धका बीच बित्छ। प्रसूति गृहको टिकट काउन्टरको चिसो भुईंमा सुतिरहेको अवस्थामा भेटिएका उनले भने, ‘आठवर्ष अघि पहिलो बच्चा जन्माउदा पनि यस्तै बिजोक भएको थियो, झन् अहिले त बागमतीको गन्धको ‘सुविधा’ पनि थपिएछ’।
पर्साकी माया चौधरीले बाबुलाई उपचार गर्न काठमाडौं ल्याउनुपर्ने भयो। उनीहरू पुगे वीर अस्पताल। त्यहाँ कुरुवाका रूपमा बिताउँदा उनलाई ठुलै यातना दिएजस्तो भइरहेको छ। बाबुको उपचारको चिन्ता त छँदैंछ, त्यसमाथि आफू पनि बिरामी भइएला भन्ने चिन्ताले उनलाई सताउने गरेको छ। बिरामीको बेडमुनीको चिसो भुईंमा सुत्दा लामखुट्टेको समस्या त छँदैंछ, असुरक्षा पनि महसुस गर्ने गरेकी छिन्। त्यसमाथि शौचालय त गइसक्नु हुँदैंन, पानीको समस्या उस्तै छ।
सिमेन्टको चिसो भुईंमा सुत्नुपर्ने बाध्यता, शौचालयको दूरावस्था, गर्मी समयमा लामखुट्टेको टोकाई र अस्वस्थकर खाना। नेपालका अधिकांश अस्पतालमा बिरामी कुरुवाले भोग्नुपर्ने समस्या हुन्। जब रात पर्छ, बिरामी कुरुवामध्ये पहिला कसले अस्पतालका खाली ठाउँ कब्जा गर्ने भन्ने होड चल्न थाल्छ। विशेषगरी वार्डअगाडिका स्थान राती ८ बजेपछि बिरामी कुरुवाका ओछ्यानले भरिन थाल्छन्। तर, राउण्डमा आउने डाक्टर, नर्स तथा अस्पताल कर्मचारीका आँखा कहिल्यै पनि कुरुवामाथि पर्दैन। अस्पताल प्रशासन बिरामी कुरुवाका समस्याप्रति गम्भीर भएका पाइदैंनन्।
नेपालका अस्पतालमा बिरामी राखेर उपचार गर्ने पद्दतिको विकास भएको एकसय वर्षभन्दा बढी भइसकेको छ। तर, बिरामी कुरुवाका दुःख भने जहाँको तही रहेको छ। सरकारी, निजी तथा सामुदायिक अस्पतालले समेत बिरामी कुरुवाका लागि सुविधा दिन चासो देखाउने गरेको पाइदैंन। अस्पताल प्रशासनले बिरामी कुरुवालाई व्यवस्थित गर्नुको सट्टा अस्पतालमा रहेको खाली ठाउँ, हिड्ने बाटोलाई नै रात बिताउने ठाउँको रूपमा देखाइदिने गरेका छन।
नेपालका नाम चलेका अस्पतालमा समेत कुरुवा बिरामीको बेडमुनी सुत्ने गर्छन। एघार दिनदेखि वीर अस्पतालमा बुबाको उपचार गराईरहेका रामप्रसाद सोडारी भन्छन् ‘कतिदिन सुत्ने बिरामीको बेडमुनि ?’ विरामीकैलागि प्रयाप्त सुविधा दिननसकेका अस्पतालका प्रशासकहरु कुरुवाकाबारेमा सोच्नसमेत भ्याउँदैनन्। मुलुककै ठूलो अस्पताल वीरमा कुरुवाले भोग्ने सास्ती कहाली लाग्दो छ। रात कटाउँन हम्मेहम्मे पर्ने मात्रै होइन् अस्पताल वारपर सफा खान र विहान राम्रोगरी शौचालय प्रयोग गर्न पनि कठिन छ वीरमा। वीर अस्पतालका निर्देशक बुलन्द थापा भन्छन् ‘अस्पतालले बिरामीलाई मात्र सेवा दिने हो अरुका लागि केही सुविधा दिने व्यवस्था छैन। बिरामीका आफन्तले आफैंले व्यवस्था गर्नुपर्छ।’ उपत्यकाबाहिरबाट आउने बिरामीका आफन्तले चाहिँ पछाडिको टहरामा बस्ने, पकाउने र खाने व्यवस्था गरेको उनले बताए।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० ले बिरामी कुरुवाका लागि आवास गृहको कल्पना गरेको छ। तर, व्यवहारमा भने अहिलेसम्म यसतर्फ कसैले चासो दिएको पाइदैंन, न सरकारी निकायले, न त निजी अस्पतालले। बिरामी कुरुवाका पक्षमा आवाज उठाउन उपभोक्तावादी संघसंस्थाको त ध्यान नै गएको छैन।
भुईंमा सुत्दा किराहरू कान तथा आँखामा पर्ने डरका कारण निन्द्रा नै नलाग्ने कुरुवा रामप्रसाद सोडारीको अनुभव छ। दिन त जसोतसो बिरामी, आफन्त तथा साथीभाईसँग कुरा गरेर बित्छ। रात परेपछि कहाँ सुत्ने र खाने भन्ने चिन्ताले सताउँछ उनलाई। अस्पतालले बनाउने क्याविनमा समेत उपयुक्त सुविधा हुँदैन। एउटा सामान्य सोफा राखेर क्याबिन भन्दै रकम असुल्ने प्रवृत्ति निजी अस्पतालले अबलम्बन गर्ने गरेका छन्।
बिरामीका कुरुवाले ‘छाँया नर्स’ को काम गरिरहेका हुन्छन्। रातभर बिरामीको हेरचाह गर्नु, बिरामीलाई समस्या परे नर्स स्टेशनमा खबर गर्नु, औषधि खुवाउनु र आवश्यक परे स्लाइनसमेत परिवर्तन गर्नेजस्ता काम गरिरहेका हुन्छन्। तर, अस्पतालहरूले तिनै कुरुवाका समस्यालाई सम्बोधन गर्न चासो देखाएका छैनन्। एकातिर विरामीको निको हुने नहुने तनाब अर्कोतिर निन्द्रा खानादेखि दिसापिसाबसमेत समयमा गर्न नपाउँदा थुपै कुरुवा आफै विरामी पर्ने अवस्थामा पुग्छन्।

अस्पतालमा पानी, शौचालय, बाथरुमको समस्या भोग्नुपरेको अनुभव छ, पर्साबाट बाबुको उपचारका लागि आएकी माया चौधरीको। ‘डाक्टर, नर्सले राती दश बजेपछि मात्र भुईंमा ओछ्यान लगाएर सुत्नु भन्छन्’, चौधरीले भनिन्, ‘यत्रो अस्पतालमा कुरुवालाई सुत्ने ठाउँ, सरसफाई तथा अन्य सुविधाका बारे कसैले केही भनेका छैनन्, खै सुविधा भएर हो वा नभएर हो’।
दश दिनदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आइसीसीयु कक्षमा आमाको उपचार गराईरहेका पुस्कर कार्की अस्पतालले बिरामी कुरुवाका लागि कुनै पनि सुविधा नदिएकोप्रति आक्रोशित देखिए। ‘हामीले यो ठाउँ (भुर्इं देखाउँदै) छाड्ने भनेको सफा गर्दा मात्र हो। अन्य बेलामा हामीले ओछ्याउने म्याट यहीँ हुन्छ।’ उनले भने, ‘कमसेकम कुरुवाका लागि केही त सुविधा हुनुपर्ने हो, यो वार्ड आफैंमा संवेदनशिल छ, झन् यहाँको फोहोरले हामी आफैं बिरामी हुने स्थिति छ।’ रातको समयमा बिरामी कुरुवा पनि कहिलेकाही आवश्यकताभन्दा धेरै आउने गरेका छन्। शिक्षण अस्पतालमा कहिलेकाही त एकसय जनाभन्दा बढी त बिरामी कुरुवा मात्रै हुने गरेको पाइएको छ।
शिक्षण अस्पतालका निमित्त निर्देशक इश्वर लोहनी भन्छन्, ‘हामीले कुरुवा घर बनाउन सरकार र केही संघसंस्थालाई अनुरोध त गरेका हौं तर आजसम्म सफल हुन सकिएको छैन। केही वर्ष पछि त यहाँ भवन बनाउने स्थानको समेत अभाव होला जस्तो छ ?’
अवस्था यस्तोसम्म हुन्छ कि बिहानीको समयमा त वार्डअगाडिका खाली ठाउँमा मानिस हिड्नसमेत नसकिने हुन्छ। धादिङबाट आमाको आँखाको उपचार गर्न शिक्षण अस्पताल आएका पूर्णमान मगरले २२ रात बाहिर बाटोमा राखिएको फलामे कुर्सीमा नै रात बिताएका छन। ‘गाउँबाट आउँदा केही सामान नलिई आएँ। यही केही ओढ्ने ओछ्याउने सामान किनेर बसेको छु’ मगरले भने।
अनिदो रुपमा रात बिताउनुपर्ने त छँदैंछ, सिमेन्टको चिसो भुर्इंमा सुत्नुपर्ने भएकाले ढाड दुख्नु अधिकांश कुरुवाका साझा समस्या हुन्। त्यसमाथि मौसमअनुसारको समस्या उत्तिकै हुन्छ। गर्मीका बेला वार्डमा पर्याप्त पंखा छैन। बाहिर सुत्दा लामखुट्टेले टोकेर हैरान बनाउछ। सरकारद्वारा सञ्चालित गंगालाल राष्ट्रिय हृदय केन्द्रबाहेक अन्य अस्पतालमा बिरामी कुरुवा घरको व्यवस्था छैन। तर यो अस्पतालमा कुरुवा घरमा बस्न कोही मान्दैनन्, सबैजना आईसीयु, आईसीसीयुनजिकै झुम्मिन्छन्।
रामचन्द्र कार्की (प्रसूति गृहका कुरुवा), रामेछाप -
प्रसूति गृहको टिकट काउन्टर राती खाली हुन्छ। त्यहीँ नै हामीहरू रात बिताउछौं। सिमेन्टको चिसो भुईंमा बस्नुपरेको छ। म आठ वर्ष पहिले आउँदा पनि यस्तै थियो। अहिले पनि त्यस्तै छ। केही सुबिधा छैन। वाथरुममा पानी छैन। अहिले आउँदा एउटा सुविधा थपिएको पाएँ, त्यो हो बागमतीको गन्ध।
पुर्णराज बलामी (प्रसूति गृहका कुरुवा) दक्षिणकाली -
दुई दिन भयो भुईंमा सुतेको। अन्त सुत्ने ठाउँ कहीँ छैन। बिरामीलाई केही भयो भने बोलाउछन कि भनेर यहाँ सुतेको। यो त साह्रै नहुने ठाउँ रहेछ। लामखुट्टेले टोकेर राती सुत्न पनि दिदैन। ठुलो पानी प¥यो भने यहाँबाट (सुतेको ठाउँ) पनि कहाँ जाने हो थाहा छैन।
रमेश अधिकारी ( सिभिल अस्पतालका कुरुवा), प्यूठान -
चार दिन भयो यहाँ आएको। नयाँ अस्पताल भएर होला अन्तको तुलनामा सफा नै छ। तर, कुरुवाका लागि व्यवस्थित भएको पाइन। आफैँले सामान ल्याएर भुईमा नै सुत्नुपर्छ। बिरामीको बेडकै वरपर सुत्ने हो। अन्य सेवा राम्रै लागेको छ।
डा.मनबहादुर केसी, निर्देशक गंगालाल हृदयकेन्द्र बाँसबारी
मृगेन्द्र सम्झना चिकित्सा गुठी र अस्पताल मिलेर एक करोडको लगानीमा कुरुवा घर बनाएका छौं। अस्पताल भर्ना भएका बिरामीका कुरुवालाई पुग्ने बेड बनाएका छौ। तर त्यहाँ बिरामी कुरुवा बस्न मान्दैनन्। खै किन हो। हामीले सुविधा पनि दिएका छौ। शुल्क पनि २५ रुपैया प्रति रात छ। सेवा हुँदा पनि किन नमानेका हुन् हामीले बुझ्न सकेका छैनौ। केही कुरुवाले धाराको टुटी लैजाने गरेका छन्।
डा. पुष्पा चौधरी, निर्देशक, प्रसूति गृह, थापाथली
४१५ बेड भएको अस्पतालमा सबैलाई पुग्ने कुरुवा घर बनाउन पनि गाह्रो छ। तर, अब बनाउने योजनामा छौं। पहिले त हामीले कुरुवालाई बस्न नै दिदैनथ्यौं। चार–पाँच वर्ष भयो, कुरुवा बस्न दिने गरिएको छ। पहिले दिउँसो मात्र आउथे, राती हाम्रा नर्सहरुले नै हेर्ने गर्दथे। अहिले भिजिटरका कारण पनि समस्या भएको छ। अहिले हामीले भिजिटरलाई बस्ने मात्र ठाउँ दिन सकेका छौं। भिजिटर कै कारण बिरामीलाई संक्रमण हुने खतरा पनि छ। हामीले भिजिटरलाई कन्ट्रोल गर्न नै गाह्रो छ। आईसीयूमा त कुरुवालाई बस्नेसमेत व्यवस्था छैन।
डा बुलुन्द थापा, निर्देशक बीर अस्पताल
कुरुवाका लागि त्यस्तो केही व्यवस्था छैन। बाहिरी जिल्लाबाट आउने बिरामीका लागि पछाडि टहरामा बस्ने, पकाउने व्यवस्था गरिएको छ। चार सय २६ बेड रहेको अस्पतालमा कसरी व्यवस्थापन गर्नु ? केही बेडमा भने व्यवस्था छ।