काठमाडौं- क्यान्सर सचेतनाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालका किशोरकुमार प्रधानाङ्गलाई यसवर्षको कोवायशी फाउन्डेसन अवार्ड प्रदान गरिएको छ।
जापानको कोवायशी फाउन्डेशनले एशियाली मुलुकका चिकित्सक, अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य क्षेत्रको अनुसन्धान, विकास र योगदानका आधारमा प्रत्येक दुई वर्षमा दिइने अवार्ड यो पटक किशोरकुमार प्रधानाङ्गलाई प्रदान गरिएको छ।
यो अवार्डको राशी ५ लाख जापानी येन रहेको छ। विगत ४३ वर्षदेखि स्वास्थ्यका विभिन्न क्षेत्र र विधामा कार्यरत प्रधानाङ्गले २७ वर्ष बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा काम गरेका छन्। सो अस्पताल स्थापनाकालदेखि नै क्यान्सर रोकथाम,नियन्त्रण र अनुसन्धान विभागमा कार्यरत उनी अवकाश लिनु अघिको १० वर्ष विभागीय प्रमुख भएर समेत काम गरेका थिए।
उनी हाल काठमाडौं क्यान्सर सेन्टर ताथली भक्तपुरमा कार्यक्रम निर्देशकको रुपमा कार्यरत छन्।
प्रधानाङ्गले देशका ६५ बढी जिल्लामा पुगी स्थानीय सरकारसँग समन्वय गरी स्वास्थ्यकर्मीहरुलाई क्यान्सर रोकथाम र नियन्त्रणसम्बन्धी तालीम तथा समुदायमा सचेतना अभियान चलाएका छन्।