नेपाल बहुधार्मिक र बहुजाति बसोबास गर्ने देश भएका कारण यहाँ हरेक महिना केही न केही चाडपर्व परिनै रहन्छन्। दशैं–तिहार ब्राह्मणहरुले महान चाडको रुपमा मनाए जस्तै अन्य जातिका पनि विभिन्न चाडपर्व हुने गर्छन्। विभिन्न जातिले आआफ्नो संस्कार र परम्पराअनुसार चाडपर्व मनाउने र त्यही अनुसारका परिकार ग्रहण गर्ने प्रचलन छ।
यस्तै परिकारमध्ये एक हो घोंगी। यो परिकार थारु जातिमा निकै प्रचलित छ। घोंगी विशेष गरी थारु समुदायले माघी पर्वका अवसरमा खाने गर्छन्। घोंगी स्वास्थ्यका दृष्टिले पनि निकै उपयोगी हुने चिकित्सकहरु बताउँछन्। यसमा प्रचुर मात्रामा प्रोटिन र क्याल्सियम हुने चिकित्सकरुको भनाइ छ।
शंखेकिरा प्रजातिको घोंगी पकाउन र खान भने छुट्टै सिपको आवश्यकता पर्छ। पश्चिमका थारु समुदायमा माघमा मात्र नभएर हरेक पर्वमा यो परिकार बनाइन्छ। तर पूर्वी तराईका थारु समुदायमा भने यो तिहारको दिन मात्र पकाइन्छ। थारूहरुको परिकारमा बैरिक चटनी अनिवार्य जस्तै हुन्छ। बैरिक चटनी जंगली बयरबाट तयार पारिएको हुन्छ। नुनिलो, अमिलो, गुलियो र पिरोको मात्रा अलिक बढी हुने भएकाले बैरिक चटनी निकै स्वादिलो मानिन्छ। ढिक्री अर्थात् घोंगीसँग खाइने परिकारमध्ये बैरिक चटनी विशेष हो।
घरैया मद अर्थात् अन्डी तथा लोकल चामलबाट तयार पारिने हुँदा चिसो मौसममा शरीरको लागि फाइदा हुने मान्यता रहेको छ। पक्वालाई विशेष सितनको रूपमा खाने गरिन्छ। सुँगुरको मासुलाई उसिनेर खुर्सानी र मसला राखी तयार गरिएको पक्वा ((सेकुवा) निकै लोकप्रिय पकवान मानिन्छ। यहाँ चर्चा गर्न लागिएको परिकार थारु समुदायमा निकै लोकप्रिय रहेको खरिया र बरियाको हो, जुन थारु समुदायमा मात्र नभई अन्य समुदायले पनि उत्तिकै रुचाएका छन्। थारु समुदायमा ब्रत बस्दा नभई नहुने परिकारमध्ये खरिया र बरिया दुवै पर्छन्।
कसरी बन्छ खरिया बरिया?
खरिया बनाउन आवश्यक सामग्री: लसुन २ पोटी, सुकेको खुर्सानी ६ पिस, नुन स्वादअनुसार, अदुवा सानो टुक्रा, चामलको पिठो एक कप, चनाको पिठो (बेसन) आधा या मासको पिठो आधा कप, गहुँको आँटा आधा कप, बेसार एक चम्चा, जिरा–धनियाँको धुलो एक र आधा चम्चा, खुर्सानीको धुलो आधा चम्चा, पानी आवश्यकताअनुसार, कर्कलोको पात १० देखि १२ पिस, तोरीको तेल ४० एमएल, तोरीको गेडा एक चम्चा।
खरिया बनाउने विधि: पिठोमा दिइएका सम्पूर्ण मसला र अदुवा लसुन हाली केही गिलो हुने गरी मुछ्ने। मुछेको मिक्चरलाई कर्कलोको पातमा मज्जाले लेपने गर्ने र विस्तारै रोल बनाउने। सबै रोललाई इस्टिमरको जालीमा मिलाएर १२ देखि १५ मिनेट बफ्याउने। पाकेपछि चिस्याउन रेस्ट गराउने। परम्परागत रुपमा थारु समुदायले भने लामो र खाल्टो खालको ढक्कीमा राखेर अर्को ढक्कीले छोपेर कसौडीमाथि राखी बफ्याउने प्रचलन अहिले पनि कायम छ।
बफ्याएको खरिया चिसो हुनासाथ पातलो स्लाइसमा काटेर फ्राई या डामेर तातो–तातो रुपमा जंगली बयरको अचारससँग खाने चलन छ। यो परिकार देख्नमा निकै आकर्षक, खानमा स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुन्छ।
बरिया बनाउन आवश्यक सामग्री: अन्डीको पिठो (स्थानीय अनादी चामलको पिठो) आधा किलो, चिनी या सख्खर ३ चम्चा या आफ्नो इच्छाअनुसार गुलियो थप्न पनि सकिन्छ, तेल तार्नको लागि आवश्यकताअनुसार, पानी आवश्यकताअनुसार।
बरिया बनाउने विधि: पिठोमा चिनी या सख्खर र घ्यु मिसाएर एकछिन माड्ने। धेरै बेर माड्नु जरुरी पर्दैन र एकछिन छोपेर रेस्ट गराउने। बाक्लो तावा या ताप्केमा तेल तताएर मुछेको पिठोको सानोसानो पेडा बनाई हातैले फिजाएर बेल्दै तातो तेलमा तार्ने र दुवैतर्फ फर्काएर पकाउने। धेरै चिल्लो खान नहुनेको हकमा तावामा डामेर पनि खान सकिन्छ। धेरै चिनी खान नमिल्नेले गुलियो कम गर्ने या सुगर फ्री पनि बनाउन सकिन्छ। यसरी तयार भएको बरिया चटनी या कुनै तरकारीसँग खाजाको रुपमा खान सकिन्छ। बरिया थारु समुदायको मौलिक र शुद्ध परिकार हो, जुन विभिन्न पूजाआजामा पनि प्रयोग गर्ने प्रचलन छ।