छालामा हुने प्रायः समस्या लामो समयसम्म रहिरहने हुन्छ। समस्या सुरु हुने बित्तिकै एक हप्तालाई औषधि चलायो अनि निको भयो भन्ने खाले हुँदैन। छिटो निको हुने केही केही मात्रै छन्। धेरैजसो भने कालान्तरसम्म जाने रोगहरू छन्। कुनैकुनै समस्या भने एक समयमा धेरै देखिने र एउटा समय कटेपछि घट्दै जाने र फेरि बढ्ने प्रकारको पनि हुन्छ। जस्तैः सोराइसिस गर्मी महिनामा उपचार नै नगरे पनि घट्दै जाने र जाडो लाग्ने बित्तिकै बढ्दै जाने खालको हुन्छ।
छालासम्बन्धी समस्याले मृत्यु हुने बिरामीको संख्या कम छ। त्यस कारण पनि हाम्रो समाजमा यस्ता समस्यालाई लुकाएर राख्ने गरेको पाइन्छ। दुख्दैन, घोच्दैन, पोल्दैन भने त्यस्ता समस्यालाई लुकाएर नै राखेको पाइन्छ। छालाको धेरैजसो रोगलाई समाजमा अझै कलंकको दृष्टिले हेर्ने गरिन्छ। जस्तैः दुबीका बिरामीलाई समाजले हेर्ने दृष्टिकोण फरक छ। सर्छ कि भनेर बिरामीको आसपास पर्नै नखोज्ने हुन्छ। सोराइसिसका बिरामीहरू पनि भर्ना गरेर राखेको छ भने नर्सिङ स्टाफहरूले समेत डर्माको लागि सामग्रीहरू छुट्टै राखेको देखिन्छ। सबै जनालाई छालासम्बन्धी रोग सर्छ भन्ने खाले मानसिकता छ। जबकी, छालासम्बन्धी समस्याहरू छुने बित्तिकै खासै सर्ने भन्ने हुँदैन।
हामीले छालासम्बन्धी समस्याले बिरामीको जीवनलाई कति असर गरेको छ भनेर समेत हेर्ने गर्छौँ। त्यसलाई डीएलक्यूआई (डर्माटोलोजी लाइफ क्वालिटी इन्डेक्स) भनिन्छ। जसमा डाक्टरले बिरामीलाई सोध्ने १० वटा प्रश्न हुन्छन्। जसमा बिरामीको दैनिक जीवनमा, जागिरमा या अन्य कस्तो असर गरेको छ भनेर हेर्ने गर्छौँ। त्यो इन्डेक्समा हामीले कति हदसम्म असर गरेको छ या केही असर नै गरेको छैन कि भनेर हेर्छौँ। प्रायः यस्ता समस्याले बिरामीलाई मानसिक रूपमा नै असर गरिरहेको हुन्छ।
कोही बिरामीलाई मधुमेह या थाइरोइडको समस्या हुन सक्छ। त्यो हेर्ने बित्तिकै देखिँदैन। तर छालासम्बन्धी समस्या जस्तैः दुबी नै हेरौँ, बिरामीलाई त्यसले दुख्दैन, पोल्दैन तर झट्ट हेर्दा देखिन्छ। जसका कारण बिरामीलाई अवसरहरूबाट नै वञ्चित गराइन्छ। जसले बिरामीको मानसिक स्वास्थ्यलाई असर पारिहाल्छ।
आजकल छालासम्बन्धी समस्याको कलंकलाई कम गर्न विश्व भिटिलिगो दिवस, विश्व एक्जिमा दिवस लगायतका दिवस मनाउन थालिएको छ। तर पनि हाम्रो समाजमा मानिसको सोचाइ भने उस्तै छ। त्यसले बिरामीको मानसिक स्वास्थ्यमा असर परिरहेको हुन्छ। उदाहरणको लागि एक्जिमालाई लिन सकिन्छ। एक्जिमा भएको बिरामीले पकाएको खानेकुरा खान नमान्ने, त्यस्तो हातले पकाएको पनि के खाने भन्ने लगायतका व्यवहार हुने गरेको पाइन्छ। त्यसले बिरामीको मानसिक स्वास्थ्यमा असर गरिरहेको हुन्छ।
अर्को आम उदाहरण हो डन्डीफोर। प्रायः किशोरावस्थामा यो समस्या देखिन्छ। डन्डीफोरले खासमा केही असर गरेको हुँदैन, दुख्ने, पोल्ने हुँदैन। तर पनि किशोर–किशोरीहरू उपचारको लागि अस्पताल आउने गर्छन्। डन्डीफोरले उनीहरूको आत्मबल कमजोर भइरहेको हुन सक्छ। शारीरिक रूपमा केही फरक नपारे पनि त्यसले मानसिक रूपमा भने कमजोर बनाइरहेको हुन्छ। त्यस कारण पनि हरेक दिन १० जना बिरामीमध्ये ५ जना बिरामी डन्डीफोरकै हुन्छन्। किशोरकिशोरीहरु आज समस्या देखियो, उपचार प्रकियामा गइसकेपछि भोलि नै निको हुनुपर्छ भन्ने खाले हुन्छन्। तर भन्ने बित्तिकै समस्या निको हुँदैन। त्यसले उनीहरूलाई तनाव बढ्छ। केही अध्ययनहरूले डन्डीफोरको समस्या भएका किशोरकिशोरीहरुमा एन्जाइटी, डिप्रेसन लगायतका समस्याको जोखिम उच्च हुने देखाएका छन्।
छालाको समस्या भन्ने बित्तिकै सर्ने भन्ने हुँदैन। उनीहरुलाई सर्ने वा नसर्ने के हो बुझाउनु जरुरी छ। केही अवस्थाहरू छन्, जुन सर्छन् तर सबै सर्दैनन्। जस्तैः कुष्ठरोग, सोराइसिस, दुबी, डन्डीफोर, एक्जिमा छोएर सर्दैन। गर्मी महिनामा देखिने दाद लुगाबाट सर्न सक्छ। त्यस्तो अवस्थामा सकेसम्म आफूले प्रयोग गर्ने निजी सामानहरू टाबेल या अन्य लुगाहरू सेयर गर्नु हुँदैन। कोही मान्छेको शरीरमा छालासम्बन्धी कुनै समस्या देखेपछि उसलाई खिसीट्युरी गर्ने, हेप्ने या दुव्र्यवहार गर्नुभन्दा सचेतना अपनाउनु जरुरी छ।
पछिल्लो समय छालासम्बन्धी रोगको विषयमा चेतना बढ्दै गइरहेको पाइन्छ। गएको पाँच÷छ वर्षअघिसम्म रोगलाई लुकाएर राखिन्थ्यो। तर अचेल केही हदसम्म उपचारको लागि अस्पताल आइपुग्ने गरेको पाइन्छ। हाम्रो समाजमा कतिपय समस्या निको नै हुँदैन भन्ने गरिन्छ। तर अहिले नयाँनयाँ प्रविधि आइसकेको छ। सुरुवाती चरणमै उपचार गर्दा दुबी लगायतका समस्या पनि निको पार्न सकिन्छ। सकेसम्म छालामा समस्या देखिने बित्तिकै छाला रोग विशेषज्ञसँग भेट्नु उचित हुन्छ।
यस्ता समस्या निको नै नहुने रहेछन् भने पनि बिरामीले स्वीकार्नुको विकल्प छैन। रोगका कारण गर्दा म पछाडि परेँ भनेर सोच्नु हुँदैन। मानसिक रूपमा आफूलाई कमजोर बनाउनु हुँदैन।
छाला हाम्रो शरीरको बाहिर देखिने सबैभन्दा ठूलो अंग हो। शरीरको अन्य अंगमा रोग छ भने शारीरिक रूपमा कमजोर बनाउँछ। छालासम्बन्धी समस्याले बिरामीलाई मानसिक रूपमा कमजोर बनाइरहेको हुन्छ। आजकल धेरै बिरामीले जाँच नगराई फार्मेसीबाट औषधि लिएर प्रयोग गरेको देखिन्छ, जुन गलत हो। सही समयमा सही उपचार भयो भने बिरामीको सहज उपचार हुन्छ र खर्च पनि कम लाग्छ। त्यस कारण रोग लाग्ने बित्तिकै सही उपचारको बाटोमा जानु राम्रो हुन्छ। अहिले नेपाल भरि नै छाला रोग विशेषज्ञहरू हुनुहुन्छ। त्यसैले साथीभाइको लहलहैमा लागेर, अनलाइनमा देखेको भरमा जो पाए त्यहीको पछि नलगी सही ठाउँमा गएर उपचार गर्नु बुद्धिमानी हुनेछ।
(डा यादव छाला रोग तथा यौन रोग विशेषज्ञ हुन्।)