विद्यालयमा छँदा
टाठो भै अघिल्लो ‘लहर’मा बस्दा
‘तिखारिएका’ काँडा बन्ने रहरले
गुरुको छडी खानु परेको डाक्टर।
कलेज भर्ना भएपछि
भौतिक, रसायन, जीवविज्ञानका ठेली
पल्टाउँदा पल्टाउँदै रातौंरात
टुप्पी रगडी खानु परेको डाक्टर।
साढे पाँच वर्षको कठोर परिश्रम र लगनसँगै
रगत पसिना लतपत्याएर
चिकित्साशास्त्रको स्नातक तहमा
दु:खको पगडी खानु परेकी डाक्टर।
मथिंगलका मारेर पसिना कोषलाई
६ वर्षे थप तपस्याले पाएको विशेषज्ञता
तीक्ष्ण र मेधावी मस्तिष्क भएकै कारण
दसीको कडी खानु परेको डाक्टर।
‘मृत्यु’ लाई मारेर बिरामी बचाएन भनी
पढ्दा पछिल्लो ‘लहर’ मा बस्ने डुकुलठ्ठकले
अस्पतालका कुना-कुनामा तानीतानी
मुक्का र झापड खानु परेको डाक्टर।