बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्ये एक हो, पिसाबको संक्रमण। सामान्यतया बालबालिकामा हुने पिसाबको संक्रमण भन्नाले मुत्रनलीको संक्रमण भन्ने बुझिन्छ। यसलाई औषधि विज्ञानको भाषामा ‘युरिनरी ट्र्याक इन्फेक्सन (यूटीआई)’ भन्ने गरिएको छ।
बालबालिकामा देखिने पिसाबको संक्रमण आम समस्याभित्र पर्छ। कान्ति बाल अस्पतालको बहिरंग विभाग (ओपीडी) मा आउने बिरामीमध्ये करिब २० प्रतिशत बालबालिकामा पिसाब सम्बन्धी समस्या देखिएकै हुन्छ। पिसाबको संक्रमण मुलतः दुई किसिमको हुन्छ। पहिलो संक्रमण सामान्य र दोस्रो जटिल। १०२ डिग्री बढी ज्वरो आएका बालबालिका, जसले धेरै बान्ता पनि गरिरहेका हुन्छन्, राम्रोसँग खाना खान नसकेका र संक्रमणले मिर्गौलामा असर गरेको खण्डमा तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ।
यीमध्ये कुनै पनि समस्या नदेखिएका बालबालिकालाई घरमै राखेर औषधि–उपचार गर्न सकिन्छ। बालबालिकालाई विभिन्न कारणले पिसाबको संक्रमण हुन सक्छ। जसमध्ये सरसफाइको कमी मुख्य हो। पिसाब फेर्ने ठाउँ वरिपरि सफा नहुँदा ब्याक्टेरियाका कारण संक्रमण फैलिन सक्छ।
पिसाब संक्रमणको समस्या साना बालबालिकामा बढी हुन्छ। बालबालिकाको उमेर जति सानो भयो, संक्रमण हुने सम्भावना पनि त्यति नै हुन्छ। एक वर्ष उमेर समूहका बालबालिकामध्ये बालकमा यो समस्या बढी देखिन्छ। एक वर्षसम्मका बालकमा पिसाब फेर्ने लिङ्गमा ‘कन्जाइनेथल युरेथ्रो भल्भ’ हुन्छ। त्यहाँ पिसाब जम्मा भइरहन्छ।
बाहिर जान पाउँदैन। यसले संक्रमणको जोखिम बढाउने गर्छ। एक वर्षमाथिका बालबालिकामध्ये बालिकामा जोखिमको मात्रा बढी हुन्छ। बालिकाको दिसा र पिसाब फेर्ने ठाउँको दुरी छोटो हुन्छ। दिसा गरेपछि राम्रोसँग सफा नहुँदा दिसामा भएको किटाणु यौनाङ्गमा प्रवेश गर्ने जोखिम उच्च हुन्छ। जसले संक्रमण बढाउँछ।
बाालबालिका जति सानो भए, उनीहरूमा रोगसँग लड्ने क्षमता निकै कम हुन्छ। केही बालबालिकामा पिसाब संक्रमणको समस्या दोहोरिरहन्छ। पटक–पटक यो समस्याले उनीहरूलाई सताइरहेको हुन्छ। त्यस्ता बालबालिकामा जन्मजात मुत्रनलीमा खराबी देखिन्छ।
जन्मजात मुत्रनली खराब हुने बालबालिकाको पिसाब खुलेर हुँदैन। यी समस्या भएका बालबालिका पनि संक्रमणको उच्च जोखिममा हुन्छन्। दिसा राम्रोसँग नहुने, कब्जियतको समस्या हुने बालबालिकामा पनि पिसाब संक्रमणको समस्या उच्च देखिन्छ।
वयस्क र बालबालिकामा हुने पिसाब संक्रमण फरक छ। साना बालबालिकामा मिर्गौला राम्रोसँग विकास भइसकेको हुँदैन। उनीहरूमा एक पटक पिसाब संक्रमण भएपछि मिर्गौलाको टिस्यु र अन्य भागमा असर गर्न सक्छ। यसले मिर्गौलामा दाग बस्न सक्छ। मिर्गौलामा एक पटक दाग बसे जीवनभरलाई समस्या हुन सक्छ। मिर्गौलामा दाग बस्नेहरूमा पछि गएर जटिल खालका मिर्गौला सम्बन्धी रोग लागेर डायलाइसिस गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ।
वयस्कमा हुने पिसाब संक्रमण उपचार गरेर निको पार्न सकिन्छ। तर बालबालिकामा हुने पिसाबको संक्रमणलाई हेलचेक्र्यार्इं गर्न मिल्दैन। तुरुन्तै उपचार गरिहाल्नुपर्छ।
उमेर अनुसार फरक लक्षण
पिसाबमा हुने संक्रमणको लक्षण बालबालिकाको उमेर अनुसार फरक–फरक हुन्छ। एक महिनासम्मको नवजात शिशुमा एकदम रुने, दूध राम्रोसँग खान नसक्ने, खाए पनि बान्ता गर्ने, पेट फुल्ने जस्ता लक्षण देखिन्छन्। एक महिनाभन्दा मुनिको बच्चालाई लामो समय जण्डिस रह्यो भने त्यो यसको लक्षण हुन सक्छ।
एक महिनाभन्दा बढी उमेर समूहका बालबालिकामा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, बच्चाको तौल राम्रोसँग नबढ्ने लक्षणहरू देखापर्ने गरेको छ। बोल्ने उमेरका बालबालिकामा छिटो–छिटो पिसाब लाग्ने, पिसाब फेर्दा दुख्ने, पोल्ने समस्या हुन्छ। र, ती बालबालिकाले आफ्नो समस्या बताउन नसक्ने पनि हुन सक्छन्।
हिजोआज अविभावकहरू धेरै ‘स्मार्ट’ भइसकेका छन्। उनीहरू आफ्नो बच्चामा हुने पिसाब संक्रमणको बारेमा ज्ञान राख्छन्। तर उपचारको विधिलाई राम्रोसँग नपछ्याउँदा कहिलेकाहीँ अविभावकको अल्पज्ञानले जोखिम निम्त्याउन सक्छ।
पिसाबको संक्रमण (यूटीआई) को निदानका लागि युरिन कल्चर गर्ने पर्छ। अविभावकहरू आफ्नो बच्चालाई ज्वरो आयो भने पिसाब जाँच गराएर एन्टिबायोटिक सुरु त गर्छन्। तर पूरा खान दिँदैनन्। एक–दुई दिनमा प्रगति हुनेवित्तिकै औषधि खुवाउन छोडिदिन्छन्। यसले गर्दा संक्रमणको अवस्था र त्यसले गरेको क्षतिको पूर्ण जानकारी कसैलाई हुँदैन। कालान्तरमा यसले ठूलो समस्या निम्त्याउन पनि सक्छ। यूटीआई थाहा पाउन युरिन कल्चर गर्नै पर्छ। यो ल्याब टेस्ट हो।
लामो समय डायपर लगाउनु हानिकारक
सुतेको बेला बालबालिकाहरूले ओछ्यानमा दिसा–पिसाब नगरोस् भनेर डायपर प्रयोग गर्ने चलन छ। केटाकेटीलाई लगाइदिने यस्ता डायपरको प्रयोग सही तरिकाले नभएको खण्डमा संक्रमण निम्त्याउन सक्छ।
अहिले शहरिया अविभावकले आफ्ना बालबच्चालाई चौबीसै घण्टा डायपर लगाइदिने चलन बढ्दो छ। यसले बच्चाको यौनांग गुम्सिने गर्छ। जुन पिसाब संक्रमणको प्रमुख कारण बन्न सक्छ। बालबालिकाको हेरविचारका लागि घरमा अविभावक हुँदा दिउँसो सकेसम्म डायपर प्रयोग नगरौं। रातिको समयमा डायपर प्रयोग गरेको खण्डमा दिउँसो नगर्नु राम्रो हो।
खानपान उत्तिकै जिम्मेवार
हिजोआज ओपीडीमा आउने अधिकांश बालबालिकाको पिसाब संक्रमणको मुल समस्या कब्जियत बनेको छ। कब्जियत भएका बालबालिकालाई राम्रोसँग दिसा–पिसाब हुँदैन। दिसा गर्ने भाग पछाडि र पिसाब फेर्ने अंग अगाडि हुन्छ। यसले गर्दा दिसा जमेर बस्यो भने पिसाब फेर्ने भागमा बल पुग्छ। पिसाब जम्मा हुने, खुलेर नहुने समस्या बल्झिन्छ। जसले संक्रमण निम्त्याउँछ।
वास्तवमा कब्जियतको समस्या खानपानसँग सम्बन्धित छ। त्यसैले यो समस्याको हलका लागि अविभावकले बालबालिकाको खानामा ध्यान दिनु अति आवश्यक छ। समस्या समाधानका लागि पानी प्रशस्त पिउने, हरियो सागपात, फलफूलको मात्रा सन्तुलित गर्नु पर्छ। मैदाजन्य खानेकुरा खान दिनुहुन्न।
पिसाब संक्रमण हुन नदिन के गर्ने?
बालबालिकालाई ज्वरो आउने बित्तिकै क्लिनिकमा गएर औषधि खुवाउनु हुँदैन। किनभने, ज्वरोको एउटा कारण पिसाब संक्रमण पनि हुन सक्छ भन्ने कुरामा अविभावकले हेक्का राख्नु जरुरी छ। चिकित्सकको सल्लाहअनुसार पिसाबको जाँच गराउनुपर्छ। जाँचमा संक्रमण देखिएको अवस्थामा रोगअनुसार औषधि र उपचार सुरु गर्न सकिन्छ।
एक पटक पिसाब संक्रमण भइसकेका बालबालिकालाई पुनः संक्रमण हुने जोखिम ३० प्रतिशतले बढेको हुन्छ। त्यसैले पुनः संक्रमण हुन नदिन प्रशस्त पानी पिउने, पिसाब नरोक्ने, कब्जियत हुन नदिने, सन्तुलित खाना दिने, पिसाब फेरिसकेपछि योनीलाई राम्रोसँग सफा गर्ने, दैनिक भित्री वस्त्र परिवर्तन गर्नु पर्छ। सकेसम्म भित्री वस्त्र प्रयोग गर्दा कटनको कपडा प्रयोग गर्नु उपयुक्त हुन्छ।
बालबालिकाको दिसा सफा गर्दा धेरै अविभावकले गल्ती गरिरहेका हुन्छन्। अधिकांश अविभावकले पछाडिबाट अगाडि दिसा सफा गर्छन्। यसो गर्दा दिसाहरू पिसाब फेर्ने भागमा जान्छ र संक्रमण हुने सम्भावना बढ्छ। त्यसैले अगाडिबाट पछाडितर्फ दिसा सफा गर्नु उपयुक्त हुन्छ। बालकहरूको पनि पिसाब फेरिसकेपछि लिंगको छाला माथि तानेर सफा गर्नु उत्तम विकल्प हो।
पिसाबको जाँच गर्ने क्रममा स्वास्थ्यकर्मी पनि उत्तिकै चनाखो हुनु जरुरी छ। पिसाबको जाँच गर्दा नमुना संकलनका लागि ध्यान पु¥याउनु आवश्यक छ। साबुन पानीले एक पटक पिसाब फेर्ने भाग सफा गर्नुपर्छ। ट्वाइलेट ट्रेन बच्चा भए एक पटक पिसाब फेरेपछि बीचको पिसाब संकलन गर्नु आवश्यक छ। संकलन गरिएको पिसाब एक घण्टाभित्र प्रयोगशालामा पु¥याउनुपर्छ। संकलन गरिएको पिसाब समयमै प्रयोगशालामा पु¥याउन सकिएन भने किटाणुको विकास हुन सक्छ।
बालबालिकामा लगातार पिसाबको संक्रमण भइरहे बाल मिर्गौला रोग सम्बन्धी विशेषज्ञलाई देखाउनु उपयुक्त हुन्छ। बिरामीको अवस्थाअनुसार विशेषज्ञले दिएको सुझावका आधारमा उपचार सुरु गरे पिसाब संक्रमण रोक्न सकिन्छ।
(कान्ति बाल अस्पतालमा कार्यरत डा बानियाँ बाल मिर्गौला रोग विशेषज्ञ हुन्।)