काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिकाले नगरवासीलाई विभिन्न ७ वटा स्वास्थ्य सेवा निशुल्करुपमा प्रदान गर्ने भएको छ।
नगरपालिकाले विभिन्न ७ वटा सेवा निशुल्क रुपमा तथा ११ वटा सेवा नगरवासीलाई सहुलियतपूर्ण रुपमा प्रदान गर्नका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालसँग नगरपालिकाले सम्झौता गरेको हो।
शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित र सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक डा सन्तोष विक्रम भण्डारीबीच ७ प्रकारका स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्झौता भएको हो।
जस अनुसार डेन्टल ओपिडी निःशुल्क, जेनेरल ओपिडी निःशुल्क, प्लास्टिक सजर्री निःशुल्क, इमर्जेन्सी निःशुल्क, फिजियोथेरापी ओपिडी निःशुल्क, ड्रेसिङ निःशुल्क, नर्मल बेड निःशुल्क गर्ने सम्झौता भएको छ।
यस्तै इन्भेस्टिगेसन अन्तर्गत ल्याब, एक्सरे, इसिजी, युएसजीमा लागेको खर्चमा छुटको व्यवस्था गरिएको छ। स्पेशल ओपिडी अन्तर्गत गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, इएनटीमा लागेको खर्चमा पनि छुटको व्यवस्था भएको जनाइएको छ।