काठमाडौं- नयाँ वर्ष २०८० लाग्दै गर्दा काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा पर्यो। विज्ञहरुले सावधानी अपनाउन सुझाव दिइरहे। तर सरकारले भने प्रदूषण नियन्त्रणका लागि केही प्रयास गरेको देखिँदैन।
काठमाडौं उपत्यका कति प्रदूषित रहेछ भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोको १५ दिनको फरकमा लिइएको तस्बिरले पनि पुष्टि गर्छ। मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालय परिसरमा हेपा फिल्टर जडित कृत्रिम फोक्सो राखेको थियो। १५ दिनमा नै उक्त फोक्सो कालो भएको थियो।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारले १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको बताए।
मन्त्रालयले उक्त फोक्सो कालो भएपछि सार्वजनिक अपिल गर्दै सावधानी अपनाउन सुझाव दियो। तर त्यसपछि प्रदूषण नियन्त्रणका लागि मन्त्रालयले वातावरण मन्त्रालय तथा अन्य मन्त्रालयहरु र सरोकारवाला निकायसँग ठोस कदम चालेको देखिँदैन।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा हानिकारक रासायनिक पदार्थ, हावा, पानी एवं माटोको प्रदूषण र फोहोरबाट हुने मृत्यु उल्लेख्य रुपमा घटाउने लक्ष्य लिइएको छ। तर नेपालमा उक्त लक्ष्य हासिल गर्नेतर्फ काम भने हुन सकेको देखिँदैन।
वातावरणविद् डा भुषण तुलाधरले नेपालमा वायु प्रदूषणकै कारण हरेक वर्ष हजारौं मान्छेले ज्यान गुमाइरहे पनि यसको नियन्त्रणतर्फ प्रभावकारी काम हुन नसकेको बताए। ‘वायु प्रदूषणको विषय सरकारको प्राथमिकतामा परेको छैन। वायु प्रदूषण हेर्ने निकाय पनि खासै छैन। हुन त वातावरण मन्त्रालयले हेर्छ। तर मन्त्रालयले धेरैजसो जलवायु परिवर्तनको कुरा गर्छ। जलवायु परिवर्तन सम्बन्धी प्राजेक्ट धेरै आउने तर वायु प्रदूषण सम्बन्धी प्रोजेक्ट पनि नआउने र आफूले पनि नहेर्ने भएकाले यसमा समस्या छ। मन्त्रिपरिषद्ले काठमाडौं वायु गुणस्तर कार्य योजना २०७६ झण्डै तीन वर्षअघि नै पारित गरेको छ। तर त्यस अनुसार खासै काम भएको छैन। अलिअलि भएको छ, तर पर्याप्त छैन,’ उनले भने।
सरकारले वातावरण प्रदूषण कम गर्नका लागि दिगो विकास लक्ष्य हासिल गर्ने गरी सबै विषयगत र क्षेत्रगत नीति तथा कार्यक्रमबीच अन्तर आवद्धता गरिने भनेर नीति त लिएको देखिन्छ। तर व्यवहारमा भने त्यस अनुसार काम नभएको विज्ञहरु बताउँछन्। प्रदूषणको तथ्यांकले पनि सरकारको प्राथमिकतामा नपरेको पुष्टि गर्छ।
काठमाडौंमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा १० गुणा बढी वायु प्रदूषण रहेको तथ्य पनि हालै सार्वजनिक भएको छ। स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरले गत वैशाख ३ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको रुपमा रहेको थियो।
संयुक्त राष्ट्र संघका अनुसार हरेक १० मध्ये ९ जनाले प्रदूषित हावामा श्वास फेर्ने भएकाले मृत्युको एक नम्बर कारक वायु प्रदूषण बनेको छ । वायु प्रदूषणका कारण नेपालमा सन् २०१८ मा करिब ३७ हजार र हाल वर्षेनी ४२ हजार १ सयको मृत्यु हुने गरेको स्टेट अफ ग्लोबल एयरको तथ्यांकमा उल्लेख छ । यो भनेको वायु प्रदूषणले नै सिधै मानिसको मृत्यु हुने होइन। कसैको हृदयाघात, फोक्सो सम्बन्धी समस्याले मृत्यु भएको होला। तर यो समस्या हुनुमा वायु प्रदूषणको ठूलो भूमिका छ।
वातावरणविद् तुलाधरले वायु प्रदूषण हुने मुख्य कारणमध्ये ग्रामीण क्षेत्रमा घर भित्रको धुवाँ र शहरी क्षेत्रमा भने डिजेल–पेट्रोलबाट चल्ने सवारी साधन रहेको बताए। शहरी क्षेत्रको धुलोभन्दा पनि धुवाँ बढी खतरनाक रहेको उनको भनाइ छ। साधरणतया गाडीले बिहानको समयभन्दा साँझको समयमा बढी धुवाँ फाल्ने गरेको उनले बताए।
वर्षायामभन्दा पनि हिँउदमा बढी वायु प्रदूषण हुने गरेको तथ्यांकले देखाएको छ। वर्षातमा पानी पर्ने भएकाले इँटा भट्टा, उद्योग धन्दा कम चल्ने भएकाले वायु प्रदूषण कम हुने तुलाधरको भनाइ छ।
स्वास्थ्य प्रभाव संस्थान ग्लोबल एयर स्टेट २०२० का अनुसार, नेपालमा मृत्युको कारणमध्ये वायु प्रदूषण प्रमुख रहेको देखाएको छ। उक्त प्रतिवेदन अनुसार ६६ प्रतिशत फोक्सोको रोग, ३४ प्रतिशत मुटुको रोग, ३७ प्रतिशत मस्तिष्कघात, ४७ प्रतिशत तल्लो श्वास–प्रश्वास प्रणालीको संक्रमण र २२ प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको उल्लेख छ।
नेपालको जनगणना २०७८ अनुसार पनि आधाभन्दा बढी जनसंख्याले दाउरा, गुइँठा प्रयोग गर्ने गरेको देखाएको छ। यस तथ्यांकलाई नियाल्ने हो भने नेपालमा वायु प्रदूषण घट्ने अवस्था देखिँदैन।
दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा राखेका लक्ष्यमध्ये स्वास्थ्य, ऊर्जा, महिला स्वास्थ्य सम्बन्धी लक्ष्यहरुले वायु प्रदूषण रोक्न सकिने विज्ञहरुको भनाइ छ। अहिले पनि नागरिकले स्वच्छ चुल्होको प्रयोग गर्न पाएका छैनन्। सरकारले हरेक भान्सामा सुधारिएको चुल्हो पु¥याउने भने पनि अहिलेसम्म पु¥याउन सकिरहेको छैन।
लामो समयदेखि जलवायु परिवर्तनको क्षेत्रमा वकालत गर्दै आएका नागरिक अभियन्ता नरेन खतिवडाले वायु प्रदूषण काठमाडौं उपत्यकामा चुनौतीको विषय भएको बताए। स्वास्थ्य खबरपत्रिकासँग कुरा गर्दै उनले भने, ‘संयुक्त राष्ट्र संघका अनुसार विश्वव्यापी रुपमा वर्षेनी ७ लाख मानिसको वायु प्रदूषणका कारण मृत्यु भइरहेको छ। स्वास्थ्य र मनोवैज्ञानिक रुपमा समेत यसको असर देख्न सकिन्छ।’ उनले वायु प्रदूषण बढ्नुमा मानवीय क्रियाकलाप प्रमुख रहेको दाबी गरे।
खतिवडाले वायु प्रदूषण हुनुमा प्राकृतिक कारणहरु भए पनि त्यो नगन्य रुपमा रहेको बताए। पेट्रोलियम पदार्थ र उद्योग धन्दाबाट बढी वायु प्रदूषण हुने बताउँदै अभियन्ता खतिवडाले यसबाट बच्नका लागि काठमाडौं महानगरपालिकाले समेत वायु प्रदूषण सम्बन्धी छुट्टटै नीति बनाएर अघि बढेको बताए। वातावरणमा क्षेत्रमा थुप्रै संघ–संस्थाहरु क्रियाशील छन्।
सरकारले सन् २०४५ भित्र कार्बन उत्सर्जनको मात्रा शून्यमा पु¥याउने लक्ष्य समेत लिएको छ। उनले सरकारले बनाएका नीति–नियम कार्यान्वयन नहुनुमा व्यापारिक र राजनीतिक दलको मिलेमतोको कारणले ठिक ढंगबाट कार्यान्वयन हुन नसकेको आरोप लगाए।
सरकारले आफ्नो नीति तथा कार्यक्रममा इलोक्ट्रोनिक सवारी साधनको आयातलाई प्राथमिकता दिएको भए पनि त्यसमा बढी कर लगाएर रोक्न खोजेको आरोप लगाए।
त्यसैगरी नीतिगत तहमा वकालत गर्दै आएका युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिवद्धताहरु कार्यान्वयन भएको अवस्थामा मुलुकमा वायु प्रदूषण न्यूनीकरण हुने बताए।
वातावरण विभागको प्रतिवेदन अनुसार, काठमाडौं उपत्यकामा प्रदूषणको मुख्य स्रोत १० लाखभन्दा बढी सवारी साधन नै हुन् । २०७९ मंसिर यता गरिएको ९३४ सवारी साधनको छड्के जाँचमा एक तिहाइ फेल भएको उल्लेख गरिएको छ।
बन तथा भू–संरक्षण विभागको तथ्यांकमा नेपालमा वर्षेनी २ लाख हेक्टर बन क्षेत्रमा डढेलो लाग्ने गर्छ । २०७९ मा ३ हजार १० स्थानमा आगलागी, ३ हजार ७ सय २३ घरपरिवार प्रभावित, ३९४ घाइते र १०९ जनाको ज्यान जाने गरेको तथा २ अर्ब ५१ करोड रुपैयाँको क्षति हुने गरेको देखिन्छ ।
प्रदूषण हुने मुख्य कारणमध्ये घर भित्रको धुवाँ, यातायात, उद्योग, कलकारखाना, डढेंलो, इँटा भट्टाबाट निस्कने धुवाँको मुस्लो आदिको व्यवस्थापन गर्न सकेको अवस्थामा वायु प्रदूषण रोक्न सकिने विज्ञहरुको राय छ।