काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले चालु वर्षको वैशाखसम्ममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार संरचनाको निर्माण पूरा हुने बताएकी छन्।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सहिद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उनले गत असार मसान्तसम्ममा भौतिक संरचना निर्माणतर्फ रु पाँच अर्ब ९९ करोड ५२ लाख खर्च भइसकेको जानकारी दिइन।
राज्यमन्त्री प्रमिलाले सोका लागि जम्मा ५१.१ हेक्टर क्षेत्रफल जग्गामा ५३ वटा भौतिक संरचना निर्माण हुनुपर्नेमा हालसम्म ४२ सम्पन्न भएको र बाँकी ११ निर्माणाधीन अवस्थामा रहेको बताइन्। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा निर्माणाधीन विश्वविद्यालयको भौतिक पूर्वाधारका संरचनामध्ये परिसर, सडक, सभाहल, पानी ट्याङ्की र ग्रिनरीको काम भइरहेको छ।
करिब रु ९० करोडमा तयार हुने बाँकी संरचना शीघ्र निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको राज्यमन्त्री प्रमिलाले बैठकमा जानकारी दिइन्। सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गर्न/गराउन बेग्लै चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्नसक्ने सोचअनुसार भौगोलिक सन्तुलनसहितको शिक्षाको अभिवृद्धिका लागि सो विधेयक प्रस्तुत गरेको हो। प्रस्तावित विश्वविद्यालय मातहत सुर्खेत मेडिकल कलेज, बुटवल मेडिकल कलेज र बर्दिवास मेडिकल कलेजसमेत सञ्चालन हुनेछन्।