टोकियो- डा लुशुन चालिसेको संयोजकत्वमा जापान मेडिकल एशोसिएसन घोषणा गरिएको छ। केही समयमै औपचारिक रुपमा गठन गरिने एशोसिएसनको एनआरएनए हेल्थ कमिटीको आयोजनामा टोकियोमा भएको ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्समा उक्त एशोसिएसनको घोषणा गरिएको हो।
जापानमा रहेका नेपालीहरुको स्वास्थ्यमा सहजीकरणका लागि नेपाली चिकित्सक, नर्स, पारामेडिक्स र स्वास्थ्यका अन्य विधामा कार्यरत नेपालीहरु उक्त एशोसिएसनका सदस्य रहनेछन्। अहिले संस्थापन सदस्यका रुपमा डा एलिजा केसी भण्डारी, डा सन्दिप शाक्य, डा सुवास अधिकारी, डा ससीम पौडेल, डा सन्तोष श्रेष्ठ र डा सुमन श्रेष्ठ रहनेछन्।
जापानमा नेपाली आप्रवासीहरु अन्य क्षेत्रको तुलनामा स्वास्थ्य क्षेत्रबाट न्युन संख्यामा रहेका छन्। अहिलेसम्म जापानमा लाइसेन्स लिएर कार्यरत जम्मा ५ जना चिकित्सक मात्रै सम्पर्कमा रहेको डा चालिसेले बताए।
उनले भने, 'हामी सानो संख्यामा छौं तर हामीले संगठित भएर काम गर्दा एकमा एक जडिएर दुई होइन, एक र एकबाट हजार बन्नेछ । यहाँ रहेका नेपालीहरुको सेवाका लागि हामीले काम गर्न सक्नेछौं ।'
उक्त कमिटीमा जापानामा कार्यरत नर्स तथा जनस्वास्थ्यकर्मी डा एलिजा केसी भण्डारी, डा सन्दिप शाक्यलगायत रहनेछन्। बिगत २२ वर्षदेखि जापानमा रहेका डा चालिसे अहिले नायोगा सेन्ट्रल हस्पिटलमा कन्सल्ट्यान्ट न्युरो सर्जनका रुपमा कार्यरत छन्। व्यक्तिगत रुपमा नेपालीहरुको स्वास्थ्य समस्या समाधानमा सधैं लागिपर्ने गरेका उनले संस्थागत पहल नै जरुरी भएर एशोसिएसन गठन गरिएको बताए।
उनले थपे, 'हामीले काम गरिरहेकै छौं। त्यसलाई संगठित रुपमा काम गर्नुपर्ने आवश्यकता महसुस गरेर एक ठाउँ आउने माध्यम संस्था बनाउन लागिएको हो। बृहत् रुपमा सहयोग गर्न सरकारी एजेन्सीको रुपमा दूतावास र गैरसकारी रुपमा एनआरएन जापानको ठूलो भूमिका हुनेछ। उपाध्यक्ष डा एलिजा केसीजी मेडिकल क्षेत्रबाट हुनुहुन्छ र अध्यक्ष नवीन न्युरे युवा पनि हुनुहुन्छ। त्यसैले यो कार्यसमितिबाट आशा पनि राखेको छु।'
एनआरएनए जापानको उपाध्यक्षसमेत रहेकी डा केसीले जापानमा रहेका नेपालीहरुको स्वास्थ्यका समस्यालाई नै मध्यनजर गरेर पाँचौं ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स जापानमा आयोजना गरिएको बताइन्। जापानमा कार्यरत नेपालीका अन्य संघ/संस्थाले त्यही रुपमा बुझ्न नसकेकोप्रति चित्त दुखाइ प्रकट गर्दै आगामी दिनमा साथ सहयोग रहने अपेक्षा गरिन्।