काठमाडौं- केन्द्रीय कारागार अस्पताल,जगन्नाथदेवलको आयोजना तथा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा कारागार कार्यालय काठमाडौ अन्तर्गत रहेका केन्द्रीय बन्दी गृह, भद्र बन्दी गृह तथा महिला बन्दी गृहमा रहेका करिव ५०० जनाभन्दा वढी कैदी बन्दीहरुलाई नसर्ने रोगहरु, सुर्तीजन्य लतको प्रभाव र मानसिक स्वास्थ्यका बारेमा एक कार्यक्रम सम्पन्न भएको छ।
नसर्ने रोगले वार्षीक मृत्युको ७० प्रतिशत भन्दा बढीले महामारीको रुप लिइरहेको अवस्थामा तथा हालै केन्द्रिय कारागार अस्पतालले देशभर ७४ जिल्लामा रहेका ७७ कारागारमा रहेका करिब ३० हजार कैदीबन्दीमा गरिएको सर्वेमा नसर्ने रोग र मानसिक समस्या बढी देखिएकाले त्यसको रोकथाम निदान तथा उपचारको पहुच र निरन्तरताका लागि केन्द्रीय कारागारका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश वुढाथोकीको पहलमा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरु डा केदार मरहठ्ठा र डा लोनीम प्रसाई दिक्षीत तथा प्रमुख मेसु डा बुढाथोकीले सुधारगृहभित्र नै नसर्ने रोगहरु,मानसिक रोग, मधुमेह, मुटुसम्बन्धी रोग, मिर्गौलासम्बन्धी रोग,सुर्तीजन्य पदार्थको अनुचित प्रयोग तथा मदिरा सेवन लगायतको प्रकोप, नियन्त्रण,रोकथाम, तथा उपचारका वारेमा कैदीवन्दीहरुलाई जानकारी दिएका थिए।
कारागारहरुमा कैदीबन्दीहरुको संख्या दिनहुँ वढीरहेको र उनीहरुको आवासको समेत व्यवस्थापन गर्न समस्या परिरहेको अवस्थामा तीनवटै कारागारका परामर्शदाता बन्नसक्ने क्षमता र सीप भएका कैदीबन्दीहरुलाई एकै स्थानमा भेला गराई उनीहरुलाई स्वस्थकर खानपान,जीवनशैली,नियमित शारीरिक अभ्यास लगाएतका बारेमा सचेतनामुलक कार्यक्रम संचालन गर्नाले नसर्ने रोगको ५० प्रतिशत नियन्त्रण तथा रोकथाम गर्न सकिने डा बुढाथोकीले बताए। उक्त अभिमुखीकरण कार्यक्रम केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश वुढाथोकीको विशेष आतीथित्यतामा तथा कारागार कार्यालय काठमाडौका प्रमुख ललितकुमार वस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममाअतिथी वक्ताहरुले कारागारको अवस्था,विद्यमान नियमकानुन र गर्न सकिने नसर्ने रोगको नियन्त्रण तथा रोकथामका वारेमा विशेष चर्चा गरेका थिए। उक्त कार्यक्रममा कारागार कार्यालय काठमाडौ तथा केन्द्रीय कारागार अस्पतालका कर्मचारीहरु,सुरक्षाकर्मीहरु,स्वास्थ्यकर्मीहरु, तीनवटै कारागारका चौकीदारहरु, अस्पताल नाईकेहरु, भाई नाईकेहरु, शिक्षक शिक्षिकाहरु लगाएतको सहभागिता रहेको थियो।