प्रथमतः कानमा फोहर जम्मा भएमा चिलाउने समस्या हुन्छ। कानमा गहिरो भाग हुने भएकोले टाउको र बाहिरी भागबाट आएका फोहर पनि कानमा सजिलै जम्मा हुन्छ। धेरै फोहोर जम्मा भएपछि यसले चिलाउने समस्या निम्त्याउँछ।
कान चिलाउने दोस्रो कारण भनेको अटोमाइकोसिसको समस्या हो। यसलाई कानको फङ्गल इन्फेक्सनबाट चिलाउने समस्या पनि भनिन्छ। यो बिभिन्न किसिमको हुन्छ। फङ्गल इन्फेक्सन भएको समयमा कानमा पानी, तेल पर्यो भने कान पाक्ने समस्या पनि हुन्छ।
मनोवैज्ञानिक कारणले पनि कहिले काँहि कान चिलाउने हुन्छ। नाक, घाँटीको एलर्जीले गर्दा पनि कान चिलाउन सक्छ। कानमा के समस्या छ, त्यसको उपचार गर्नु नै यसबाट बच्ने प्रमुख उपाय हो। मनोवैज्ञानिक रुपमा हो भने, त्यसको उपचार गर्ने, फोहोर जमेको भए सफा गर्ने र फंगलको कारण हो भने, फंगलको उपचार गर्न पर्छ।
कतिपय अवस्थामा कान चिलाउँदा कानको बाहिरी भाग वा जालीमा प्वाल पर्ने, घाउँ हुने समस्या देखापर्न सक्छ। फंगल्सलाई पानी वा तेलबाट बचाउँन सकिएन भने, त्यसले बढ्ने मौका पाउँछ र आगामी दिनमा इन्फेक्सन बढ्दै गई जालीमा प्वाल पार्छ।
-डा. यज्ञबहादुर भण्डारी, नाक, कान घाँटी रोग विशेषज्ञ