मध्यमवर्गी बुवाले राखेर सबथोक बन्धकी
मलाई उपहार दिनुभयो, डाक्टरको जिन्दगी
मायालु आमाले अन्जानमै, सपना सजाउनु भयो
उहाँको अथक प्रेरणा-त्यागले नै मलाई डाक्टर बनायो
तर उहाँहरुले म जस्तै नबुझेको रहेछ यो डाक्टरको जिन्दगी
खासमा ‘आधुनिक बनबास’ नै रहेछ डाक्टरको जिन्दगी।
दिनरात एक गरी मेडिकल किताबी दुनियाँमा नै हराइरहेँ
चिकित्सक भएर गाउँ-समाजको सेवा गर्ने सपना सजाइरहेँ
सालौँ साल घर-परिवार त्यागेँ, दिनहुँ भोक-प्यास त्यागेँ, चाहनाहरु त्यागेँ
मेरो निद्रादेखि सुख-चैन सबैथोक त्यागेँ।
यी सबै त्यागहरुको केही अर्थ रहेन अनि सबै खेर गए
जब आक्रोशित बिरामी कुरुवाले उपचारमा ग्यारेन्टी मागे
भिडको डरले मैले बिनागल्ती अब माफी माग्ने दिन आए
मेरो इमानदार प्रयासले अनि सिप-ज्ञानले जतिसम्म भ्याए
बिरामीको ज्यान बचाउनका निम्ति धेरै गर्दा पनि प्रयास उपाय
डर-त्रासमा छु आजकल कतै भिडतन्त्रले दिने हुन सजाय?
स्वास्थ्यकर्मीमाथि गालीगलोज अनि कुटपिट धेरै नै भए
अनि मेरा एमबीबीएसका साथीहरु धेरैजसो विदेश गए
म गाउँ-समाज अनि परिवारको मायाले नेपालमै अल्झिएँ।
अझै पनि नेपालमै बस्ने मन छ, सुरक्षाको समस्या सुल्झिए
किनकि मेरो गाउँ-समाज अनि नेपाल आमा बिरामी छन्
स्वास्थ्य सेवा यतै दिन्छु म अझै, सबैलाई सन्चो पार्नुछ
बस्, मेरो सेतो आप्रोनमा अनावश्यक दाग नलगाउनूस्
कृपा गरेर मलाई पनि मजबुर पार्दै विदेश नभगाउनूस्
सरकार र सरोकारवालाले सुरक्षित रहने माहोल बनाउनूस्।
(एमडी रेसिडेन्ट चिकित्सक, बीपीकेआईएचएस, धरान।)