काठमाडौं– वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा पक्राउ परेका डा सुजन ढकालविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरी वृत्त बालाजुले डा ढकाललाई आत्महत्या दुरुत्साहनको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
गत वैशाख १६ गते नर्स अनुमा श्रेष्ठ डा सुजनको बोहराटारस्थित घरमा गएर आत्महत्या गरेकी थिइन्। प्रहरीले झुण्डिएको अवस्थामा नर्स अनुमा मृत फेला पारेको थियो।
उनको साथबाट प्रहरीले सुसाइड नोटसमेत बरामद गरेको थियो। उक्त सुसाइड नोटमा आत्महत्या गर्नुको कारणबारे आफ्ना प्रेमी बताउँदै डा ढकाल र उनको परिवारको नाम मुछेपछि प्रहरीले डा ढकाललाई पक्राउ गरेको थियो। यही घटनामा प्रतिवादी बनाइएका डा ढकालका बाबु मुरलीप्रसाद ढकाल भने फरार छन्। उनलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको छ।
डा ढकालले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै बयान दिएका छन्। डा ढकालले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। नर्स अनुमा आफैं डिप्रेशनमा गएर आत्महत्या गरेको दाबी डा ढकालको छ।
ढकालविरुद्ध जिल्ला अदालतमा काठमाडौंमा मंगलबार थुनछेक बहस हुँदैछ। बहस सकिएपछि पुर्पक्षमा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ।
यस्तो छ डा सुजनको बयान
मैले नोबेल मेडिकल कलेज बिराटनगरबाट एमबीबीएस अध्ययन गरी २०७३ सालमा सरकारी स्थायी नियुक्ती भएँ। चैत महिनामा सिन्धुली अस्पतालमा दरबन्दी भइ म सो अस्पतालमा कार्यरत रहेको बेलामा अनुमा श्रेष्ठ (हाल मृत) समेत सोही अस्पतालमा नर्सको रुपमा कामकाज गर्नको लागि आउनु भएको हुँदा उनीसँग मेरो चिनजान भएको हो।
अनुमा सो अस्पतालमा नर्सिङ इन्चार्जको रुपमा काम गर्नु हुन्थ्यो। म मेडिकल अधिकृतको रुपमा काम गर्दै आएको थिएँ। यस्तैमा हामीहरुको २०७४ साल कात्तिकदेखि कुराकानी गर्दै जाने क्रममा मिल्ने साथी भएका थियौं। २०७५ सालको मंसिर या पुस तिर मेरो खोपासी प्रथामिक स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकमा सरुवा भयो। म सो अस्पतालमा आई कामकाज गर्न थालें।
अनुमा सिन्धुलीकै अस्पतालमा कार्यरत रहेकी थिइन्। त्यसपछि हामीहरु दुबै जनाको फोन तथा सामाजिक सञ्जालमा कुराकानी हुँदै आएको थियो। म काभ्रेपलाञ्चोकमा ३÷४ महिना जति बसेको बेला अनुमा कामको सिलसिलामा आएको बेला २ चोटी भेट भएको थियो। त्यसपछि मेरो एमडीमा नाम निक्लेको हुँदा म पढाई गर्न र काम गर्नको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आई पढाईसँगै आफ्नो कामकाज गर्न थाले।
त्यसपछि अनुमासमेत पढाईको सिलसिलामा महाराजगन्जको त्रिवि शिक्षण अस्पताल मातहत रहेको महाराजगन्ज नर्सिङ्ग क्याम्पस काठमाडौंमा आएकी थिइन्। त्यसपछि पनि हामीहरुको भेटघाट तथा कुराकानी हुँदै आएको थियो। अनुमाले मलाई मन पराउने खालका कुराहरु गर्दै आएकी थिइन्। उनलाई मैले त्यसतर्फ सोचेको छैन। म तिमीलाई एउटा असल साथीको रुपमा हेर्छु भन्ने गरेको थिएँ।
यस्तैमा मलाई निज अनुमाले बेला बेलामा घुम्न जाउँ भनेकी हुँदा म र अनुमा कहिले काँही काठमाडांै, भक्तपुर, ललितपुर तिर घुम्नको लागि जाने गरेका थियौँ। यसरी हामीहरु उक्त शिक्षण अस्पतालमा कार्यरत रहँदा सुरुमा म घरबाट नै अस्पताल जाने आउने गरेकोमा पछि सोही अस्पतालको पिजी क्वाटरमा बस्नुपर्ने भएकोले उक्त क्वाटरमा बस्दा कहिलेकाँही अनुमा मेरो क्वाटरमा भेट गर्न आउने गरेकी थिइन्।
२०७८ सालको करिब असार साउन तिर अनुमाले पढाई सकेर वीर अस्पतालमा पदस्थापन भएपछि सोह्रखुटेतिर कोठा गरी बस्ने गरेको बताएकी थिइन्। सो क्रममा सुरुमा उनी र मेरो कम मात्रामा कुराकानी हुने गरेको र केही समयपछि निज अनुमाले मलाई भेट्न भनि पटक–पटक अस्पतालमा आउने तथा पटक–पटक फोन तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने साथै असामान्य प्रकृतिको व्यवहार देखाउने गरेकी थिइन्।
उक्त समयमा मैले एमडीको अन्तिम परीक्षाको तयारी गरिरहेकोले यो बेला अलि कम भेटघाट गरौं, मैले पनि धेरै मेहनत गर्नुपर्नेछ साथै हामी साथीभन्दा अगाडि सम्बन्ध नबढाऔं भन्दा अनुमाले ‘मैले मेरो घर परिवार पनि हेर्नुपर्छ, घर परिवारमा समस्या छ। मेरो भविष्यको पनि चिन्ता छ। यो सबै कारणले मलाई मानसिक तनाव छ। मैले मनोरोग विशेषज्ञको सल्लाह लिने गरेको छु। डाक्टरले अस्पतालमा भर्ना भई औषधी सेवन गर्न सल्लाह दिए पनि औषधी समेत नियमित सेवन गर्ने गरेको छैन, यस बेलामा हामीहरु भेटघाट कुराकानी गरौं’ भन्ने गरेकी थिइन्।
घर परिवार लगायत कोही कसैसँग बोल्न मन नलाग्ने कुरा उनी गर्थिन्। यसै क्रममा हामीहरुको सामान्य कुराकानी चलिरहेको अवस्थामा मिति २०७९ वैशाख महिनाको शुरुतिर अनुमा श्रेष्ठले बिहानै मलाई फोन गरी क्लोनाट ४० ट्याब्लेट खाएँ, मलाई अस्पताल लैजानु भनि फोन काटिन्। तुरुन्तै पुनः फोन गरी मैले अर्को एक औषधि ओप्कोम्पाउन्ड खाँए भनि बताएकी थिइन्।
मैले हतार–हतार हामीहरु दुवै जनाको साथी श्रेष्का श्रेष्ठलाई फोन गरी सो कुरा बताई श्रेष्का र म उनको कोठामा गई बिरामी अवस्थामा फेला पारी तत्कालै त्रिवि शिक्षण अस्पतालमा ल्याई उपचार गरायौं। सो कुराको बारेमा उनको बुबा ममीलाई जानकारी गराएका थियौं। सो पश्चात उनका बुबा र ममी उक्त अस्पतालमा आएका थिए। उनीहरु अस्पतालमा आए पश्चात मैले अनुमा श्रेष्ठको असामान्य किसिमको व्यवहारको सम्बन्धमा बुबा ममीलाई समेत जानकारी गराएको थिएँ।
अनुमा श्रेष्ठ करिब २ हप्ता अस्पतालमा भर्ना भई उपचार पश्चात डिस्चार्ज भई आफ्नो घरमा गएकी थिइन्। करिब २० दिन जति चितवन गई बस्ने क्रममा उनीसँग मेरो कहिलेँकाही मात्र कुराकानी हुने गरेको थियो। अनुमा चितवनबाट काठमाडौं आएपछि पुनः त्यस्तै किसिमको असामान्य व्यवहार देखाइरहने गर्थिन्।
सो समयमा मेरो अन्तिम परीक्षा चलिरहेको हुँदा केही समय हामीहरुको सम्पर्क तथा कुराकानी भएको थिएन। परीक्षा सके पश्चात मेरो पदस्थापन कान्ति बाल अस्पतालमा भएको थियो। सो पश्चात हामीहरुको कुराकानी तथा भेटघाट कहिलेकाँही मात्र हुने गरेकोमा २०७९ भदौतिर उनले आफ्नो आमा र साथी श्रेष्का श्रेष्ठलाई मेरो घरमा लिएर आइन्। उनका आमाले मसँग अनुमा श्रेष्ठको विवाहको प्रस्ताव गरेकी थिइन्। सो कुरामा मैले हामीहरुको यो सम्बन्धमा पहिला कुराकानी भइसकेको र हामीहरु साथी मात्र रहने कुरा बताएको थिएँ। बुवा मुरली प्रसाद ढकालले समेत सो कुरालाई यस विषयमा छोराले नै निर्णय गर्ला यहाँ आएर होहल्ला नगर्नुस भनी बताउनु भएको थियो।
यसो भन्दा अनुमाको आमाले हामीहरुलाई तथानाम गाली गलौज गरी थुकेकी थिइन्। अनुमा श्रेष्ठले मलाई यससँग विहे गर्नु नै छैन र यसको अरुसँग विहे हुन पनि दिन्न भनी उनीहरु त्यहाँबाट गएका थिए। तत्पश्चात हामीहरुको विवाद भएपछि मैले अनुमा श्रेष्ठसँग फोन सम्पर्क भेटघाट बन्द गरेको थिएँ। करिब कात्तिक अन्तिम तिर अनुमा श्रेष्ठको आमाले मलाई फोन गरी गल्ती छोरीको रहेको र मानसिक स्थिती स्थिर नभएको अवस्थामा यो मंसिरमा तपाईले विहे नगर्नु भनी अनुरोध गरेकोमा मैले सो कुरालाई स्वीकार गरी बस्दै आएको थिएँ।
२०७९ चैतको दोस्रो हप्तातिर मेरो कान्ति अस्पतालबाट भद्रपुर प्रादेशिक अस्पतालमा काज भएकाले सो स्थानमा गई कामकाज गर्नुका साथै ओम साई पाथिभरा अस्पतालमा समेत पार्ट टाइम काम गर्दै आएको थिएँ। यस्तैमा वारदात हुनुभन्दा करिब २ दिन अगाडि मिति गत वैशाख १४ गते अस्पतालमा काम सकेर करिब रातिको साढे ८ बजेतिर क्वाटरमा जान लाग्दा सो अस्पतालको अप्रेशन थियटर अगाडि कुरुवा बस्ने ठाउँमा अनुमा श्रेष्ठसँग अचानक भेट भयो। मैले उनलाई किन, कसरी आएको भनी सोध्दा उनले मलाई खोज्न कान्ति अस्पताल गएको र नभेटेपछि स्टाफसँग बुझ्दा यहाँ सरुवा भएको भनी बताएकोले यहाँ आएको भनी बताएकी थिइन्। मलाई केहीबेर तपाई किन आएको काठमाडौंमा परिवार छ, घर छ भनि सोधेकी थिइन्। मैले काठमाडौंमा भन्दा झापामा सेवा सुविधा र अन्य अस्पताल समेतको काम पाएको हुँदा यहाँ आएको भनी कुराकानी गरी तिमी भोली पहिलो फलाईटबाट काठमाडौंमा फर्क भनी म आफ्नो क्वाटरमा गएँ।
राति कहाँ बास बसिन् सो कुरा मलाई थाहा भएन। त्यसपछि भोलिपल्ट शुक्रबारको दिन अनुमा मैले काम गर्ने भद्रपुर प्रादेशिक अस्पतालको अपरेशन थिएटर बाहिर बसिरहेको र मलाई खोजी गरी रहेको जानकारी मेरो स्टाफ मार्फत पाएको हुँदा अन्दाजी साढे १२ बजेतिर मैले उनलाई भेटी तिमी किन काठमाडौं नगएको राति कहाँ बस्यांै ? भनी सोध्दा उनले राति ओम साई पाथिभरा अस्पतालको बिरामी कुर्ने ठाउँमा सुति बसेको र जाने बेलामा तपाईंलाई भेटेर जान्छु भनि बसेको हुँ भनिन्।
मैले यसरी नहिँड, तिम्रो घरमा जाउँ भनि केही बेर कुराकानी गरे कुराकानी गर्ने क्रममा तिमी घर परिवारसँग गएर किन नबसेको, घर परिवारलाई भेट, घर जाउँ भनी भन्दा निजले मलाई आमाले गाली गर्ने, कुटपिट गर्ने, तलाई पोई नभएको हैन, त्यस घरमा गएर मर भन्ने गरेको भनी बताएकी थिइन्।
त्यो राति म ११ बजेतिर क्वाटरमा फर्किएको थिए। उनी कता गइन थाहा भएन। वैशाख १६ गते दिउँसो ४ बजेतिर मलाई मेरो भाई सलिन ढकालले फोन गरी तपाईको कोठामा एक जना महिला मानिस झुण्डीएको छ भनि बताएका थिए। त्यसपछि मैले भाईलाई बुबालाई जानकारी गराउनु भनि भनेको थिए। केही बेरपछि मैले बुबालाई फोन गरी को मान्छे हो भनी सोध्दा बुबाले त्यही साउन भदौमा आमासँग आएर गाली गलौज गर्ने केटी रहेछ भन्नु भएको थियो।
त्यसपछि मलाई प्रहरीले फोन गरी अनुमा श्रेष्ठको वास्तविक नामथर, उमेर, वतन र उनको आफन्तको सम्र्पक नम्बर समेतको बारेमा सोधपुछ गरेको हुँदा मैले अनुमा श्रेष्ठको बारेमा बताइएको हुँ। अनुमाको साथी श्रेष्का श्रेष्ठलाई अनुमाको आफन्तको नम्बर थाहा छ भनी प्रहरीलाई श्रेष्का श्रेष्ठको सम्पर्क नम्बर दिएको थिए। त्यसपछि मेरो आफन्तले मलाई प्रहरीले खोजी रहेको छ भनि बताएका हुँदा म आफैं मिति वैशाख १९ गते प्रहरीको सम्र्पकमा आएकोमा प्रहरीले मलाई पकाउ गरेको हो। यसमा मैले चलाउने गरेको ९८५१३२५... नम्बरको सिम कार्ड लगाएको मोबाईल यसै बयानसाथ पेश गरेको छु।
बरामद भई आएका औषधिहरु र अन्य सामग्रीहरु मलाई देखाउँदा देखी हेरी चिने। उक्त वारदातको समयमा म झापा जिल्लाको भद्रपुरमा नै थिए। उक्त लेडिज ब्याग निज अनुमा श्रेष्ठले नै लगेको हुनुपर्छ। लेडिज ब्याग भित्र रहेका क्लोनाज ०.५ लेखिएको ५ वटा पत्तामा ६५ वटा ट्याब्लेट लत लाग्ने खालको लट्ठ बनाउने औषधि हो।
भिजोमा ५ एमएल लेखिएको औषधि बट्टा बान १ लत लाग्ने खालको लठ्ठ बनाउने औषधी हो। रोक्सोर ५० एमजी लेखिएको बट्टा थान २ मांसपेशी नचलाउनको लागि प्रयोग हुने औषधी हो। सेट्र्रालाइन लेखिएको ५ वटा ट्याब्लेट भएको औषधि डिप्रेसन भएको मान्छेले खाने औषधी हो। उक्त सुसाईट नोटहरु को कसले लेखेको हो मलाई थाहा भएन। वारदातको समयमा म झापा जिल्लाको भद्रपुरमा रहेको हुँदा मेरो कोठाबाट बरामद भई आएको हो, होईन ? सनाखत गर्न सक्दिन। बरामद भई आएका औषधिहरु र अन्य सामग्रीहरु मलाई देखाउँदा देखी हेरी चिने। उक्त वारदातको समयमा म झापा जिल्लाको भद्रपुरमा नै थिएँ।