बैतडी- पछिल्लो समयमा बैतडीमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । सर्पदंशका बिरामीहरुको उपचारमा सहज पहुँच नहुँदा उनीहरुले अकालमै ज्यान गुमाउनु परेको हो।
सर्पले टोकेमा जतिसक्दो चाँडो अस्पतालमा पुर्याउनुपर्ने भएपनि वैद्यको भरपर्दा समेत सर्पदंशका बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था रही आएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
'जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्ने भएपनि त्यसो नहुँदा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ,' जिल्ला अस्पताल बैतडीका प्रमुख डा दिपेश श्रेष्ठले भने।
बैतडीमा गएको वैशाखयता सर्पको टोकाइबाट तीनजनाको मृत्यु भइसकेको छ। प्रहरी र सञ्चारमाध्यममा आएको यो तथ्यांक भएपनि सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या यो भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
तीनै जनाको अस्पताल नपुर्याइ मृत्यु भएको देखिएको छ। बैतडीको महाकाली किनार क्षेत्रमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढी देखिएको छ।
पञ्चेश्वर गाउँपालिकामा मात्रै गएको ४ महिनामा सर्पको टोकाइबाट दुईजनाको मृत्यु भइसकेको छ। गएको वैशाखमा पञ्चेश्वर २ की २५ वर्षीया निर्मला लुहारको सर्पको टोकाइबाट मृत्यु भएको थियो। वैद्यले झारफुक गर्दागर्दै उनको मृत्यु भएको थियो।
मंगलबारमात्रै पञ्चेश्वर ४ की १६ वर्षीया अनिता चन्दको मृत्यु भएको छ। सर्पले टोकेपछि उनले पनि उपचार नपाइकनै मृत्युवरण गरिन्।
गएको जेठमा सिगास ७ का ५५ वर्षीय करी दमाइको पनि सर्पको टोकाइबाट मृत्यु भएको थियो। उनले पनि उपचार नपाउँदा ज्यान गुमाएका थिए। 'सर्पले टोकीहालेमा जतिसक्दो चाँडो अस्पातलमा पुर्याउन पनि सिगासबाट १२ घण्टा भन्दा बढी समय लाग्छ त्यसपछि पुगाउन कसरी संम्भव हुन्छ.' सिगासका स्वास्थ्यकर्मी जनकसिह धामीले भने,‘अस्पताल डडेल्धुरा वा बैतडी लाग्नु पर्छ १२ घण्टा अगाडी कुनै अस्पताल पुर्याउन सकिदैन। प्रयास गरेर विगतमा बाटामै मृत्यु भएका उदाहरण छन्।’
१० स्थानीय तह रहेको बैतडीमा पाटन, मेलौली, खोड्पे र पुचौडी लगायतका पायक पर्ने ठाउँहरुमा सर्पदंश उपचार केन्द्र हुनु पर्ने पाटन ८ का वडा अध्यक्ष हरिष विष्टको माग छ ।
पछिल्लो समयमा जिल्ला अस्पतालमा सर्पदंशका बिरामीहरुको उपचारको व्यवस्था रहेको भएपनि सर्पले टोकेकाहरुलाई अस्पताल पुर्याउन सकिने अवस्था कमै हुन्छ। भागौलीक दुरी तथा अस्पताल नलगी वैद्य देखाउने चलनले पनि समस्या रहेको छ।
जिल्ला अस्पताल बैतडीमा सर्पले टोकेका बिरामीहरुको उपचारका लागि एन्टीस्नेक भेनम र भेन्टीलेटरको सुविधा रहेको छ। यसका साथै तालिमप्राप्त दक्ष जनशक्ति समेत रहेको छ। तर सर्पले टोकेका बिरामीहरुलाई अस्पतालमा पुर्याउने चलन छैन। झारफुककै भरपर्दा सर्पदंशका बिरामीहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको डा श्रेष्ठले बताए। जिल्ला अस्पतालमा अहिलेसम्म सर्पदंशका एकजना बिरामीको उपचार गरिएको छ ।
बैतडीको हकमा जिल्ला अस्पताल बैतडी र नजिकको डडेल्धुरा अस्पतालमा सर्पदंशका बिरामीको उपचार हुने भएकाले सर्पले टोकीहालेमा जतिसक्दो चाँडो अस्पताल पुर्याउन डा श्रेष्ठले सुझाव दिए। सर्पदंशका बिरामीलाई समयमै अस्पताल पुर्याउन सके उनीहरुको ज्यान जोगाउन सकिने उनले बताए।