काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोबारे छलफल आवश्यक रहेको बताएका छन्।
मन्त्रालयले बिहीबार आयोजना गरेको ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा’का अवसरमा उनले सो कुरा बताएका हुन्। मन्त्री बस्नेतले मन्त्रालयको आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्यअनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीहरूलाई सचेत रहन निर्देशन समेत दिए।
‘अन्तर्राष्ट्रिय दातृ संस्थाबाट स्वास्थ्यका विभिन्न क्षेत्रमा आएको लगानीले के हामीलाई प्रतिफल दिएको छ त’ उनले भने, ‘यस्ता कतिपय बजेट कहाँबाट आउँछ र कहाँ जान्छ ? बजेट उद्देश्यअनुसार खर्च भएको छ वा छैन त्यो पाटो पनि हेर्न जरुरी छ। त्यसैले सरकारले यी बजेटहरू रेड बुकमार्फत आउनुपर्छ।’
मन्त्री बस्नेतले जनशक्ति, स्वास्थ्य उपकरण र भौतिक संरचनाको व्यवस्थापन गर्न मन्त्रालय लागेको बताए। उनले जनशक्तिको दरबन्दी थप्ने प्रक्रियाको तयारी भइरहेको समेत जानकारी दिए।