काठमाडौं- नेपाल चिकित्सक संघको बैठकले आन्दोलनरत रेजिडेण्ट चिकित्सकहरुसँग छलफल गर्ने भएको छ। बुधवार संघको बोर्ड बैठकले आन्दोलनबारे आवश्यक निर्णय लिने भनेपनि ठोस निर्णय गर्न भने सकेन।
बैठकपछि संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले आवासीय चिकित्सकसँग छलफल गरेपछि मात्रै आन्दोलनका कार्यक्रम अघि बढाउने वा नबढाउने भन्नेबारेमा निर्क्र्योल गर्न सकिने बताए।
यद्यपी आवासीय चिकित्सकहरुले आन्दोलन जारी राखेका छन्। मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु मंगलबारदेखि आन्दोलनमा छन्।
अध्यक्ष कार्कीले चिकित्सकहरुमाथि बारम्बार आक्रमण भइरहेको भन्दै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनको विश्वसनीय आधार दिनुपर्ने बताए।
कार्कीले चिकित्सकहरुको आन्दोलनमा ऐक्यबद्धता कायम रहेको बताए। उनले कानूनको कमजोरीलाई थप संशोधन गरेर मजबुत बनाउनुपर्ने बताए।
डा कार्कीले गृह मन्त्रालयमा भएको वार्ताबारे आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने र आन्दोलनलाई कसरी अगाडि बढाउनेबारे थप निर्णय हुने बताए। उनले आन्दोलन जायज भएकाले आन्दोलन फिर्ता नलिने बताए।
डा कार्कीले भने, ‘सबैको कुरा यो आन्दोलन जायज छ। हाम्रो ऐक्यवद्धता पहिलेदेखि नै थियो। र, केही उपलब्धी नभएर हामी आन्दोलनबाट फर्किनुहुँदैन। त्यो ठोस हुनुप¥यो। कानून कार्यान्वयनको विश्वसनीय आधार निस्किनु प¥यो। कानूनको कमजोरीलाई थप संशोधन गरेर मजबुत बनाउनु पर्यो। यस्ता घटनाहरु क्यान्सर जस्ता भइसके। अप्रेशन गरेर यस्ता घटनाहरुलाई ट्रयाकमा ल्याउनुप¥यो भन्ने सबैको आशय रह्यो। आन्दोलनको मोडालीटी र आन्दोलन कसरी गर्ने भन्ने कुरामा हामी उहाँहरुसँग बसेर नै छलफल गर्छौं। गृह मन्त्रालयमा भएको प्रोग्रेसको कुरा उहाँहरुसँग बसेर नै गर्छौं। त्यसपछि बल्ल स्वास्थ्य सेवालाई कसरी प्रवाह गर्ने कि नगर्ने कि आन्दोलन कसरी जाने कि भन्ने बल्ल निधो गर्छौं। मुलभुत कुरा के छ भने पोखरा घटनामा सबै भन्दा पीडामा पर्नुभएको उहाँ हो। उहाँहरुको पीडामा मलम लगाउने गरी अगाडी बढ्छौं।’
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित बुधवार भएको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्ने निर्णय गरेको थियो।