देशकै एक मात्र केन्द्रीय बाल अस्पताल हो, कान्ति बाल अस्पताल। सन् १९६३ सालमा ५० शय्याबाट सेवा सुरु गरेको अस्पताल हाल ३३० शय्यामा सञ्चालित छ। देशकै एक मात्र केन्द्रीय बाल अस्पताल भएकाले पनि ७७ वटै जिल्लाबाट बिरामीहरु उपचार गर्न कान्तिमा पुग्छन्। तर कान्ति बाल अस्पतालले भने बिरामीको चाप र समय अनुसार आफ्नो क्षमता बढाउन सकेको छैन। कान्ति बाल अस्पताल किन सीमित क्षमतामा सञ्चालन भइरहेको हो? क्षमता विस्तार गर्न के गरिदैछ? लगायत विषयमा हामीले अस्पतालका निर्देशक प्राडा युवानिधि बसौलासँग स्वास्थ्यखबरकी कमला गुरुङले कुराकानी गरेकी छिन्। प्रस्तुत छ उनीसँग गरिएको कुराकानी:
कान्ति बाल अस्पतालमा दैनिक कति बिरामी सेवा लिन आउँछन्?
दैनिक ७ सयदेखि ८ सय बिरामी ओपिडीमा आउँछन्। इमरजेन्सीमा १ सयदेखि डेढ सय जना आउँछन्। यो अस्पतालको ओपिडीमा सेवा लिन आउने बिरामीहरुको भीड अहिले पनि उत्तिकै हुन्छ। बिरामीको भीड कम गर्न
यहाँहरुले के गर्नु भएको छ?
गत फागुनदेखि हामीले अनलाइन टिकटको व्यवस्था गरेका छौँ। घरमै बसेर बिरामीले टिकट बुक गरेर उपचार गराउन सक्छन्। दिनमा १५ देखि २० जनाले अनलाइनबाट टिकट काट्छन्। अनलाइनको काउन्टर पनि छुट्टै छ। टिकट काउन्टर पनि हामीले बढाएका छौँ। बिरामीको चाप बढेका कारण दुई वटा थप गरेर ६ वटा टिकट काउन्टर बनाएका छौँ। तर धेरै बिरामीहरुले प्रविधि अपनाउँदैनन्। टिकट काटेर आउने बिरामी निकै कम छन्। अनलाइन टिककको व्यवस्था भएपनि बिरामीहरु लाइनमै बस्छन्।
ओपिडीमा मात्र नभई शल्यक्रियाका लागि पनि पालो पर्खनु पर्ने बाध्यता बिरामीको छ। कान्तिमा शल्यक्रिया गर्न बिरामीले कति समयसम्म पर्खन्छन् ?
यो नेपालकै एक मात्र केन्द्रीय बाल अस्पताल हो। बाल शल्यक्रिया गर्नुपर्ने बिरामीहरु ७७ वटै जिल्लाबाट यहाँ आउँछन्। काठमाडौं उपत्यका बाहिर बाल शल्यचिकित्सा उपचार गर्ने सुविधा खासै छैन। बाल शल्यचिकित्सक पनि छैनन्। सरकारी दरबन्दीको बाल शल्यचिकित्सक मात्र पाँच जना छन्। ती सबै चिकित्सकहरु यही कान्तिमा हुनु हुन्छ। सानादेखि विभिन्न जटिल खालका शल्यक्रिया कान्तिमा हुन्छ। दुई वर्ष जति हामी कोभिडको महामारीमा थियौ। त्यो महामारीको बेलामा धेरै शल्यक्रिया भएन। कोभिडकै बिरामी उपचार गर्नमा केन्द्रित भयौँ र निकै थोरै संख्यामा मात्र शल्यक्रिया भए। इमरजेन्सी शल्यक्रिया मात्र भयो। पालो कुर्ने शल्यक्रियाहरु लम्बिदै गए। यसले अहिलेसम्म पनि असर गरिरहेको छ। ६ महिनादेखि ९ महिनासम्म पालो दिएर पठाउने गरिएको छ। जुन असर गर्दैन। कुरेर पनि शल्यक्रिया गर्न सकिनेलाई मात्र पालो दिने गरिएको छ। यो युनिट अनुसार फरक छ। कसैको छिटो र कसैको ढिलो पालो आउन सक्छ। कुनैको एक वर्षसम्म पनि पुग्ने स्थिति छ।
शल्यक्रियाको अवधि केस हेरेर हुन्छ। कुनै केस २/३ घण्टा लाग्छ। कुनै शल्यक्रिया आधा घण्टा वा एक घण्टामा पनि सकिन्छ। छोटो समय लाग्ने माइनर शल्यक्रिया दैनिक ८/१० वटा हुन्छन्। लामो समय लाग्ने मेजर शल्यक्रियाहरु २/३ वटा हुन्छन्। ६ दिन नै ओटी चल्छ। तीन वटा अपरेशन थिएटर छन्। दुई वटा मेजर र एउटा माइनर शल्यक्रिया गर्ने थिएटर हुन्। २७ वर्ष अघि बनेको भवन हो यो। त्यो बेलाको जनसंख्या अनुसार यो ओटी ठिकै थियो होला तर अहिले साँघुरो छ। ठाउँको अभाव छ।
त्यसो भए अपरेशन थियटरको संख्या बढाउन र सेवा विस्तार गर्न के गर्दै हुनु हुन्छ ?
यहाँ पुरानो भौतिक संरचना, पुराना उपकरणहरु छ। दिनभरी सेवा दिऊँ भनेपनि ठाउँ अभाव हुन्छ। यो समस्या समाधान गर्न हामीले तीन वटा मोडुलर ओटी बनाउनुपर्छ भनेर लागि रहेका छौँ। टेण्डरको प्रक्रियामा छ। मूल्यांकन हुँदैछ। भयो भने यो आर्थिक वर्षमा तीन वटा मोडुलर ओटी थप हुन्छ।
अपरेशन थिएटरसँगै अन्य के के समस्या छन्, जसका कारण बिरामीले शल्यक्रियाका लागि लामो समय पर्खनुपर्छ र, यहाँहरुलाई अन्य के के सेवा दिन पनि समस्या छन् ?
जनशक्तिको अभावको अभाव छ। काठमाडौं बाहिर शल्यक्रिया नहुँदा बिरामीहरु यही आउँछन्। नर्सिङ तथा विशेषज्ञ चिकित्सक जनशक्तिको अभाव छ। हामीले करारमा लिएर राख्नु परेको छ। दोस्रो हो, ठाउँको अभाव। हामीले चाहेर पनि शल्यक्रिया बढाउन सक्दैनौ। लामो समयसम्म शल्यक्रिया गर्नुपर्ने बिरामीहरु पनि हुन्छन्। यहाँ संभव नभएको केस अरुमा हुँदैन।
भौतिक संरचनाको अवस्था यथावतै छन्। पुराना उपकरणहरु छन्। ठाउँको अभाव भइहाल्यो। बजेटको अभाव छ। नयाँ नयाँ प्रविधिहरु आएका छन्। ल्याप्रोस्कोपी सर्जरी सेवा सुरु गर्न सकेका छैनौ। अपरेशन गरेर राख्ने आइसीयूको पनि अभाव छ। बच्चाहरुको शल्यक्रिया गरेपछि आइसीयुमै राख्नुपर्छ। प्राय पोस्ट अप वार्डमा राख्दैनौ। हर्निया, हाइड्रोशिल जस्ता माइनर शल्यक्रियापछि २/४ घण्टा राख्नु फरक कुरा हो। तर मेजर शल्यक्रिया गरेका बिरामीलाई आइसीयूको आवश्यकता पर्दछ। यही आइसीयूको व्यवस्थापन गर्न गाह्रो छ। दिनमा १० वटा शल्यक्रिया भयो १० वटै आइसीयू बेड चाहियो। बच्चालाई सामान्य वार्डमा राखिदैन।
हाल अस्पतालमा कुल शय्या संख्या कति छन्?
कुल आइसीयू शय्या ५२ छन्। जसमध्ये ४५ शय्या मात्र सञ्चालनमा छन्। सर्जिकल आइसीयूका लागि १० शय्या मात्र छुट्याइएको छ। पिआइसीयू, एनआइसीयू वार्डको लागि छन्। कान्तिमा सबै गरेर कुल ३३० शय्या सञ्चालनमा छन्। सरकारबाट स्वीकृत १५० शय्या मात्र हो। बाँकी शय्या विकास समितिबाट सञ्चालन गरेका हौँ। हामीले बिना ओएनएम सर्भे गरी शय्या सञ्चालन गरेका हौँ।
बिरामीको चाप अनुसार यहाँहरुलाई कति शय्याको आवश्यकता पर्ने हो? शय्याको संख्या थप्न यहाँहरु के गर्दै हुनु हुन्छ?
बिरामी र सेवा बढेपछि १५० शय्याले मात्र चाप धान्दैन। हामीले ओएनएम सर्भे गरेर ५ सय शय्यासम्म हुनुपर्ने भनेर स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालय पठाएका छौँ। ५ सय शय्याको अस्पतालको लागि एक हजारदेखि १२ कर्मचारी हुनुपर्छ। हालसम्म मन्त्रालयबाट स्वीकृति भइसकेको छैन। हजार शय्याको बाल अस्पताल बनाउँदैछौ। डिपिआर भइसकेको छ। हामीसँग ९५ रोपनी जग्गा छ। बजेट आयो भने आगामी आर्थिक वर्षदेखि निर्माणको काम सुरु हुन्छ।
शल्यक्रियाको लागि बढी कुन रोगका बिरामीहरु कान्तिमा आउँछन्?
हाइड्रोशिल, हर्निया, जन्मजात दिसाघर नभएको बिरामीहरु आउँछन्। जन्मजात दिसाघर नभएका बिरामीको चरण चरणमा शल्यक्रिया गर्नुपर्ने हुन्छ। कम्तीमा चार पाँच चरणमा शल्यक्रिया गर्नुपर्छ। कहिले काँही आद्राहरु बाहिर भएको, बटारिएको, पित्तथैली, मिगौैला र क्यान्सर सम्बन्धी रोगका बिरामीहरुको शल्यक्रिया हुन्छ। इमरजेन्सी र जीवन जोगाउनुपर्ने शल्यक्रिया तत्काल हुन्छ। एपेण्डीसाइटिस, आद्रा फुटेर, प्वाल परेर आउने बिरामीहरुको तत्काल शल्यक्रिया गरिन्छ। तर हाइड्रोसिल, हर्निया, पित्तथैली, मिर्गौला पत्थरी लगायत केही समय पर्खदा बिरामीलाई असर गर्दैन भने उनीहरुलाई पालो दिएर पठाउँछौ। कान्तिमा प्रमुख विभाग भनेकै मेडिसिन हो। मेडिसिन अन्तर्गत ६ वटा युनिट छन्। सर्जरी, प्याथोलोजी, नर्सिङ, रेडियोलोजी र बाल मनोचिकित्सा विभाग पनि सञ्चालित छन्।
कान्तिमा कुल जनशक्ति कति छन्?
नेपाल सरकारको २६४ जना छन्। जसमध्ये १७५ जना सरकारी दरबन्दीको मात्र हो। सबै गरेर करिब ६ सय जना जनशक्ति छन्। डेढ सय जना सरसफाईकर्मी र सुरक्षाकर्मी हुन्। बाँकी सबै स्वास्थ्यकर्मी हुन्।
कसले के गरिदियो भने यहाँहरुलाई सेवा सञ्चालन र विस्तार गर्न सहज हुन्छ?
नयाँ भवन बन्नुपर्यो। ठाउँ फराकिलो हुन आवश्यक छ। दक्ष जनशक्ति उपलब्ध हुनुपर्छ। हामीसँग नर्सिङ जनशक्तिको अभाव छ। आइसीयूमा एउटा बिरामी बराबर एक जना नर्स चाहिन्छ। ५२ शय्यामा ५२ जना नर्स चाहिन्छ। त्यो हिसाबले चार सिफ्ट चलाउँदा २०८ जना ५२ शय्याका लागि चाहियो। हाम्रोमा जम्मा करिब २ सय जना नर्सिङ स्टाफले अस्पताल धानिरहेका छन्।
चिकित्सकहरुको पदपूर्ति हुनुपर्छ। मेडिकल अधिकृतको दरबन्दी १९ जनाको खाली छ। आउनै चाहदैनन्। दुर्गममा जाँदा नम्बर पाउँछन्, तर यहाँ नम्बर पाउँदैनन्। यहाँ थप सुविधा केही छैन। यहाँका चिकित्सक छोडेर वीर, त्रिवि शिक्षण, शहिद गंगालाल अस्पताल जान खोज्छन्। कर्मचारीहरु धेरै छिटो छिटो छोडेर जाने समस्या छ। बच्चाको काम संवेदनशील भएको पनि गाह्रो छ। त्यसैले कर्मचारीको स्थायीत्व हुनुपर्छ। नयाँ उपकरणहरु उपलब्ध हुनुपर्छ। ठाउँ फराकिलो हुनुपर्छ र भवन बनेर सेवा सञ्चालन हुनुपर्छ।