काठमाडौं- गाँजा खाएर लठ्ठिएका युवा हुन् वा मदिरा सेवनले थर्थर कामेका व्यक्ति। सिरिन्ज, ट्याबलेट, एम्पुल, ह्वाइट, ब्राउन सुगर होस् वा अन्य कुनै प्रकारका ड्रग्स। यस्ता अनेकौं प्रकारका लागुऔषधको दुर्व्यसनमा फसेका व्यक्तिको पुनर्जीवनको आश बनेको छ– आसरा सुधार केन्द्र।
करिब ३ दशक लामो यात्रामा आसरा सुधार केन्द्रले धेरैलाई पुनर्जीवन दिएको छ। दुर्व्यसनले घर–परिवार नै डामाडोल भएकाहरु आसरा सुधार केन्द्रमा भर्ना भएपछि अहिले समाजका ‘रोलमोडल’ बनेर दुर्व्यसनविरुद्ध जनचेतना जगाउँदै हिँडेका छन्। कतिपय त सुधार केन्द्र सञ्चालन गरेर दुर्व्यसनीको उपचार गराइरहेका छन्।
आसरा सुधार केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म ५ हजार ९०३ जनालाई पुनर्जीवन दिइसकेको छ। करिब ६ हजारलाई पुनर्जीवन दिइसकेको आसरा सुधार केन्द्रको जन्म भने अपराधसँग जोडिएको छ।
२०५४ सालको सुरुवातमै काठमाडौं उपत्यकामा अपराधको ग्राफमा एकाएक उकालो लाग्यो। अचम्मलाग्दो गरी बढेको आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले २७२ जना युवालाई पक्राउ गरेको थियो। त्यतिबेला पक्राउ परेका २७२ जना युवामाथि छानबिन गर्दा १११ जना लागुऔषध दुर्व्यसनमा फसेको पाइयो।
दुर्व्यसनमा फसेका युवाहरुलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिई नेपाल प्रहरीले २०५४ असार १ गते ‘लागुऔषध दुर्व्यसनी सुधार शिविर’ स्थापना गरी काम सुरु गरेको थियो। त्यतिबेला नेपाल प्रहरीले तीन महिनासम्म निःशुल्क शिविर चलाई दुर्व्यसनमा फसेका युवाहरुको उपचार गरेको थियो। यसरी अपराधको बढ्दो ग्राफसँगै जन्मिएको आसरा सुधार केन्द्रले अहिलेसम्म करिब ६ हजार जनालाई उपचार गराइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए।
‘अपराध बढ्नुका विभिन्न कारणमध्ये एउटा कारण लागुऔषध पनि हो। जब मान्छे दुर्व्यसनमा फस्छ, त्यसपछि दुर्व्यसनसँगै जोडिएर आर्थिक तथा सामाजिक अपराध हुन्छन्। अपराधको न्यूनीकरण र देशको सामाजिक तथा आर्थिक अवस्थामा सुधारको उद्देश्यसहित आसरा सुधार केन्द्रले स्थापनाकालदेखि काम गरिरहेको छ,’ प्रवक्ता तथा डीआईजी कडायत भन्छन्।
त्यतिबेला नेपाल प्रहरीले अन्य शान्ति सुरक्षाको काम पनि गर्नुपर्ने भन्दै शिविर सञ्चालनको जिम्मा नेपाल प्रहरीको श्रीमती संघलाई दिइएको थियो। त्यसबेलादेखि नै अहिलेसम्म नेपाल प्रहरीको श्रीमती संघकी अध्यक्ष नै आसरा सुधार केन्द्रको अध्यक्ष हुने व्यवस्था छ। अहिलेसम्म आसरा सुधार केन्द्रको सञ्चालन तथा सुपरिवेक्षण श्रीमती संघमार्फत हुँदै आएको छ।
सुरुमा तीन महिनासम्म सञ्चालन गरिएको त्यही शिविरको नाम परिवर्तन गरी पछि आसरा सुधार केन्द्रको नाममा अहिलेसम्म निरन्तर सञ्चालनमा छ।
यो केन्द्र पछि एक मुनाफारहित गैरसरकारी संस्थाको रुपमा २०५५ साल माघ १९ गते संस्था दर्ता ऐन २०३४ अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो। २०५७ माघ ३ गतेदेखि भने समाज कल्याण परिषद्मा, २०६९ साउन ११ गते गृह मन्त्रालयमा सूचीकृत र २०७३ वैशाख २ गते गृह मन्त्रालयमा आवद्ध भई सेवा प्रदान गर्दै आएको छ।
एमबीबीएस अध्ययनसहित ६ हजारको उपचार
स्थापनाकालदेखि अहिलेसम्म ५ हजार ९०३ जनालाई उपचार गराएको आसरा सुधार केन्द्रका प्रमुख तथा इन्स्पेक्टर सरोज लम्साल बताउँछन्। आर्थिक वर्ष २०५४÷५५ मा १५२ जनालाई उपचार गराइएको थियो। आर्थिक वर्ष २०५५÷५६ मा भने १५७ जनालाई उपचार गराइयो।
त्यसपछि क्रमशः यो संख्या बढ्दै गएको देखिन्छ। अहिलेसम्म आइपुग्दा भने करिब ६ हजार जनाले उपचार गराई पुनर्जीवन पाएका छन्। पछिल्लो एक दशकको अवस्था हेर्ने हो भने आर्थिक वर्ष २०७०÷७१ मा २५० जना, आर्थिक वर्ष २०७१÷७२ मा २५८ जना, आर्थिक वर्ष २०७२÷७३ मा २४६ जना, आर्थिक वर्ष २०७३÷७४ मा २५६ जना, आर्थिक वर्ष २०७४÷७५ मा २८४ जनालाई उपचार गराइएको तथ्यांक आसरा सुधार केन्द्रसँग छ।
त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा २८० जना, आर्थिक २०७६/७७ मा २५८, आर्थिक वर्ष २०७७/७८ मा ३६१, आर्थिक वर्ष २०७८÷७९ मा ३८४ र आर्थिक वर्ष २०७९/८० मा ३३४ र चालु आर्थिक वर्षको अहिलेसम्म २५ जना भर्ना भएर उपचार गराइरहेका छन्।
जहाँ एमबीबीएस अध्ययनरत व्यक्ति समेत दुर्व्यसनमा फसेर उपचार गराइएको रेकर्ड आसरा सुधार केन्द्रसँग छ। अहिलेसम्म एमबीबीएस अध्ययनरत १२ जनालाई उपचार गराएर पठाइएको सुधार केन्द्रका प्रमुख इन्स्पेक्टर लम्सालले बताए।
त्यसैगरी स्नातकोत्तकर पास गरेका ९३ जना, स्नातक तह पास परेका ४९९ जना, स्नाताक स्तरकै ब्याचलर अफ इन्जिनियरिङ पास गरेका ४५ जनालाई यस सुधार केन्द्रले उपचार गराएर पठाएको छ।
त्यसैगरी प्लस टु, एसईई तथा सधारण लेखपढका युवाहरु सबैभन्दा बढी दुर्व्यसनीमा फसेको रेकर्ड केन्द्रसँग छ।
यसरी हुन्छ उपचार
सुधार केन्द्रमा इन्स्पेक्टरको कमाण्डमा ३९ प्रहरी कर्मचारी खटिएका छन्। १० जना परामर्शदाता, एक जना सहायक रोलमोडल, तीन जना भोलिन्टियरले काम गर्छन्। यो सुधार केन्द्रले एक पटकमा १२० जनासम्म उपचार गर्न सक्ने क्षमता राख्छ।
यसमा भर्ना हुनका लागि परामर्शदाताले व्यक्ति र परिवारसँग परामर्श लिएपछि केन्द्रको नियम अनुकुल भएमा मात्र भर्ना लिन्छ। रिक्त कोटा भएमा प्रतीक्षा सूची अनुसार थप भर्ना गरिन्छ।
लागुऔषधबाट पूर्ण रुपमा मुक्त हुने समय उपचाररत सदस्यहरुको शारीरिक, मानसिक र पारिवारिक आदि अवस्थामा भर पर्ने हुन्छ। केन्द्रले प्रारम्भिक सुधारको लागि ४ महिनाको समय तोकेको हुन्छ। त्यसैले भर्ना हुने व्यक्ति र परिवारको ४ महिनासम्म
बस्ने र राख्ने इच्छा हुनुपर्छ। कुनै प्रकारको मानसिक र शारीरिक रुपले असक्षमको भने भर्ना लिइँदैन।
विभिन्न शीर्षकमा गरेर चार महिनाको कुल खर्च ७८ हजार ५ सय रुपैयाँसम्म लाग्छ। त्यसमा आवास खाना, अध्ययन वापत ७० हजार, सामान्य औषध उपचारका लागि २ हजार ४ सय ५०, मर्मत तथा सुधारका लागि १ हजार पोशाक र फुटकर शीर्षकमा ४ हजार ५० रुपैयाँ, पत्रपत्रिका तथा मनोरन्जन शीर्षकमा ५ हजार गरी ७८ हजार ५ सय रुपैयाँ खर्च लाग्छ। चार महिनाभन्दा बढी राख्नु पर्ने भएमा प्रत्येक महिनाको मासिक साढे १७ हजार रुपैयाँका दरले लाग्ने आसरा सुधार केन्द्रले जनाएको छ।
भर्ना भएपछि १ महिनासम्म परिवार तथा कसैसँग पनि भेटघाट गर्न दिइँदैन। एक महिनापछि भने प्रत्येक आइतबार १२ बजेदेखि ४ बजेसम्म भेटघाट गर्नको लागि समय दिइन्छ। सुधार केन्द्रमा जिम, क्यारेम बोर्ड, भलिबल लगायत खेलहरु पनि खेलाइन्छ। केन्द्रले पारिवारिक परामर्श कक्षा प्रत्येक हप्ताको आइतबार सञ्चालन गर्दै आएको छ।
उपचार गराएँ, अब सब ठिक भयो भनेर सोच्नु हुँदैन
सरोज लम्साल, इन्स्पेक्टर
प्रमुख, आसरा सुधार केन्द्र
कोही व्यक्ति लागुऔषधमा फसेको छ भने ऊ तपार्इंहरुसम्म कसरी आइपुग्छ र त्यसको उपचार प्रक्रिया कसरी हुन्छ ?
आसरा सुधार केन्द्रबारे हामीले नेपाल प्रहरीको वेबसाइटमै सबै कुरा राखेका छौं। इमेलदेखि सम्पर्क नम्बरसम्म सबैथोक त्यहाँ छन्। हामीकहाँ आइसके पछि सुरुमा भर्ना प्रक्रियाबारे जानकारी लिन्छौं। हाम्रो मेडिकल टिमदेखि परामर्शदाताहरुले उहाँसँग सोधपुछ गर्ने, उहाँको विगत पत्ता लगाउने, कस्तो प्रकृतिको दुर्व्यसनी हो त्यो पत्ता लगाउने र मेडिकलसम्म गरिसकेपछि उपयुक्त देखिएको अवस्थामा मात्रै भर्ना हुन्छ।
त्यसपछि कुन खालको दुर्व्यसनी हो त्यही अनुसारको उपचार प्रक्रिया सुरु हुन्छ। सामान्यता चार महिनाको प्याकेजमा काम गरिन्छ। त्यो भन्दा बढी राख्नुपरेको अवस्थामा थप कन्सल्ट गरेर राखिन्छ र थप उपचार हुन्छ।
उपचार गराएर फर्किएका व्यक्ति पुनः दुर्व्यसनमा फसेर फेरि उपचार गराउन आउने सम्भावना रहन्छ कि रहँदैन?
तपार्इंले महत्वपूर्ण प्रश्न गर्नुभयो। यहाँ उपचार गराएर फर्केपछि दुर्व्यसनमा लाग्नु हुँदैन भनेर जनचेतना जगाउँदै हिँड्ने व्यक्तिहरु पनि छन्। योसँगै पुनः दुर्व्यसनीमा फसेका पनि छन्। त्यसैले उपचार गराएँ, अब सबै ठिक भयो भनेर सोच्नु हुँदैन।
मुख्यगरी उपचारबाट फर्किएपछि उसले कस्तो पारिवारिक वातारण पाएको छ वा कस्तो व्यक्तिहरुसँग सम्बन्ध राखेको छ भन्ने कुरामा भर पर्छ। यदि यहाँबाट उपचार गराएर फर्केको व्यक्ति पुनः पहिलेका दुर्व्यसनी साथीहरुसँग फस्ने जोखिम एकदमै बढी हुन्छ। जसकारण यसमा परिवारले विशेष ध्यान दिनुपर्छ। पुनः पहिलेकै दुर्व्यसनीहरुसँग सम्बन्ध भएको अवस्थामा पुनः दुर्व्यसनीमा फस्ने सम्भावना एकदमै बढी हुन्छ।
अहिले कुन प्रकृतिका दुर्व्यसनी बढी देखिएका छन्?
मुख्यतः अल्कोहोलिक नै बढी देखिन्छ। सहज उपलब्धता भएकै कारण पनि होला अल्कोहोलिक समस्या बढी देखिएको छ। त्यसपछि गाँजा सेवनकर्ताहरुको बाहुल्यता बढी देखिन्छ। योसँगै ब्राउन सुगर, सिरिन्ज, विभिन्न एम्पुल तथा ट्याबलेट प्रयोगकर्ताहरु पनि देखिन्छन्।
अन्त्यमा दुर्व्यसनीमा फसेका व्यक्तिहरुलाई के भन्न चाहनुहुन्छ?
लागुपदार्थको दुर्व्यसनमा फस्ने समस्या विश्वका अन्य देशमा जस्तै नेपालमा पनि गम्भीर समस्या हो। युवाहरु जानीजानी तथा साथीभाइको संगत, करकाप र दबाबमा परी दुर्व्यसनमा फस्ने गरेको देखिन्छ। यसरी दुर्व्यसनीमा फस्नुले व्यक्तिगत, पारिवारिक जीवन मात्रै होइन, समग्र देशलाई नै समस्या थप्दै गएको छ।
यसले सामाजिक, सांस्कृतिक, आर्थिक लगायत पक्षमा प्रभाव पारिरहेको छ। पारिवारिक बिखण्डन, सामाजिक तथा आर्थिक अपराध जस्ता समस्या बढ्दै गएका छन्। दुर्व्यसनीमा फसेको एउटा व्यक्तिको कारण परिवार, समाज मात्रै नभएर सिंगो देशले समेत हानि बेहोर्नु पर्ने हुन्छ। जसकारण तपाईं आफूलाई मात्रै होइन, सिंगो परिवार, गाउँ–समाज र सिंगो देशका लागि दुर्व्यसनमा नफसेर ठूलो योगदान गर्न सक्नुहुन्छ। यदि दुर्व्यसनमा फस्नु भएकै छ भने पनि आजैबाट कुलत त्याग्ने निर्णय गर्नु जरुरी छ।
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा आसरा सुधार केन्द्रको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।